Comments Add Comment

सडक अनुगमन गर्न माथिल्लो डोल्पा पुगे मन्त्री, चीनबाट मोटरसाइकल ल्याएर निकालियो र्‍याली

३ मंसिर, काठमाडौं । जाजरकोटको पासागाढबाट डोल्पाको त्रिपुरासन्दरी सुपानीसम्मको १०३ किलोमिटर सडकको ट्र्याक नेपाली सेनाले खोलेसँगै सदरमुकाम दुनै हालै राष्ट्रिय सडक सञ्जालमा समेटिएको छ । माथिल्लो डोल्पाको मोरिम्ला नाकाबाट पनि सदरमुकाम दुनैलाई चीनसँग जोड्ने सडक निर्माणको काम अहिले भइरहेको छ ।

माथिल्लो डोल्पामा निर्माणाधीन सडकको पर्यटन राज्यमन्त्रीसमेत रहेका डोल्पाका सांसद धनबहादुर बुढाको अगुवाइमा हालै भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, सडक बिभागका महानिर्देशक रविन्द्रनाथ श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसुदन अधिकारीसहितको टोलीले अनुगमन गरेको छ ।

मन्त्री, राज्यमन्त्री र कर्मचारी सहितको टोली सडक अनुगमनमा जाँदा चीनबाट मोटरसाइकल ल्याएर मोटरसाइकल र्‍यालीसमेत निकालिएको थियो । छिमेकी जिल्ला चीनबाट ल्याइएका करिब दुईसय मोटरसाइकल र्‍यालीमा प्रयोग गरिएको थियो । मोरिम्ला नाकाबाट धोसम्म ६५ किलोमिटर सडक निर्माण भइसकेकाले मोटरसाइकल गुडाउन सकिन्छ ।

त्यहाँ गाडी गुड्ने सडक निर्माण सम्पन्न भए उत्तरमा चीनसँग जोडिएको मोरिम्ला नाकाबाट दुनै, जाजरकोटको पासागाढ, बाँकेको नेपालगञ्ज हुँदै दक्षिणमा भारतको रुपैडिहासम्म सडक सन्जाल जोडिन्छ । हाल मोरिम्ला नाका पुग्न सदरमुकाम दुनैबाट ६ दिन पैदल हिँड्नुपर्छ ।

सडक अवलोकन पश्चात भौतिक पूर्वाधार तथा यातायात मन्त्री महासेठले यो सडक निर्माण छिटो सम्पन्न गर्नका लागि आफूले सक्दो सहयोग गर्ने बताए ।

पर्यटन राज्यमन्त्री धनबहादुर बुढाले ब्यापारिक दृष्टिकोणले महत्वपूर्ण मोरीम्ला नाकासम्म सडक खुलेमा डोल्पाको मात्र नभइ देशकै आर्थिक विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे । यो सडकले नेपाल र भारत जोड्यो भने उत्तर-दक्षिण जोडिने नेपालकै छोटो लोकमार्गको रुपमा बिकास गर्न सकिने राज्यमन्त्री बुढाको भनाइ छ ।

राज्यमन्त्री बुढाका अनुसार मोरिम्ला नाकादेखि विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको मानवस्ती धोसम्म ६५ किलोमिटर लामो सडक निर्माण सडक बिभागले गरेको छ । त्यसैगरी दुनै-ल्यासिक्याप २५ किलोमिटर सडकको विकेन्दि्रकृत ग्रामीण पूर्वाधार तथा जीविकोपार्जन सुधार कार्यक्रम -डि्रलिप)ले ट्रयाक खुलाइसकेको छ । बाँकी ३० किलोमिटर सडक निर्माण कडा चट्टानयुक्त भएकाले अहिले २४ करोड बजेट बिनियोजन गरिएको छ । यस खण्डको डीपीआर तयार भइसकेकाले पूर्णरुपमा काम सम्पन्न गर्न करिब दुई अर्बको वजेट अनुमान गरिएको उनले बताए ।

‘यो सडकको निर्माण कार्य सम्पन्न भइसकेपछि पाँच हजार तीनसय मीटर उचाइमा गाडी गुड्ने छन् । यति धेरै उचाइमा गाडी गुडाउनका लागि पनि विश्वभरबाट धेरै जना नेपाल आउनेछन्,’ उनले भने, ‘त्यसैले यो सडक डोल्पाको आर्थिक समृद्धिको आधार हुनेछ ।’

माथिल्लो डोल्पामा सरकारको उपस्थिति लगभग शून्य छ । त्यसैले माथिल्लो डोल्पाको तिन्जेमा भन्सार राख्नका लागि पहल भइरहेको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment