Comments Add Comment

देशमा सबै मिलोस् भनेर सोंचेर मात्र बोल्छु : पूर्वराष्ट्रपति डा. यादव

२७ कात्तिक, सप्तरी । पूर्वराष्ट्रपति डा. रामवरण यादवले देशमा सबै मिलेर अघि बढोस् भन्ने चाहना आफ्नो रहेको बताएका छन् । उनले यही कारण आफूले सोचेर मात्र बोल्ने गरेको पनि बताए ।

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर ५ को बर्साइनस्थित मुसहर बस्तीमा निर्माण गरिएको दलित घरको हस्तान्तरण समारोहलाई मंगलबार सम्बोधन गर्दै डा. यादवले देशमा सबै मिलेर अघि बढे मात्र देशको भलो हुने बताए ।

‘म पूर्वराष्ट्रपति हुँ धेरै भाषण गर्न सक्छु’ उनले भने, ‘तर गर्दिन । सोचेर मात्रै बोल्छु ।’ उनले राजनीतिक भाषण गर्न आफूले छाडेको बताउँदै राजनीतिभन्दा देशको भलो कसरी हुने हो त्यस्तो किसिमको भाषण मात्रै गर्ने गरेको बताए ।

चुरेलाई सबै मिलेर जोगाउनुपर्ने बताउँदै उनले चुरे देशको प्राण भएको बताए । ‘चुरे नरहे देश रहन सक्दैन्’ उनले भने, ‘दिनदिनै भइरहेको चुरे विनाशकै कारण बर्षाको समयमा जताततै बाढी पसिरहेको छ । यसलाई रोक्नु जरुरी छ ।’

अहिले मुलुकमा जताततै डोजर आतंक देखिएको बताउँदै उनले डोजर आतंकलाई रोक्नुपर्ने बताए । ‘पहाड, मधेश जताततै डोजर आतंक छ, यसले विकासभन्दा विनाश निम्त्याइरहेको छ’ उनले भने, ‘डोजर आतंकलाई रोक्नु सबैका लागि जरुरी छ ।’

एक अर्काे प्रसंगमा बोल्दै पूर्व राष्ट्रपति यादवले मिडिया गणतन्त्रको अक्सिजन भएकाले यसमा अंकुश लगाउन नहुने बताए । ‘मिडिया गणतन्त्रको प्राण हो, यसको हरण हुने काम गरिनुहुन्न ।’ उनले प्रेसमाथिको अंकुश रोक्नु जरुरी रहेको बताए ।

२०७४ साल साउन २८ गते आएको भीषण बाढीका कारण मृत्यु भएका कमलु सदालाई पानीमै बगाइरहेको गाउँमा न्यूज २४ टेलिभिजनको संयोजनमा ३५ वटा घर निर्माण गरिएको छ । मुसहर समुदायको बसोबास रहेको यो गाउँमा अझै १७ वटा घर बन्ने क्रममा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment