Comments Add Comment

लिटरेचर फेस्टिभल पुसमा, १०० लेखक-साहित्यकार सहभागी हुँदै

काठमाडौं । नेपाल लिटरेचर फेस्टिभल आगामी पुस ७ देखि १० गतेसम्म पोखरामा हुने भएको छ ।

एक सयभन्दा बढी स्वदेशी तथा विदेशी लेखक सहभागी हुने फेस्टिभलमा तीन दर्जनभन्दा बढी सेसन सञ्चालन हुने आयोजक बुकवर्म फाउन्डेसनले जानकारी दिएको छ ।
सातौं संस्करणमा स्वदेशीसहित डा. निकोला स्ट्रिटेन (बेलायत), मोहम्मद हनिफ (पाकिस्तान), प्रज्ज्वल पराजुली (भारत), नमिता गोखले (भारत), हरिश नाम्बियर (भारत), मञ्जुश्री थापा (क्यानडा) लगायतका लेखक तथा साहित्यकार सहभागी हुने फेस्टिभल संयोजक रविन गिरीले बताए । उनका अनुसार यसपटक साहित्य महोत्सवमा नयाँ लेखक/साहित्यकार पनि वक्ता रहने छन् ।

फेस्टिभलबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै साहित्यकार खगेन्द्र संग्रौलाले साहित्य महोत्सवलाई लेखक तथा पाठकबीच प्रत्यक्ष अन्तरक्रिया गर्ने अवसरको रुपमा लिनुपर्ने बताए ।

विगतदेखि सेसन वक्ताको रुपमा सहभागी हुँदै आएका संग्रौलाले फेस्टिभलमा गैर-साहित्यिक विषयमा पनि छलफल, विचार, विमर्श हुनु सकारात्मक रहेको उल्लेख गरे ।
रेमिट्यान्स कम्पनी आइएमई ग्रुप र फाउण्डेसनबीच फेस्टिभल प्रायोजन सम्झौता भएको आयोजक संस्थाका अध्यक्ष अजित बरालले जानकारी दिए ।

सन् २०११ मा ललितपुरको झम्सिखेलबाट शुरु भएको महोत्सवको नाम यसपटक पटक ‘आइएमई नेपाल लिटरेचर फेस्टिभल’ भएको छ । २०७२ को विनासकारी भूकम्पअघिसम्म काठमाडौंमा हुँदै आएको फेस्टिभल तेस्रो पटक पोखरामा हुन लागेको हो ।

नेपाली साहित्यको प्रवर्द्धन, पठन संस्कृतिको विस्तार जस्ता उद्देश्यले आयोजना गरिएको भए पनि महोत्सवले पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याएको कार्यकारी निर्देशक निरज भारीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment