Comments Add Comment

हुसेन हत्या प्रकरणः ६ जना पक्राउ, विशेष ब्यूरो र सीआईबीको टोली पनि पुग्यो

४ मंसिर, काठमाडौं । सुनसरीको दुहबीमा व्यवसायी मोहम्मद फिदा हुसेनको गोली हानी हत्या भएको घटनामा संलग्न भएको आशंकामा ६ जना व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

भुटाहामा शिक्षक खुर्शिद आलमको हत्याबारे अनुसन्धान जारी रहेकै वेला मारिएका हुसेनको घटनामा संलग्न भएको हुनसक्ने आशंकामा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

सुनसरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) राजन अधिकारीले ‘केही व्यक्ति’लाई नियन्त्रणमा लिइएको स्वीकारे । उनले अनलाइनखबरसँग भने, ‘हामीले केही व्यक्तिलाई नियन्त्रणमा लिएका छौं । घटना सम्बन्धी सूचना आउन सक्ने भएकाले पनि नियन्त्रणमा लिएका हौं ।’

यो पनि पढ्नुहोस हुसेन हत्याको विरोधमा शवसहित प्रदर्शन, गृहमन्त्रीको राजीनामा माग

स्रोतका अनुसार पक्राउ पर्नेमा जय बाबा इँटा उद्योगका कर्मचारी र सुरक्षागार्ड छन् । हुसेन त्यही उद्योगका सुपरभाइजर थिए । एसपी अधिकारी भन्छन्, ‘हामी अनुसन्धान गरिरहेका छौं । अहिल्यै केही भन्न सकिन्न ।’

सीआईबीको टोली पनि सुनसरीमा

बारम्बार विवादमा मुछिरहेको प्रहरीले यो घटनामा भने प्रारम्भदेखि नै सावधानी अपनाएको छ । दिउँसै प्रहरी प्रधान कार्यालयबाट निर्देशन भएअनुरुप नेपाल प्रहरीको गुप्तचर निकाय विशेष ब्यूरो र केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को दुर्इ वटा टोली सुनसरी पुगिसकेको छ ।

अपराध अनुसन्धान विभाग मातहत रहेको बिशेष ब्यूरोबाट वरिष्ठ उपरीक्षक (एसएसपी) मसउँद आलम खाँको नेतृत्वमा टोली सुनसरी गएको छ भने सीअार्इबीका प्रहरी नायब उपरीक्षक (डीएसपी) हिराबहादुर पाण्डे र अर्का एक जना प्रहरी निरीक्षकको गरी दुई जनाको टोली सुनसरी पुगेको छ। उनीहरुले घटनाको अनुसन्धानमा जिल्ला प्रहरी कार्यालयलाई प्राविधिकसहित थप आवश्यक सहयोग गर्नेछन् ।

एसएसपी खाँ एसपी हुँदा सुनसरीमै बसेका थिए ।

यो पनि पढ्नुहोस सुनसरीका खुर्सिदको हत्यामा भारतीय सुरक्षाकर्मीको संलग्नता ?

भारतीय प्रति आतंकवाद सेलसँग मिल्दोजुल्दो शैलीमा खुर्शिदको हत्या भएपछि सशंकित स्थानीय प्रहरी बुधबार बिहानै अर्को हत्याको घटना सार्वजनिक भएपछि झस्किएको थियो । तर, खुर्शिद घटनाको मोडस अपरान्डी (अपराध शैली) हुसेन हत्यासँग नमिल्ने प्रहरी अधिकारीहरू बताउँछन् । अहिलेसम्म खुर्शिदको जस्तो हत्या गर्नु पर्ने उद्देश्य पनि नदेखिएको अनुसन्धानमा संलग्न अधिकारीहरु बताउँछन् ।

हुसेदको लेनदेन सम्बन्धी विवादबारे समेत प्रहरीले जानकारी पाएको छ, जसलाई प्रमाणले पुष्टि गर्ने प्रयासमा प्रहरी अधिकारीहरु जुटेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment