Comments Add Comment

सन्दीपपछि सोमपाललाई मौका, बिक्लान् त पीएसएलमा ?

२६ कात्तिक, काठमाडौं । नेपाली युवा बलर सन्दीप लामिछाने अन्तर्राष्ट्रिय टी-२० प|mेन्चाइज लिगहरुका लागि अपरिहार्य जस्तै बनिरहेका छन् ।

आईपीएलबाट सुरु भएको उनको यात्रा अष्ट्रेलियाको बिग ब्याससम्म पुगेको छ । पछिल्लो पटक सन्दिप पाकिस्तान सुपर लिग (पीएसएल) को ड्राफ्टमा परेका छन्, जुन अनपेक्षित घटना होइन ।

तर,सन्दीपसँगै तानिएका छन् फास्ट बलर सोमपाल कामी । सन्दिप गोल्डेन क्याटेगोरीमा पर्दा सोमपाल सिल्भर क्याटेगोरीमा छन् । यसअर्थमा सन्दीप न्युनतम मूल्य ५० हजार डलर (५० लाख रुपैयाँभन्दा बढि)मा बिक्न सक्नेछन् भने सोमपाल बिकेमा २२ हजार डलर (२२ लाख रुपैयाँभन्दा बढि) पाउने छन् ।

ड्राफ्टमा पर्दैमा पीएसएल खेल्ने निश्चित भएको भने होइन तर, सन्दीपलाई अक्सनबाट कुनै टिमले किन्ने पक्का जस्तै छ । किनकी उनले अहिलेसम्म खेलेका लिगहरुमा उत्कृष्ट प्रदर्शन गर्दै आइरहेका छन् ।

आईपीएलमा दिल्ली डेयरडेभिल्सबाट खेलेका उनले क्यानेडियन हुँदै क्यारिबियन , अफगानिस्तानको लिग खेल्न भ्याए । सोमपालका लागि भने यो पहिलो मौका हुन सक्छ । यदि उनी पनि पीएसएलमा अनुबन्धित भएर खेल्ने मौका पाएमा यो नेपाली क्रिकेटको लागि अर्को खुशीको समाचार हुनेछ ।

तर सोमपाललाई पीएसएलमा सहभागी ६ टिममध्ये कुनैले अनुबन्धित गर्छ वा गर्दैन भन्ने नोभेम्बर २० तारिखमा मात्रै थाहा हुनेछ । सो दिन पाकिस्तानको राजधानी इस्लामावादमा खेलाडी अक्सन हुँदैछ । पीएसएल २०१९ को फेब्रुअरी १७ देखि मार्च १७ तारिखसम्म हुनेछ ।

सोमपाल नेपाली क्रिकेटका बलिङ अलराउन्डर हुन् । सन् २०१४ देखि नेपाली क्रिकेट टिममा निरन्तर अटाएका उनले बलबाट मात्र नभई ब्याटबाट पनि टिमलाई योगदान दिँदै आएका छन् ।

सोमपालको नाममा विश्व रेकर्ड पनि छ । हङकङविरुद्ध टी-ट्वान्टी आईमा १०औं नम्बरमा ब्याटिङ गर्न आएका उनले विष्फोटक ब्याटिङ गर्दै ४० रन बनाएका थिए । टी-ट्वान्टी फम्र्याटमा १०औं नम्बरका कुनै पनि ब्याट्सम्यानले बनाएको यो अहिलेसम्मकै सर्वाधिक स्कोर हो ।

नेपाली क्रिकेटको अभिभावक नेपाल क्रिकेट संघ (क्यान) लामो समयदेखि निलम्बित छ । यस्तो अवस्थामा पनि खेलाडीको आफ्नै बलबुताले एक दिवसीय मान्यतासम्मको यात्राले सारा नेपाली क्रिकेटप्रेमीलाई खुशी दिएको छ ।

अझ नेपाली खेलाडी विदेशी लिगमा व्यावसायिक क्रिकेट खेल्नुले अर्को उमंग पक्कै पनि दिने छ । सन्दीपले आईपीएलमा प्रवेश गरेर नेपाली क्रिकेटरका लागि सम्भावनाको नयाँ ढोका उघारेका थिए । अब पालो सोमपालको आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment