Comments Add Comment

राष्ट्रपति र उपराष्ट्रपति छठ पूजाका लागि कमलपोखरीमा

२७ कात्तिक, काठमाडौं । छठ पर्वका अवसरमा स्थानीय कमलपोखरी पुगेर मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनले सूर्यलाई अघ्र्य दिई पूजार्चना गरेका छन् ।

राष्ट्रपति भण्डारीले अपराह्न ४ बजे तथा उपराष्ट्रपति पुनले साँझ ५ बजे कमलपोखरी पुगेर पूजार्चना गरेका हुन् । कमलपोखरी छठ पूजा समितिले आयोजना गरेको छठ पर्व विशेष कार्यक्रममा उनीहरु सहभागी भएका थिए ।

छठ पर्वका लागि कमलपोखरी विशेष रुपमा सिँगारिएकाले अहिले झकिझकाउ छ । कमलपोखरीमा शुरुदेखि नै राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री सहभागी हुँदै आएकामा यस पटक बिरामी भएकाले प्रधानमन्त्री केपी शर्मा ओली भने सहभागी भएनन् ।

सो क्रममा विभिन्न क्षेत्रबाट महत्वपूर्ण योगदान पुर्‍याउने पाँच जनालाई सम्मान गरिएको थियो । गीतकार रत्नशम्शेर थापा, नियात्राकार घनश्याम राजकर्णिकार तथा समाजसेवी इन्द्रदेव मिश्र, सुरेश जैन र भक्तबहादुर सिंहलाई राष्ट्रपति भण्डारीले कदरपत्रसहित सम्मान गरिन् ।

सांसद गगनकुमार थापाले आठ वर्षदेखि कमलपोखरीमा छठ पर्व मनाउन थालिएको जानकारी दिए । शुरुआतका समयमा बर्तालुको अभावमा खोजेर ल्याउनुपरेको कमलपोखरीमा अहिले यति ठूलो सद्भावका साथ राष्ट्रिय पर्वका रुपमा छठ मनाउन पाउनु गर्वको कुरा भएको उनले प्रतिक्रिया दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment