+
+
Shares

स्वास्थ्यमन्त्रीलाई डाक्टरको राजीनामा पत्र : चाकरी र घुसको रकम पुर्‍याउन सकिनँ

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर ४ गते २०:२०

४ मंसिर, काठमाडौं । वीर अस्पताल, न्यूरो सर्जरी पहिलो युनिटका प्रमुख प्रा. डा. ध्रुवराज अधिकारीले राजीनामा दिएका छन् । अधिकारीले उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई सम्बोधन गर्दै मन्त्रालयमा राजीनामा पत्र बुझाएका हुन् ।

सोमबार बुझाइएको पत्रमा ‘चाकडी र घुसको रकम पुर्‍याउन नसकेकाले राजीनामा’ दिएको उल्लेख गरिएको छ ।

अधिकारीका अनुसार वीर अस्पतालमा पद खाली रहेको र अन्य उम्मेदवार समेत छैन । तर, आफूलाई पूर्वाग्रहका साथ वीरको सट्टा अन्यत्र सरुवा गर्न खोजिएको छ । प्रा. डा. अधिकारीले अनलाइनखबरसँग भने, ‘म ६० लागिसके । अब ३/४ महिना मात्र बाँकी छ । यो बेला जनशक्ति र स्रोत साधन नै भएको ठाउँमा गएर मैले के गर्न सक्छु र ?’

आफूलाई दुःख दिने नियतले नै पोखरातिर सरुवा गर्न खोजेकाले चित्त दुखेको उनले बताए ।

राजीनामा पत्रमा चाकडी र घुस रकम पुर्‍याउन सकिन भन्नुभएको रहेछ, कसले कति मागे रकम ? भन्ने प्रश्नमा प्रा. डा. अधिकारीले भने, ‘विचौलियाहरु छन् । के कति सहयोग गर्न सक्नुहुन्छ भने । तर, मैले उनीहरुको स्वास्ता गरिनँ ।’

आफूले उपप्रधान तथा स्वास्थ्यमन्त्री यादवलाई चार पटक भेटेको सुनाउँदै अधिकारीले भने, ‘उहाँ हुन्छ पनि हुन्न, हुन्न पनि भन्नु हुन्न । तपाईको त हुनु पर्ने हो । म आफैं आश्चर्यमा परेको छु कि अहिलेसम्म किन भएन मात्र भन्नु हुन्छ ।’

अधिकारी खटाएको ठाउँमा गएनन्ः सरकार

मन्त्रालयका अधिकारीहरुले भने प्रा. डा. अधिकारी सरकारले खटाएको ठाउँमा नगएको बताएका छन् ।

वीरमा दरबन्दी खाली नभएपछि एक वर्ष अगाडि नै उनलाई गञ्डकी अञ्चल अस्पताल, पोखरामा सरुवा गरिएको थियो । तर, उनी हाजिर नै भएनन् । अटेर गरेर वीरमा बसेका कारण उनले एक वर्षको तलब समेत पाएका छैनन् ।
अहिले भने वीरमा नवौं तहको दरबन्दी खाली छ ।

स्वास्थ्य मन्त्रालयले मंगलबार नै विज्ञप्ती जारी पदस्थापन भएको कार्यालयमा एक  पटक हाजिर भएर आए वीर अस्पतालमा सरुवा गर्न नियमानुसार प्रक्रिया पुग्ने मौखिक जानकारी दिएको तर, अधिकारीले अवज्ञा गरेर राजीनामा बुझाएको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?