Comments Add Comment

विकासे अवरोध हटाउन मुख्यमन्त्री गुरुङले बनाए ‘वार रुम’

६ मंसिर, पोखरा । बेलायती प्रधानमन्त्री विन्सट्न चर्चिलले दोस्रो विश्व युद्धलाई प्रभावकारी बनाउन ‘वार रुम’को परिकल्पना गरेका थिए । चर्चिलले ल्याएको ‘वार रुम’ अवधारणा युद्धका लागि थियो । अहिले भने विकास निर्माणका क्रममा आउने अवरोध हटाउन यो शैली अपनाइएको छ ।

एउटा कोठाभित्रबाट ठूलो आयोजनाको निगरानी र अवस्थाबारे जानकारी लिन्छन् । गण्डकी प्रदेशका त्यस्ता ठूला आयोजना त छैनन् तर, विकास निर्माणका आयोजनाहरुको निगरानी र अनुगमन र त्यसको अवरोध हटाउन ‘वार रुम’ शैलीकै प्रविधि अपनाउन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ अघि सरेका छन् ।

गण्डकी प्रदेशले नीति तथा कार्यक्रममै ‘वार रुम’ शैली अपनाउने सार्वजनिक गरेको थियो । प्रादेशिक आयोजनाको निगरानी, अनुगमन र तत्काल समस्या समाधान गर्नुपर्ने विषय तथा दैविक प्रकोपका बेला प्रयोग गर्ने गरी प्रदेश सरकारले ‘वार रुम’को अवधारणा अघि सारेको हो । यसको नाम वार रुम नै राख्ने वा अरु नै राख्ने भन्ने विषय भने अझै टुंगो लागेको छैन ।

‘प्रदेशको पहिलो नीति तथा कार्यक्रममै वार रुम खडा गर्ने कुरा सामावेश गरेका थियौं । प्रदेशका गौरवका आयोजनाको निगरानी, अनुगमन र तत्काल समस्या समाधान गर्नुपर्ने विषयलाई वार रुममार्फत समाधान गर्ने योजना छ’ मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले भने, ‘विकास आयोजनादेखि प्रदेश प्रहरी, प्रशासनसम्म यो नेटवर्कमा हुनुपर्छ ताकी तत्काल समस्या समाधान गर्न सजिलो होस् ।’

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा युद्धस्तरमा काम गर्ने गरी यस्तो खालको कोठा तयार पार्ने र विकासको अवरोधले हटाउने योजना प्रदेश सरकारको छ ।
‘प्रदेश सरकार नयाँ पनि छ र युद्धस्तरमा विकास निर्माणको कामलाई कार्यान्वयन गर्नुपर्छ’ गुरुङले भने, ‘प्रदेशमा वार रुम वा यस्तै प्रकारको युद्धस्तरमा काम गर्ने एउटा निकाय खडा गरेर जानुपर्छ भन्ने पहिल्यैदेखि लागिरहेको हो ।’

गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले बिहीबार सातै मन्त्री, मन्त्रालयका सचिव लगायतको उपस्थितिमा यो अवधारणा सार्वजनिक गरेको छ ।
प्रदेशमा वार रुप सञ्चालन गर्न मुख्यमन्त्री गुरुङले युएनडीपीको सहयोग मागेका थिए । युएनडिपी प्रतिनिधि सन्दीप अर्यालले ‘वार रुम’ कसरी सुरु गर्ने, त्यसको जटिलता केके हुन्छन् र केके यसमा समावेश गर्न सकिन्छ भन्ने जानकारी गराए ।

‘यो डिजिटल प्रविधि हो । मुख्यमन्त्री कार्यालयको एउटा कोठाबाटै प्रादेशिक आयोजनाको निगरानी, अनुगमनदेखि तत्काल पर्ने समस्याको समाधान गर्न सकिन्छ’ अफ्रिकामा प्रादेशिकस्तरमा सञ्चालित वार रुमको उदाहरण दिँदै अर्यालले भने, ‘सूचना प्रविधिको प्रयोग गरेर अधिकतम् प्रयोग लिन सकिन्छ ।’

प्रदेश सरकारले १ करोड खर्चमा संरचनासहित वार रुम सञ्चालनमा ल्याउन सक्ने अर्यालले भनाइ थियो । यस्तो रुम सञ्चालनमा आएपछि मुख्यमन्त्रीले प्रादेशिक आयोजनाको निगरानी, अनुगमन गरी तत्काल निर्देशन दिन सक्नेछन् ।

वार रुमबाटै मुख्यमन्त्रीले सबै मन्त्रीसँग भिडियो बैठक र छलफल गरेर तत्काल निर्णण लिन सक्न्ेछन् । ‘भूकम्प आइहाल्यो, वा ठूलो दैविक प्रकोप आइहाल्यो भने मुख्यमन्त्री गुरुङले कार्यालयबाटै अवस्थाबारे अपडेट भएर निर्देशक दिन सक्छन्’ अर्यालले भने, ‘वार रुम सञ्चालनमा ल्याउन प्रयोग गरिने सफ्टवेयरमा थुप्रै फिचर्सहरु हुन्छन् । केके प्रयोग गर्ने भन्ने आफैंले तय गर्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment