Comments Add Comment

क्रान्तिकारी आमालाई जयनेपाल !

सुनसरीको पञ्चायन झोडाकाण्डमा ०२९ सालमा पक्राउ पुर्जी जारी भएपछि हाम्रा बुबासहित गाउँका थुप्रै पुरुष रातारात भागेर बिहारको फारबिसस्थित नेपाली कांग्रेसको शिविरमा पुग्नुभयो । पञ्चायती शासकहरुले बुबालाई नभेटेपछि आमालाई गिरफ्तार गरे । उहाँ ७ महिनाकी कान्छी छोरी दीपालाई लिएर ६ महिना जेल बस्नुभयो । बुबा घर नफर्की कांग्रेसको अभियानमा सकृय हुनुभयो ।

०३३ सालको ओखलढुंगा क्रान्तिमा बुबालगायतका योद्वाहरुलाई पञ्चायती शासकहरुले हत्या गरेपछि हामी १० केटाकेटीसहितको ठूलो परिवारको जिम्मा आमाको काँधमा पर्न गयो । झोडाबासी हामीसँग आगामी दिनलाई झेल्ने सामर्थ्य थिएन ।

मुगाधन राई (लेखक)

म जेठो छोरो बीएस्सी तेस्रो बर्ष सकेर बसेको थिएँ । ठूली बहिनी बाहेकका भाइबहिनी गाउँकै प्राथमिक स्कुल जान्थे । परिवारलाई पार लगाउन आमालाई सकस परिरहेका बेला बुवाको अन्त्यका बारेमा धेरै अफवाहहरु आए । ती कुराले आमालाई भित्रभित्रै कति घोच्यो, पोल्यो होला ? तर, उहाँले कहिल्यै आँंसु बगाएको हामीलाई थाहा छैन ।
गत कात्तिक १ गते बिहान पौने १० बजे ८९ बर्षको उमेरमा हाम्री ममतामयी आमा जतन माया राईको निधन भयो । बुबा अगमणि राई प्रजातन्त्र पुनस्थापनाका लागि ४३ बर्षअघि शहीद हुनुभएपछि हामी १० सन्तानलाई आमाले बहादुुरीपूर्वक सम्हाल्नुभएको थियो ।

निरंकुश पञ्चायती शासनविरुद्व नेपाली कांग्रेसको आह्वानमा हाम्रा बुबाले उठाएको कदममा आमाको दह्रो साथ-समर्थन थियो । आमाको अवशानसँगै कांग्रेस पार्टीको गौरवमय इतिहासको एक अध्याय सकिएको हामी परिवारले महशुस गरेका छौं ।

उहाँले दिनरात मेहनत गरेर हामीलाई अगाडि बढाइ रहनुभयो । हामी पनि जीवन संघर्षमा बानी पर्दै गयाैं । समयले पनि बिस्तारै कोल्टे फेर्न सरु गर्‍यो । राजनीतिक परिवर्तन अपरिहार्य भएर आयो । कांग्रेसले सशस्त्र आन्दोलन छाडेर राष्ट्रिय मेलमिलापको बाटो अख्तियार गरेसँगै नेपालमा बहुदलको उदय हुन गयो । यही परिवर्तनका लागि मेरा बुबाले प्राणको आहुती दिनुभएको थियो ।

बुबाको सपना साकार भयो । तर, त्यसलाई संस्थागत गर्न नेपाली कंग्रेस असफल रहयो । आज बहुदल आएको तीन दशक पुग्नै लाग्दा नेपाली कांग्रेस भद्रगोल सांगठनिक अवस्थाबाट गुज्रँदैछ । गुट-उपगुटमा लागेर दिशाहीन बन्न पुगेको पार्टी आफनो अन्त्य पर्खेर बसेको स्थिति छ ।

उतिबेलै पनि कांग्रेसी नेताहरुको चालामालमा चित्त नबुझाएकी मेरी आमाले बिराटनगरमा बीपी कोइरालालाई भेटेर यो पाराले पार्टी नचल्ने बताउनुभएको थियो । बुबाले प्राण प्रतिष्ठा अर्पण गरेको कांग्रेस पार्टीप्रति आमाको ठूलो श्रद्वा र आशा थियो ।

आज उनै आमाको प्रेरणा र आर्शिवादले हामी दसै जना छोराछोरीहरु आ- आफ्नो क्षेत्रमा स्थापित भएका छौं । आमाले हुर्काएर शिक्षाको उज्यालो देखाउनुभएको परिवारका सबै सदस्य देशविदेशमा कार्यरत छौं ।

र, उनै सतिसाल जस्तै दह्रो, निर्भिक, ममतामयी आमाको चोला उठ्दा हामी परिवारजन दुःखी हुँदाहुँदै पनि वहाँको गौरवपूर्ण जीवनप्रति आफूलाई धन्य मान्दछौं र भावपूर्ण श्रद्धान्जली अर्पण गर्दछौं ।

(राई मेरील्याण्ड इंगलिश बोर्डिंङ्ग स्कूल, धरानका निर्देशक हुन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment