Comments Add Comment

श्रृङ्खलाले लगाएको गाउनमा कसरी भयो ब्लन्डर ?

६ मंसिर, काठमाडौं । मिस वर्ल्ड प्रतियोगिताको ६८ औं संस्करण चीनमा आयोजना भइरहँदा नेपालीहरुको ध्यान मिस नेपाल श्रृङ्खला खतिवडामा केन्द्रित छ । विगतका नेपाली प्रतिस्पर्धीहरुको तुलनामा उनीबाट बढी आशा गरिएको छ ।

८ डिसेम्बरमा हुने मुख्य प्रतियोगिता अगाडि केही फास्ट ट्रयाक इभेन्टहरु हुन्छन् । यसमा जित्नेहरु सिधै क्वर्टरफाइनल (टप ३०) मा पुग्छन् । जसमध्ये टप मोडल कम्पिटिसन र बेस्ट डिजाइनर कम्पिटिसन भइसकेका छन् । मल्टिमिडिया, एड टु हेड च्यालेन्ज र ब्यूटी विथ प्रपोज जारी रहेको छ ।

सर्वोत्कृष्ट मोडेलको उपाधि फ्रान्सकी सुन्दरी माइभा कोउकेले जितेकी छन् । यससँगै उनी टप ३० मा प्रवेश गर्ने पहिलो प्रतियोगी बनिन् । यस प्रतिस्पर्धामा नेपालकी श्रृङ्खला १ सय २१ जना प्रतिस्पर्धीमाझ टप ३० सम्म पुगिन् । यसमा उनी सन्तुष्ट देखिएकी छन् ।

यो पनि पढ्नुहोस मिस वर्ल्डको भोटिङमा अग्रता लिँदै श्रृंखला, मल्टिमिडिया अवार्डकी दाबेदार

श्रृङ्खलाले फेसबुकमा लेखेकी छन्, ‘र्‍याम्प मोडलिङ मेरो कमजोरी थियो, तर पनि टप ३० मा स्थान बनाउन पाउँदा म रोमाञ्चित भएकी छु ।’

यसअघि भएको बेस्ट डिजाइनरमा भने उनको सुखद अनुभव भएन । आफूले लगाएको गाउनमा ‘टेक्निकल ब्लन्डर’ हुन पुगेको श्रृङ्खलाको भनाइ छ । यो गाउन मनिष राईले डिजाइन गरेका थिए ।

उनले गाउनमा भएको गल्तीको बारेमा यसरी प्रष्टिकरण दिएकी छन् :

‘मैले चाँदी र मोतीको बुट्टा कुँदिएको न्यूड पिंक कलरको गाउन लगाएकी थिएँ, जुन तिघ्रामा चिरिएको थियो । पछाडिको भागलाई सलले सिंगारेको थियो । मनिष राईले यति राम्रो गाउन बनाउन प्रशस्त समय र प्रयास खर्चिएका थिए । खासगरी पछाडिको भाग मलाई मन परेको थियो । तर, नसोचेको प्राविधिक गल्ती भयो ।

म यो ड्रेस लगाएर राम्ररी हिँड्न सकिनँ । म कुनै अनुभवी र्‍याम्प मोडल त होइन, तर यो गाउनमा धेरै अभ्यास गरेकी थिएँ । तर, समस्या यो भयो कि कपडा एकदम हलुंगो थियो भने बुट्टा निकै भारी थियो । चीन आउनुभन्दा अगाडि ट्रायल गर्दा यसको लम्बाई छोटो थियो । हामी यसको फेदमा अरु केही लाइन बुट्टाहरु थप्यौं, जसले गर्दा यो झन् भारी भयो ।

मुख्य ब्लन्डर के भयो भने यसमा जडित मोती तथा अन्य सजावटहरु एक अर्कामा जकडिन सक्छन् भन्ने हामीले ख्याल गरेनौं । चिरिएको भागको पछाडिपट्टि कपडा निकै हलुंगो भयो जुन सलमा रहेका बुट्टाहरुसँग जेलियो । यसले गर्दा म र्‍याम्पमा राम्ररी हिँड्न सकिनँ । अभ्यास गर्दा म बिस्तारै आरामले हिँडेकी थिएँ । तर, र्‍याम्पमा हाम्रो कोरियोग्राफी फास्ट थियो । पछाडिको सल अल्झिएर मलाई हिँड्न असुविधा भयो ।’

तर डिजाइनर आफैंमा छुट्टै प्रतिस्पर्धा भएकाले यसमा बिग्रदा समग्र प्रतियोगितामा असर नगर्ने श्रृङ्खलाले स्पष्ट पारेकी छन् । उनका अनुसार बेस्ट डिजाइनरको विजेता टप ३० मा पुग्ने व्यवस्था छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment