Comments Add Comment

उदाउँदो सूर्यलाई अर्घ दिएर छठको बिदाइ (फोटो फिचर)

२८ कात्तिक, काठमाडौं । ३६ घण्टादेखि निराहार र निर्जल व्रत बसेकाहरुले आज छठ पर्व समापन गरेका छन् । आज चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिएर छठ पर्व समापन गरिएको हो ।

नदी, तलाउ, पोखरी, खोला र सार्वजनिक स्थानबाट व्रतालुहरुले उदाउँदो सूर्यलाई अर्घ दिएका छन् । उनीहरुले हिजो अस्ताउँदो सूर्यलाई अर्घ दिएका थिए ।

उनीहरु पूजा समापन गरी आ–आफ्नो घर फर्किएका छन् । घर फर्किने क्रममा महिलाका वेदना र छठी माताको महिमा गाउने चलन छ । साथै पूजा समापन गरी चेलीबेटीलाई टीका लगाइदिएर प्रसाद वितरण गर्ने चलन छ ।

सूर्यको उपासनासहित छठी माताको पूजा गरेमा रोगव्याध निको हुने, सन्तान प्राप्त हुने तथा परिवारमा सुख शान्ति र समृद्धि हुने धार्मिक विश्वास छ ।

काठमाडौं उपत्यकासहित देशभरका नदी, खोला, पोखरी, तलाउ, नहरमा श्रद्धालुहरुको घुइँचो छ । छठका व्रतालुहरु छठ घाटमा भजनकिर्तन गरेर बसेका थिए । विशेषगरी तराई मधेसका जिल्लाका सार्वजनिक स्थलहरु भक्तिमय संगीतले गुन्जिएका छन् ।

विगतमा मिथिलाञ्चल क्षेत्रमा मात्र मनाइने छठ पर्वलाई हाल काठमाडौं उपत्यकासहित देशभरका पहाडे समुदायले पनि विशेष आस्था र भक्तिपूर्वक मनाउँदै आएका छन् ।

छठको पूजा गर्नका लागि काठमाडौं उपत्यकाका कमलपोखरी, गहना पोखरी, गुहेश्वरी, वागमती, विष्णुमतीसहित देशभरका छठघाटलाई झकिझकाउ पारिएको छ । देशका प्रमुख स्थानमा सुरक्षा व्यवस्था पनि कडा पारिएको थियो ।

रौतहट सदरमुकाम गौरको बरहवा ताल, शिवगंगा घाट, गौर ५ को पोखरी लगायत औरैया, गंगा पिप्रा, शिवनगर, गरुडा, लालबकैया, बाग्मती तथा चन्द्रनिगाहपुरको चादी नदी किनार लगायत अधिकांश जलाशयहरुमा आज व्रतालुहरुले उदाउँदो सूर्यलाई अर्घ दिएका थिए ।

तस्वीरहरुः चन्द्र आले, गौतम श्रेष्ठ र विक्रम रौनियार/अनलाइनखबर

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment