६ मंसिर काठमाडौं । केही साताअघि नेपाली मिडियामा समाचार आएको थियो, प्रधानमन्त्रीले आफ्नै कार्यकक्षमा बसेर विभिन्न मन्त्रीहरुको कार्यसम्पादन जाँचिरहेका छन् ।
हरेक मन्त्रालयको कार्यप्रगतिबारे प्रधानमन्त्रीले आफ्नै आइप्याड वा कम्प्युटरमा हेर्न मिल्ने गरी प्रधानमन्त्री कार्यालयले सफ्टवेयर बनाएको छ ।
प्रधानमन्त्री ओलीले हिजो बुधबार सिंहदरबारमा विभिन्न मन्त्रालयका मन्त्री र सचिवहरुलाई बोलाएर कामलाई गति दिन निर्देशन दिए । साथै प्रधानमन्त्रीले हरेक मन्त्रालयबाट भरिएको कार्यप्रगति विवरण आफ्नो आइप्याडबाटै हेरे । मन्त्रालयले भरेको फारममा जहाँ काम भएको थिएन, त्यसमा रातो संकेत देखिने गरेको र त्यसमाथि प्रधानमन्त्रीले प्रश्न उठाएको एक मन्त्रीले बताए ।
प्रधानमन्त्रीसँग प्रस्तुत भएका एक मन्त्रीले अनलाइनखबरसँग भने– ‘जस्तो कुनै मन्त्रालयले पुँजीगत खर्च नगरेको भए त्यसमा रातो संकेत देखिने सफ्टवेयर बनेको छ, त्यो हेरेर प्रधानमन्त्रीले यसमा किन प्रगति भएन भनेर प्रश्न सोध्नुभयो ।’
प्रधानमन्त्रीको प्रहार मन्त्रीमाथि कि कर्मचारीमाथि ?
प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबारको ४ महिने कामको समीक्षासम्बन्धी बैठकमा मन्त्रालयहरुको काम प्रभावकारी नभएको गुनासो पोखेका थिए । काम किन भएन ? के कारणले हुन सकेन ? त्यसको खोजी गर्नुपर्ने भन्दै प्रधानमन्त्रीले कर्मचारी संयन्त्रले सरकारलाई सहयोग गर्नुपर्ने बताएका थिए ।
मन्त्रालयले गर्नुपर्ने काम के हो भन्ने बजेटमै स्पष्ट भएको बताउँदै त्यसलाई कार्यान्वयन गर्नतिर लाग्नुपर्ने प्रधानमन्त्रीको भनाइ थियो । बजेटले निर्दिष्ट गरेको काम नगरी अरु बजेट माग्ने काम कृषि मन्त्रालयलगायतले गरिरहेको स्रोतले बतायो ।
विभिन्न मन्त्रालयका बैठक र छलफलहरु कार्यालय बाहिर होटलहरुमा गर्ने र बजेट सक्ने काम भइरहेको भन्दै प्रधानमन्त्री ओलीले मितव्ययिता अपनाउनसमेत निर्देशन दिएका थिए ।
प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई सचिवसँगै राखेर कामको प्रगतिबारे बताइरहँदा कर्मचारीसामु आफूहरुलाई अपमानित गर्ने काम भएको भनेर गुनासो गर्ने मन्त्रीहरु पनि छन् । तर, बुधबारको बैठकमा प्रधानमन्त्रीले मन्त्रीलाई नभई सचिवहरुलाई बढी आलोचना गरेको ओलीनिकट मन्त्रीहरुको तर्क छ । प्रधानमन्त्रीले मन्त्रीहरुको काममा सघाउन कर्मचारीलाई निर्देशन दिएको स्रोतले बतायो ।
सरकारको काम किन प्रधावकारी भएन भनेर प्रधानमन्त्री ओली चिन्तित देखिएको र जनतामा सरकारले काम गरेन भन्ने मनोविज्ञान निर्माण हुन दिन नहुनेमा उनले जोड दिएको समीक्षा बैठकमा सहभागी एक मन्त्रीको भनाइ छ ।
प्रतिक्रिया 4