Comments Add Comment

के हुँदैछ नेसन्स लिगमा ? को अघि को पछि ?

४ मंसिर, काठमाडौं । युईएफए नेसन्स लिगको समूह चरणका खेलहरु लगभग सकिएका छन् । जहाँ केही टिमहरुले निकै राम्रो प्रभाव जमाए भने केही आश गरिएका टिम कमजोर देखिए ।

पोर्चुगल, इंग्ल्याण्ड, स्वीट्जरल्याण्ड र नेदरल्याण्ड अन्तिम चारमा पुगेका छन् । सबैभन्दा राम्रो उन्नति नेदरल्याण्ड टिमको नै देखिएको छ ।

युरोपियन फुटबलको प्रशासकीय निकाय युईएफमा आबद्ध देशबीच यसै वर्षबाट सुरु भएको प्रतिस्पर्धामा सबैभन्दा राम्रो प्रगति नेदरल्याण्डको देखियो । २०१६ को युरोकप र २०१८ को विश्वकप खेल्न नसकेको नेदरल्याण्डले नेसन्स लिगमा भने राम्रो खेल देखायो ।

नेदरल्याण्डले विश्वकप विजेता फ्रान्सलाई २–० ले हराएर फुटबलमा फर्किएको संकेत गर्‍यो । जर्मनीलाई २–२ को बराबरीमा रोक्दा पनि नेदरल्याण्डको खेल उत्कृष्ट नै थियो ।

ग्यारेथ साउथगेटको टिम इंग्ल्याण्डले पनि रसिया विश्वकपमा जे भएको थियो त्योभन्दा अब्बल टिम रहेको प्रमाणित गर्‍यो । स्पेन र क्रोएसिया जस्तो टिम रहेको समूहबाट अघिल्लो चरणमा पुग्न इंग्ल्याण्डले सम्हालिएको खेल देखायो ।

नेसन्स लिगमा पोर्चुगलले सबैभन्दा राम्ररी आफूलाई प्रस्तुत गर्‍यो । पोर्चुगल क्रिष्टियानो रोनाल्डो हुँदा मात्रै होइन रोनाल्डोबिना पनि अब्बल छ भनेर प्रमाणित गर्न नेसन्स लिग फलदायी भयो । इटाली र पोल्याण्डलाई पछि मात्रै अघिल्लो चरणमा पुग्दा पोर्चुगलले दुई खेल जित्यो भने एक खेल बराबरी खेल्यो ।

बेल्जियम र आइसल्याण्ड रहेको समूहबाट स्वीट्जरल्याण्ड अघिल्लो चरणमा पुग्दा सबैलाई चकित पार्ने खेल देखायो । स्वीट्जरल्याण्डले तीन खेल जितेर एक खेल हारेको थियो ।

लिग ए मा रहेका टिममा स्पेन, क्रोएसिया, फ्रान्स, बेल्जियम र जर्मनी जस्ता टिमले भने सोचेको जस्तो खेल देखाउन सकेनन् ।

युईएफएले नेसन्स लिगका लागि युरोपका ५५ वटा राष्ट्रलाई चार समूहमा विभाजन गरेको हो । जसलाई लिग नाम दिइएको छ । लिग ए मा १२ देश, लिग बी मा १२ देश, लिग सी मा १५ देश र लिग डी मा १६ देश छन् । चार वटै लिगमा चार÷चार समूह बनाएर खेलाइएका समूह चरणका खेलहरु अन्तिममा पुगेको छ ।

लिग ए को समूह एकमा नेदरल्याण्ड शीर्ष स्थानमा रहेको छ । यस्तै समूह दुईमा स्वीट्जरल्याण्ड, समूह तीनमा पोर्चुगल र समूह चारमा इंग्ल्याण्ड शीर्षमा रहेर अन्तिम चारमा पुगेका हुन् । फाइनल चरणमा पुगेका चार देशबीच जुन २०१९ मा खेल हुनेछ । जहाँ विजेताले नेसन्स लिग च्याम्पियनको उपाधि पाउने छ ।

लिग ए बाट जर्मनी, आइसल्याण्ड, पोल्याण्ड र क्रोएसिया समूहको अन्तिममा रहँदै लिग बी मा झरेका छन् ।

लिग बी बाट युक्रेन, बोस्निया र डेनमार्क अघिल्लो रचणमा पुगिसकेका छन् । स्वीडेन र रसिया मध्ये अर्को एक टिम पनि लिग ए मा पुग्ने छ ।

लि बी बाट स्लोभाकिया, टर्की, उत्तरी आयरल्याण्ड र गणतान्त्रिक आयरल्याण्ड लिग सी मा झरेका छन् ।

लि सी बाट फिनल्याण्ड र नर्वे लिग बी मा पुगिसकेका छन् भने इजरायल र स्कटल्याण्ड साथै सर्विया र रोमानियाबाट दुई टिम पनि लिग बी मा पुग्ने छन् ।

लिग सी बाट लिग डी मा झर्नेमा इस्टोनिया, साइप्रस, स्लोभानिया र लिथुआनिया रहेका छन् ।

लिग डी बाट लिग सी मा पुग्नेमा जर्जिया, बेलारुस, कोसोभो रहेका छन् । अजरबइजान र म्यासेडोनियामध्ये एक टिम पनि लिग सी मा पुग्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment