Comments Add Comment

आमाबुवा र छोराछोरीबीच बढ्दो दूरी : खतराको घण्टी

गएको फागुनमा अमेरिकाको फ्लोरिडास्थित एक विद्यालयमा १९ बर्षे किशोरले अन्धधुन्द गोली चलाउँदा १७ जना विद्यार्थी तथा शिक्षकले ज्यान गुमाए । कतिपय अंगभंग भए ।

यसरी गोली चलाउने किशोर थिए, निकोलस क्रुज । उनी सोही विद्यालयका पूर्व विद्यार्थी थिए । केही समयअघि मात्र उनी विद्यालयबाट निष्कासनमा परेका थिए । क्रुजले किन यसरी उत्पात मच्याए ?

यसलाई अनेक कोणबाट अनुसन्धान गरियो । उनी हिंस्रक स्वभावका रहेछन् । उनको मानसिक स्वास्थ्य पनि ठिक थिएन । र, यसको पछाडि उनको पारिवारिक पृष्टभूमी एउटा कारण देखियो । उनलाई सौतेनी पिता र आमाले हुर्काएका रहेछन् । दुबैको मृत्युपछि उनी एक्लिएका थिए । यसरी उनले अभिभावकत्व गुमाएका रहेछन् । यसको सोझो अर्थ के भने, उनले राम्रो अभिभावकत्व पाएनन् । संभवत माया ममता पाएनन् । पारिवारिक एवं सामाजिक जीवनबाट एक्लिए ।

थुप्रै अपराधीको पारिवारिक पृष्टभूमी खोतल्दा करिब यस्तै देखिन्छ । कुनै बालबालिका, किशोर-किशोरी किन हिंस्रक हुन्छन् ? किन निर्दयी हुन्छन् ? यसको पछाडि उनीहरुको परिवार जिम्मेवार रहेको पाइन्छ । खराब पारिवारिक पृष्टभूमीमा हुर्किएका बालबालिकाहरु विकृत मनोदशा लिएर बाँच्छन् । उनीहरुमा सकारात्मकभन्दा बढी नकारात्मक भाव पैदा हुन्छ । परिणामस्वरुप उनीहरु जस्तोसुकै कृत्य गर्न पनि उक्सिन्छन् ।

खासमा छोराछोरीलाई सही अभिभावकत्व दिने, मार्गदर्शन दिने, संस्कार दिने काम आमाबुवाको हो । तर, अहिले धेरै आमाबुवालाई आफ्ना छोराछोरीसँग बस्ने फुर्सद पनि छैन । त्यही कारण त कतिपय छोराछोरी गलत बाटोमा लागेका छन् । कति दूव्र्यसनमा फसेका छन्, कति अपराधकर्ममा लागेका छन् ।

कसरी बढ्दैछ दूरी ?

अहिले धेरै आमाबुवालाई छोराछोरीसँग खेल्ने, बस्ने, कुरा गर्ने, रमाउने फुर्सद छैन । छोराछोरी के भन्छन्, के चाहन्छन्, के सोच्छन्, के गर्छन् ? यस सम्बन्धमा आमाबुवा जानकार छैनन् । यसरी छोराछोरी र आमाबुवाबीच दुरी बढ्दैछ । तर, यसको नतिजा ?

आमाबुवा र छोराछोरीबीच बढ्दो दुरीले पक्कै सकारात्मक नतिजा दिदैन । विगतका घटनाहरुले देखाउँछ, यो भयानक गल्ती हो ।

आमाबुवा अक्सर तिनै छोराछोरीका भविष्यका खातिर दिनरात खटिन्छन् । श्रम गर्छन् । मेहनत गर्छन् । पैसा बचत गर्छन् । जग्गा जमिन जोड्छन् । तर, यसरी छोराछोरीको भविष्य सुनिश्चित गर्नका लागि आमाबुवा खटिइरहँदा छोराछोरी कस्तो मनोदशा वोकेर हुर्किरहेका होलान् ? सोचनिय कुरा हो ।

किन नजिकिनुपर्छ अभिभावक र बालबालिका ?

हरेक बच्चाको भावनात्मक र मनोवैज्ञानिक स्थिरता धेरै हदसम्म अभिभावकसँगको सम्बन्धमा निर्भर हुन्छ । कुनै पनि बच्चा जति आमाबुबाको नजिक हुन्छन् उनीहरुको व्यक्तित्व त्यति नै सन्तुलित हुन्छ ।

बच्चा तपाईंको कति नजिक छ यस कुरा थाहा पाउनको लागि दुखी वा चिन्तित भएको अवस्थामा हुने उनीहरु तपाईंसँग खुलेर कुरा गर्छन वा गर्दैनन् भन्ने बुझ्नुपर्छ ।

उनीहरुले तपाईंसँग हरेक कुरा सेयर गर्छन् वा गर्दैनन् ? यदि गर्दैनन् भने तपाईंको बच्चासँग हुनुपर्ने जति गहिरो सम्बन्ध छैन भन्ने बुझ्नुपर्छ । अर्थात तपाईं आफ्नो बच्चाको नजिक हुनुहुँदैन ।

केही समय अघि अमेरिकाको टेक्ससमा प्रोफेसर म्याथ्यु ए एन्डरसनद्धारा गरेको एक अध्ययन अनुसार बाल्यकालमा आफ्नो अभिभावकसँग तपाईंको सम्बन्ध कस्तो थियो यस कुराले ठूलो भएपछि तपाईंको स्वास्थ्यलाई प्रभावित गर्छ ।

ठूलो भएपछि ती मानिसहरुमा रोगको खतरा धेरै हुन्छ जसलाई सानो उमेरमा अभिभावकहरुले धेरै गाली गर्थे । वास्तवमा बच्चाको अभिभावकसँगको सम्बन्ध मिठासपूर्ण हुँदैन भने उनीहरुमा स्वस्थ जीवनशैली विकास हुँदैन । साथै भावनात्मक र सामाजिक भावनाको मामिलामा पनि उनीहरु पछाडि पर्छन् ।

अध्ययनका अनुसार यदि अभिभावक र बच्चाको सम्बन्धमा तिक्तता आउँछ भने बच्चाको खानपिन, सुत्ने र अन्य गतिविधिहरु अनियमित हुन्छ । घरको सन्तुलित खानाको सट्टा उनीहरु जंकफुड, स्टि्रटफुड र उच्च फ्याटयुक्त खानेकुरा धेरै खान थाल्छन् ।

बच्चालाई माया चाहिन्छ सहानुभुति होइन

जब बच्चा धेरै दुखी, चिन्तित, क्रोधित, हतोत्साहित वा निराश भएर घरमा आँउछन धेरैजसो नेपाली आमाबुबाले उनीहरुलाई दुखी नहुन र चिन्तित नहुन सल्लाह दिन्छन् ।

‘हतोत्साहित नहुनु’, ‘पागल नबन’, ‘चिन्ता नगर’ वा ‘किन यस्तो सोचिरहेको’ जस्ता वाक्य सुनेर बच्चा आँफै लज्जित महसुस गर्छन् । यसले उनीहरु अझै दुखी हुन्छन् ।

उनीहरुलाई आमाबुबाले आफूलाई बुझ्न नसकेको जस्तो लाग्छ । उनीहरु आफूलाई एक्लो सम्भिmन्छन् र आफ्नो कुरा खुलेर भन्न सक्दैनन् । तर, यो तरिका सहि होइन । तपाईंले उनीहरुको भावनालाई सम्मान गर्नुपर्छ ।

भावनाहरु कहिल्यै पनि गलत हुँदैनन । तपाईंले उनीहरुलाई माया गर्नु, स्नेह दिनु राम्रो हुन्छ । उनीहरुको भावनालाई महसुस गर्नुहोस र मात्रै आफ्नो कुरा गर्नुहोस् ।

‘म तिम्रो ठाँउमा भएको भए यस्तो गर्थेँ’, ‘म तिमीलाई बुझ्न सक्छु’ जस्ता वाक्यले बच्चालाई तपाईंसँग कनेक्टेड महसुुस गराउँछन् । उनीहरुलाई अभिभावकले आफूलाई बुझेको महसुस हुन्छ । यसले उनीहरु राम्रो महसुस गर्न थाल्छन् ।

उनीहरु अभिभावकसँग समस्या समाधान गर्नको लागि मद्धत लिन इच्छुक हुन्छन् । यसले बच्चामा सुरक्षाको भावना विकसित हुन्छ र उनीहरु अभिभावकको साथमा तार्किक रुपले सोच्न सुरु गर्छन् ।

बच्चालाई मार्गनिर्देशन चाहिन्छ अर्डर होइन

बच्चासँग साथीको जस्तो सम्बन्ध राख्नुहोस् । कडा आमाबुबाको रुपमा हरेक समय अर्डर नदिनुहोस् । उनीहरुमा कुनै पनि परिस्थितीलाई हेर्ने र बुझ्ने नजर विकसित गर्नुहोस् । बच्चालाई हरेक सानाठूला समस्याको जरैसम्म गएर समाधान निकाल्न सिकाउनुहोस् ।

उनीहरुलाई हरेक किसिमले गाइड गर्नुहोस् तर जबजस्र्ती कहिल्यै नगर्नुहोस् । उनीहरुलाई के पढ्न छ ?, को सँग मित्रता गर्ने ?, के खाने वा कोसँग कुन खालको व्यवहार गर्ने ? जस्ता विषयमा आफ्नो राय दिनुहोस् तर अन्तिम फैसला बच्चामै छोडिदिनुहोस् । यसले उनीहरुमा आत्मविश्वास पनि बढ्छ र उनीहरुको मनमा तपाईंप्रतिको इज्जत पनि बढ्छ ।

मायाले सम्झाउनुहोस् मारपिटले होइन

बच्चालाई हिंसा गर्नु कत्ति पनि ठिक होइन । मायाले सम्झाउनाले बच्चा कुनै पनि कुरालाई सहि तरिकाले सम्भिmन्छ र आफ्नो गल्ती महसुस गर्छ । उसको मनमा तपाईंप्रति सम्मानको भावना पनि आउँछ ।

त्यस्तै यदि तपाईंले उसलाई पिटपाट गर्ने व्यवहार गर्नुहुन्छ, गाली गरेर डर देखाउनुहुन्छ भने उनीहरु जिद्दी र बदमास हुन्छन् । तपाईंको सम्बन्ध पनि नराम्रोसँग प्रभावित हुन्छ र ठूलो भएर उनीहरु मारपिटलाई आफ्नो हतियार बनाउँछन् ।

सकरात्मक सोच विकास गराउनुहोस्

बच्चालाई सँधै सकरात्मक वातावरण दिनुहोस् । तपाईंको कुराले उनीहरुलाई जीवनमा सबैकुरा सम्भव छ र उनीहरु जे पनि गर्न सक्छन् भन्ने महसुस हुन्छ । बच्चाको अगाडि सम्भावनाको संसार खुल्ला राख्नुहोस् । नकरात्मक पक्षबाट बच्न सिकाउनुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment