Comments Add Comment

प्रदेश १ लाई ‘चिया क्षेत्र’ बनाउन माग

२ मंसिर, विराटनगर । चिया उत्पादनको मूख्य क्षेत्र प्रदेश १ लाई ‘चिया जोन’ घोषणा गर्न केन्द्र सरकारसंग माग गरिएको छ । अहिले नेपालको कुल चिया उत्पादनमा प्रदेश १ को हिस्सा ९९ प्रतिशत छ ।

आइतबार विराटनगरमा भएको ‘सहकारीका चियासंग सम्बन्धित सवाल, चुनौतीहरु तथा आगामी बाटो’ बिषयक प्रदेश स्तरीय छलफलमा सरोकारवालहरुले चियाको प्रर्वद्धन र बजारीकरणका लागि नीति तथा कानूनको स्पष्ट व्यवस्थ नहुँदा किसान, उद्योगी र मजदुर अप्ठ्यारोमा परेको बताए ।

केन्दीय चिया सहकारी संघ लिमिटेडको आयोजनामा भएको छलफलमा संघका महासचिव रविन राईले चिया उत्पादनको मुख्य क्षेत्रको रुपमा रहेको प्रदेश १ लाई ‘चिया जोन’ घोषण गरिनु पर्नेमा जोड दिए । उनले नेपाली चियालाई अन्र्तराष्ट्रिय मापदण्डमा पुर्‍याउन राष्ट्रिय चिया नीति पूर्ण कार्यान्वयन हुनपर्ने बताए । सरकारले २०५७ सालमा राष्ट्रिय चिया नीति ल्याएको थियो । चिया नेपालको प्रमुख नगदेवालीमध्ये एक हो ।

कृषि अर्थविज्ञ डा. हरिबाबु तिवारीले नेपालमा उत्पादित चियाले विश्व बजार पाएको अहिलेको अवस्थामा सरकारले बिदेशी मुद्रा आर्जनको ठुलो सम्भावनालाई उपयोग गर्न सक्नु पर्नेमा जोड दिए । नेपाली चियालाई विश्व बजारमा राम्ररी ब्राण्डिङ गर्न सके नेपालको व्यापार घाटा कम गर्न मद्दत पुग्ने उनले बताए । डा. तिवारीले विषादी प्रयोग नगर्न सबै चिया उत्पादकको ध्यानाकर्षण पनि गरे ।

कार्यक्रममा प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङबोले एक महिना भित्रै चिया कफी बिकास बोर्ड गठन गरिने जानकारी दिए । संघीय सरकारले चिया तथा कफी विकास बोर्ड हस्तान्तरण नगरेका कारण समस्या भएको मन्त्री बताए । उनले संघीय सरकारले मंसिरभरीमा चिया हस्तान्तरण नगरेमा प्रदेश सरकारले आफै गठन गर्ने बताए ।

उनले कृषिसंग सम्बन्धित बिषय प्रदेश सरकारको क्षेत्राधिकार भित्र रहेकाले बोर्ड गठनमा समस्या नहरेको स्प्रष्ट पारे । मन्त्री आङ्बोले चिया, कफी, अम्रिसो, अदुवा लगायत प्रदेश १ का मुख्य निर्यातजन्य कृषि उपजहरुको प्रवर्धनका लागि छुटै संरचना बनाईने समेत बताए ।

कार्यक्रममा प्रस्तुत व्यावसायिक चिया खेती सर्वेक्षण– २०७५ को प्रतिवेदन अनुसार अहिले देशभरका ९ हजार २३६ कृषक तथा व्यवसायीहरूले १२ हजार ६६ दशमलव ५ हेक्टर क्षेत्रफलमा चिया खेती गरिरहेका छन् । ११ हजार ४१ वटा चिया बगानमा १० करोड ८० हजार केजी हरियो पत्ती उत्पादन हुने गरेको छ । झापामा १ हजार ६३१, इलाममा ६ हजार ९९५ र सिन्धुपाल्चोकमा ८ वटा चिया बगान सञ्चालनमा छन् ।

नेपाली चिया विश्वको १८ मुलुकमा निर्यात हुदै आएको छ । जर्मनी, अमेरिका, क्यानडा, जापान, चीनलगायतका मुलुकमा नेपाली प्रांगारिक चिया लोकप्रिय बनिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment