Comments Add Comment

सांस्कृतिक कार्यक्रममा कामदारको पीडा प्रस्तुत गर्दा कतारमा ५ नेपाली पक्राउ

२६ कात्तिक, काठमाडौं । सांस्कृतिक कार्यक्रममार्फत नेपाली कामदारले पाएको पीडा प्रस्तुत गरेपछि कतारमा पाँचजना नेपाली पक्राउ परेका छन् ।

गत अक्टोबर ५ तारिखमा लोक तथा दोहोरी गीत प्रतिस्ठान शाखा कतारको आयोजनामा दोहामा भएको कार्यक्रममा रोजगारदाताले दिएको पीडा समेटिएको प्रस्तुति भएको थियो । सोही विषयलाई लिएर स्थानीय सुरक्षा निकायले कार्यक्रमका विशेष अतिथी गैरआवासीय नेपाली संघ मध्यपूर्वका संयोजक राजेन्द्र कुमार (आरके) शर्मासहित पाँचजनालाई नियन्त्रणमा लिएको हो ।

शर्मासँगै गत अक्टोवर १८ तारिखमा आयोजक प्रतिष्ठानका उपाध्यक्ष शक्ति क्षेत्री र कलाकारहरु रामबाबु बोहरा, रितकुमार श्रेष्ठ र कृष्ण ढकाललाई दोहाको सुरक्षा निकायले नियन्त्रणमा लिएको एनआरएनए अन्तर्राष्ट्रिय समनवय परिषदले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

पक्राउ परेका उनीहरुलाई पारिवारिक र अन्य व्यक्तिहरुको समेत सम्पर्क बाहिर राखेको भन्दै एनआरएनएले ध्यानाकर्षण भएको जनाएको छ । कतारको सरकारी निकायले अहिलेसम्म आधिकारित जानकारीसमेत नगराएको एनआरएनएका प्रवक्ता भुषण घिमिरेद्वारा प्रकाशित  विज्ञप्तिमा उल्लेख छ ।

पक्राउ परेका शर्मालाई भने गत बिहीबार करिब १५ मिनेट परिवारका सदस्यसँग कुरा गर्न दिइएको थियो । परिवारका सदस्यका अनुसार सुरक्षा निकायले नेपाली समुदायको नेतृत्वकर्ता भएर पनि त्यसकिसिमको कार्यक्रम किन नरोकेको भनि सोधखोज गरिरहेको छ ।

पक्राउ परेका उनीहरुको रिहाइको लागि पहल गरिदिन एनआरएनले परराष्ट्र मन्त्रालय, कतारस्थित नेपाली दूतावास लगायत सम्बन्धित निकायलाई आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment