Comments Add Comment

सर्वोच्च अदालतमा संवैधानिक इजलास शुरु

२८ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतमा संवैधानिक इजलास बुधबारदेखि शुरु भएको छ ।

गत साउन १६ गतेदेखि संवैधानिक इजलास बस्न सकेको थिएन । प्रधानन्यायाधीशको अध्यक्षतामा वरिष्ठताका आधारमा सर्वोच्च अदालतका अन्य चार न्यायाधीश तोकी संवैधानिक इजलास गठन गर्नुपर्ने व्यवस्था छ ।

आजदेखि शुरु भएको संवैधानिक इजलासमा प्रधानन्यायाधीश ओमप्रकाश मिश्र, न्यायाधीश दीपकराज जोशी, चोलेन्द्रशम्शेर जवरा, दीपककुमार कार्की र केदारप्रसाद चालिसे छन् ।

संवैधानिक विवादका मुद्दामा सुनुवाइ हुने भए पनि इजलास नियमित बस्न नसक्दा न्याय प्रक्रियामा ढिलाइ भइरहेको थियो । एउटा प्रधानन्यायाधीशको अवकाशपछि अर्को प्रधानन्यायाधीश नियुक्त नहुँदासम्म वा इजलासका एक मात्र न्यायाधीश नहुँदा पनि उक्त इजलास चल्न सक्दैन ।

प्रधानन्यायाधीश नियुक्त भएर आइसकेपछि पनि संवैधानिक इजलास गठनमा प्राथमिकता दिइएको देखिँदैन । प्रधानन्यायाधीश आउनेबित्तिकै प्राथमिकताका साथ सो इजलास गठन गरेर सुनुवाइ शुरु गर्नुपर्ने हो तर त्यसो हुन सकेको थिएन ।

प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्र नियुक्त भएपछि गठित पाँच सदस्यीय इजलास गठन भएर पनि इजलास बस्न सकेको थिएन । सर्वोच्च अदालतका सहप्रवक्ता नागेन्द्र कालाखेतीका अनुसार न्यायाधीश दीपककुमार कार्की विदेश भ्रमणमा रहेकाले इजलास सञ्चालन हुन सकेको थिएन । एक जना मात्र न्यायाधीश नभएपछि सो इजलास बस्न सक्दैन ।

संवैधानिक इजलास हप्ताको दुई दिन मङ्गलबार र बुधबार मात्र बस्ने तय भएको छ । प्रधानन्यायाधीशसहित सो इजलासका अरू न्यायाधीशले अन्य विषयका मुद्दा पनि हेर्नुपर्ने भएकाले संवैधानिक विवादका विषय मात्र हेर्नका लागि हप्ताको दुई दिन छुट्याइएको हो ।

सर्वोच्च अदालतका अन्य इजलासमा बहस भइसकेपछि संविधानसँग बाझिएका र गहनरुपमा छलफल गर्नुपर्ने मुद्दा पनि संवैधानिक इजलासमा पठाइने र सो इजलासमा गहन बहस र छलफलपछि निर्णय दिने गरिन्छ । इजलासमा संवैधानिक विवादका २२३ वटा मुद्दा सुनुवाइ गर्न बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment