Comments Add Comment

जिम्बाब्वेमाथि बंगलादेशको फराकिलो जित, सिरिज बराबरी

२९ कात्तिक, काठमाडौं । जिम्बाब्वेविरुद्धको दोस्रो टेष्ट खेलमा घरेलु टोली बंगलादेशले फराकिलो जित निकाल्दै २ खेलको टेष्ट क्रिकेट सिरिज १–१ को बराबरीमा टुंग्याएको छ ।

राजधानी ढाकास्थित शेर बंगला राष्ट्रिय क्रिकेट रंगशालामा बिहीबार सम्पन्न भएको खेलमा बंगालदेशले जिम्बाब्वेलाई २१८ रनको भारीअन्तरले पराजित गरेको हो । ४४३ रनको विशाल लक्ष्य पछ्याउँदै आफ्नो दोस्रो इनिङ्स थालेको जिम्बाब्वेले सबै विकेटको क्षतिमा २२४ रन मात्रै बनाउन सक्यो ।

जिम्बाब्वेका लागि ब्रेन्डन टाइलरले अविजित १०६ रन बनाए पनि अन्य खेलाडी भने सस्तैमा समेटिए । यता, बलिङतर्फ बंगलादेशका मेहेदी हसन मिराजले ५ विकेट लिए ।

बंगालदेशले ६ विकेटको क्षतिमा २२४ रन बनाउँदा आफ्नो दोस्रो इनिङ्सको समाप्तिको घोषणा गरेपछि जिम्बाब्वेले ४४३ रनको विशाल लक्ष्य पाएको थियो । आफ्नो दोस्रो इनिङ्समा बंगलादेशका कप्तान मोहमुदुल्लाहले अविजित १०१ रन बनाएका थिए ।

यता जिम्बाब्वेले आफ्नो पहिलो इनिङ्समा भने खराब प्रदर्शन गर्दै ३०४ रनमात्रै बनाउन सकेको थियो । उसका लागि ब्रेन्डन टायलरले ११० रन बनाएका थिए । बलिङतर्फ बंगलादेशका तैजुल इस्लामले ५ विकेट लिएका थिए ।

यता, बंगलादेशले आफ्नो पहिलो इनिङ्समा भने ७ विकेटको क्षतिमा ५२२ रन बनाएको थियो । बंगलादेशको विशाल स्कोरमा मुस्फिक्युर रहिमले दोहोरो शतक बनाए भने मोमिन्युल हकले शतक बनाएका थिए । रहिमले अविजित २१९ रन बनाउँदै दोहोरो शतक पूरा गरे । त्यस्तै, हकले उत्कृष्ट प्रदर्शन गर्दै १६१ रन बनाएका थिए । बलिङतर्फ भने कैल जर्भिसले ५ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment