Comments Add Comment

२४ घण्टामा १० सवारी दुर्घटना, ६ जनाको मृत्यु

२ मंसिर, काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । अन्य ९ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ ।

भक्तपुरको मध्यपुर ठिमी नगरपालिका ४ स्थित क्षयरोग अस्पताल नजिकै गएराति ११ बजे बा ५ ख ३७६५ नम्बरको बसले रोकिराखेको बा २ क १६५४ नम्बरको मिनी ट्रकलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।

ठक्करबाट मिनी ट्रकका चालक काभ्रेको बनेपा नगरपालिका ४ नालाका ३४ वर्षीय राजेन्द्र श्रेष्ठ र परिचालक सोही ठाउँका २८ वर्षीय टार्जन श्रेष्ठको मृत्यु भएको हो । दुवैजनाको उपचारको क्रममा त्रि.वि. शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

बारामा एक वृद्धाको ज्यान गयो

बाराको कलैया उपमहानगरपालिका २७ रामपुरमा आइतबार बिहान मोटरसाइकलको ठक्करबाट एक वृद्धाको ज्यान गएको छ । स्थानीय ७० वर्षीया धुर्पती देवीको घटनास्थलमै मृत्यु भएको हो ।

आज बिहानै पौने ५ बजे शौचालय जान भनेर घरबाट निस्किएकी धुर्पतीलाई बा ९२ प ९०८६ नम्बरको मोटरसाइकलले ठक्कर दिएको हो । मोटरसाइकलसहित चालकलाई जिल्ला प्रहरी कार्यालय बाराले नियन्त्रणमा लिएको छ ।

कञ्चनपुरको बेदकोट नगरपालिका १० मा शनिबार साँझ खेत जोत्ने ट्याक्टरबाट खसेर एक बालकको मृत्यु भएको छ । स्थानीय लक्ष्मी बोहोराको खेत जोत्ने क्रममा ट्याक्टरबाट खसेर १४ वर्षीय सुशील ऐर घाइते भएका थिए । उनलाई उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

सुर्खेतको गुर्वाकोट नगरपालिका १ घुमाउने भन्ने स्थामा शनिबार साँझ अटोरिक्सा पल्टिँदा १ वृद्धाको मृत्यु भएको छ । रोकिराखेको भे १ ह ११८६ नम्बरको अटो रिक्सा ब्याक भएर सडकबाट करिब ४० मीटर तल खस्दा रिक्सामा सवार सल्यानको कालिमाटी गाउँपालिका ४ की ७५ वर्षीया छवि कुमारी वलीको घटनास्थल मै मृत्यु भएको हो ।

बाँकेको जानकी गाउँपालिका ४ खजुरामा हिजो बेलुकी ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । हिजो बेलुकी भे १ त ३९२४ नम्बरको ट्याक्टरले भे ६ प ४७२० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा बाँकेको पुरानो एयरपोर्टका २२ वर्षीय प्रियान्सु पौडेलको मृत्यु भएको हो । मोटरसाइकलको पछाडि सवार सोही ठाउँकी २१ वर्षीया अनु पौडेलको नर्सिङ होम नेपालगञ्जमा उपचार भइरहेको छ ।

चोभारमा मोटरसाइकल दुर्घटना, दुई जना घाइते

काठमाडौंको कीर्तिपुर नगरपालिका ६ चोभारमा आइतबार विहान ३ बजे बा ४१ प २८१० नम्बरको मोटरसाइकल पल्टिँदा २ जना घाइते भएका छन् । मोटरसाइकल चालक त्रिपुरेश्वर बस्ने २१ वर्षीय विशाल शाही ठकुरी र पछाडि सवार अन्दाजी २१ वर्षीया युवती घाइते भएका हुन् । घाइते दुवैको बयोधा अस्पताल बल्खुमा उपचार भइरहेको छ ।

नवलपरासीको बर्दघाट सुस्ता पश्चिममा पर्ने सरावल गाउँपालिका १ तुल्सीपुरमा आइतबार बिहान सवा ५ बजे भारतीय नम्बरको ट्रकमा ना ६ ख ७९८ नम्बरको ट्रक पछाडिबाट ठोक्किँदा दुई जना गम्भीर घाइते भएका छन् । ७९८ नम्बरको ट्रकमा सवार दुवै जनाको पृथ्वीचन्द्र अस्पताल परासीमा उपचार भइरहेको छ ।

काठमाडौंको टोखा नगरपालिका ६ हरियाली बस्तीमा हिजो बेलुकी बा ६४ प ८७४५ नम्बरको मोटरसाइकलको ठक्करबाट टोखा ८ बस्ने ३५ वर्षीया रामकुमारी चौधरी घाइते भएकी छन् । उनको ग्रिनसिटी अस्पताल बसुन्धारामा उपचार भइरहेको छ ।

काठमाडौंकै कोटेश्वरमा पनि हिजो बेलुकी बा ५९ प ५०१७ नम्बरको मोटरसाइकलको ठक्करबाट सिन्धुपाल्चोककी ३५ वर्षीया गायत्री बराल घाइते भएकी छन् । उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

यसैगरी पर्साको वीरगञ्ज महानगरपालिका ९ मा गएराति ना १५ प ६३७७ नम्बरको स्कुटरको ठक्करबाट साइकलमा सवार दम्पती घाइते भएका छन् । घाइते हुनेमा साइकलमा सवार वीरगञ्ज २७ का नरेश पटेल र उनकी श्रीमती अनिता देवी रहेका छन् ।

घाइते दुवैको नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमै उपचार भइरहेको छ । घाइतेमध्ये नरेशको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment