Comments Add Comment

दूबईमा अर्धचेत जीतबहादुरलार्इ स्वदेश फर्काइयो

यूएई । दुई महिनादेखि दुबईको रसिद अस्पतालमा कोमामा उपचाररत एक नेपालीलाई नेपाल फर्काइएको छ ।

मस्तिष्कमा रगत जमेका कारण गम्भीर विरामी भइ उपचारका क्रममा कोमामा रहेका ताप्लेजुङ घर भइ हाल मोरङको रतुवामाई बस्ने जीतबहादुर लिम्बूलाई स्वदेश फर्काइएको हो ।

नेपाली दूतावास, अबुधाबी र विभिन्न संस्थाको पहलमा उनलाई शनिबार स्वदेश फर्काइएको हो ।

यूएईमा उडान भर्दै आएका नेपालका एयरलाइन्समा जटिल प्रकृतिका बिमारी बोक्ने सुविधा नभएपछि जीतबहादुरलाई एयर इन्डियाको विमानमार्फत शनिबार राति दिल्ली हुँदै नेपाल लगिएको छ ।

जब काममा जाने वेला बेहोस भए…

सन् २०१५ मा युएई आएका लिम्बु गत अगस्टमा बेहोस भई अस्पताल भर्ना भएका थिए ।

काम गर्दै आएको कम्पनी विक्री भएपछि जीतबहादुर लगायत अरु कामदारको बाँकी तलब, नयाँ भिसा र मेडिकल इन्सुरेन्ससम्म बनाइ दिने सर्तमा पुनः नयाँ मालिकसँग उनी सोही कम्पनीमा काम गर्दै आएका थिए ।

तर, २०१७ मा करार अवधि सकिएपछि भने उनी अवैध रुपमा बसिरहेका थिए । युएईमै कार्यरत उनका ज्वाइँ गंगालाल लिम्बुले अनलाइखबरलाई दिएको जानकारी अनुसार जितबहादुर त्यस कम्पनीमा फिनिसिङ कार्पेन्टरको काम गर्थेँ ।

काम गर्दै जाँदा केही समयपछि कम्पनीले तलव दिन छोडेको थियो । तलब दिलाइदिन भन्दै उनी यहाँको श्रमिक अदालतसम्म पुगे । तर, गत अगस्ट १६ तारिख बिहान ड्यूटी जान खोज्दा उनलाई अचानक चक्कर लाग्यो । काममा पनि जान सकेनन् ।

एकैपटक साँझ कामबाट फर्किएका साथीहरुले उनलाई बेहोसी अवस्थामा भेटे । साथीहरुको सहयोगमा अस्पताल भर्ना गरिएका उनलाई चिकित्सकले ब्रेन हेमरेज भएको जनाए ।

दुई साता आइसीयूमा राखेर उपचार गरेपछि उनलाई एक महिना नर्मल कोमामा राखिएको थियो । स्वास्थ्यमा पहिलेको भन्दा केहीँ सुधार आएपछि १५ दिनयता वार्डमा अर्धचेत अवस्थामा उपचार भैरहेको थियो ।

चिकित्सकहरुले यूएईमा थप उपचार गराउनु भन्दा नेपाल लैजान सुझाव दिएपछि उनलाई फर्काउने पहल थालियो । तर, अवैधानिक अबस्थामा रहेकाले उनलाई नेपाल फर्काउन कानुनी समस्या भयो ।

यसरी भयो उद्दार

जनप्रगतिशील मोर्चाका उपाध्यक्ष कमल पोखरेलले बिरामीलाई नेपाल लैजान आवश्यक पर्ने कागजातको लागि दूतावाससँग समन्वय गरे । दूतावासका श्रम काउन्सिलर भेषबहादुर कार्की र पिआरओ इरफान आलमले जितबहादुर उपचाररत अस्पतालमा गएर उनको स्वास्थ्य अवस्थाको जानकारी लिए ।

उनको उपचारमा लागेको खर्च चुक्ता नगरेसम्म अस्पतालले नेपाल लैजान नसक्ने जनाएको थियो । यसबीचमा दूतावासको पहलमा उनको उपचारमा लागेको १ लाख ६० हजार दिराम उपचार खर्च छुट भयो ।

यस्तै, बिरामीलाई नेपालसम्म पुर्याउन आवश्यक सहयोगका लागि दुतावासले परराष्ट्र र श्रम मन्त्रालय र वैदेशिक रोजगार प्रबद्र्धन वोर्डलाई जानकारी पत्र पठाएको थियो ।

त्यसपछि बिमारीलाई नेपालमा राख्ने अस्पतालको स्वीकृतिका आधारमा यहाँको अस्पतालले एक जना नर्सको समेत व्यवस्था गरी उनलाई नेपाल लैजाने अनुमति दिएको दुतावासका श्रमसहचारी मोतिराम भुषालले अनलाइनखबरलाई बताए ।

उनलाई नेपाल फर्काउन वैदेशिक रोजगार प्रबद्र्धन वोर्डलाई आग्रह गरिएतापनि आर्थिक सहयोग गर्ने नीति नभएको जानकारी आएकाले उनले यहाँका सामाजिक संघसंस्थाको सहायता मागेका थिए । सोही अनुसार ताप्लेजुङ समाज सेवा युएई र जनप्रगतिशील मोर्चाको पहलमा आर्थिक सहयोग अभियान चलाइएको थियो ।

समितिले ताप्लेजुङ सेवा समाज, यूएईका महासचिव भवानी माङ्गमु लिम्बूको संयोजकत्वमा यूएईमा रहेका २५ बढी संस्था र व्यक्तिसँग सहकार्य गरी २० हजार १ सय ६३ दिहराम आर्थिक संकलन गरिएको थियो । समाजकी अध्यक्ष सोनी भण्डारीका अनुसार बिरामीलाई नेपाल पठाउनका लागि १७ हजार ८ सय ८३ दिहराम खर्च भएको थियो । त्यस्तै, २ हजार २ सय ८० दिहराम भने बचत भएको उनले बताइन् ।

बचत भएको रकम बिरामको सहयोगार्थ खोलिएको खातामा जम्मा गरिने उनको भनाइ छ ।

उनलाई नेपालमा निउरो कार्डियो सर्जरी अस्पतालमा राखेर थप उपचार गरिने अभियान संयोजक भवानी माङ्गमु लिम्बुले जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment