Comments Add Comment

विप्लव समूहमा विवाद चर्कियो

७ मंसिर, काठमाडौं । रत्नपार्कस्थित शान्तिबाटिकामा शनिबार आमसभा गर्ने घोषणा गरेको नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको समूहभित्र विवाद चर्किएको छ । आमसभाको मुखैमा पार्टीभित्रको झगडा बाहिर छताछुल्ल भएको छ ।

पार्टीको आमसभाबारे एउटा समूहले प्रचार–प्रसार गर्दै हिँडेको छ भने अर्को समूहले चाहिँ उनीहरुको कुरा नपत्याउन र भ्रममा नपर्न भन्दै अर्को विज्ञप्ति जारी गरेको छ ।

टेलिभिजनमा लाइभ गर्ने ‘सहमति’

विप्लवनिकट क्रान्तिकारी पत्रकार संगठनका केन्द्रीय उपाध्यक्ष जन्मदेव जैसीको नेतृत्वमा एक टोली दुई दिनअघि काठमाडौंस्थित एक मिडिया हाउसमा पुग्यो । त्यहाँ उनीहरुको टोलीले पत्रिका र टेलिभिजनका सञ्चालक र सम्पादकसँग छलफल गरे । टेलिभिजनमा मंसिर ८ गते हुने आमसभाको लाइभ प्रसारण गर्न उनीहरुले मिडियाका सञ्चालकलाई आग्रह गरे ।

सो भेटपछि आमसभाको प्रत्यक्ष प्रसारण गर्ने सहमति भएको भन्दै भिडियोसहितको समाचार केही मिडियामा आयो, जसमा उक्त मिडिया हाउसका सम्पादक र सञ्चालकलाई समेत देखाइएको थियो ।

विप्लवसमर्थित क्रान्तिकारी पत्रकार संगठनका उपाध्यक्ष जैसी र महासचिव बाबुराम भुसालको संयुक्त हस्ताक्षरमा जारी विज्ञप्ति अनुसार मंगलबार काठमाडौंमा केन्द्रीय कमिटीको बैठक बसेको थियो । र, सोही बैठकले राजधानीमा रहेका विभिन्न मिडियाको कार्यालयमा गएर आमसभाको र समाचार ‘कभरेज’का लागि अनुरोध गर्ने निर्णय गरेको थियो ।

बैठकको निर्णयमा भनिएको छ– ‘पार्टी पुनर्गठनको पाँचौं दिवस पारेर नेपाल कम्युनिस्ट पार्टीले यही मंसिर ८ गते गर्न लागिरहेको विशाल जनप्रदर्शन र जनसभालाई भव्यतापूर्वक सफल बनाउन प्रचार प्रसारका लागि प्रभावकारी भूमिका खेल्ने निर्णय गरिएको छ ।’

‘संगठनको नाम बेच्नेसँग सतर्क रहनुहोला’

यसैवीच विप्लव समूहको अर्को पक्षले रिपोर्टस क्बलमा पत्रकार सम्मेलनको आयोजना ग¥यो । सो पत्रकार सम्मलेनमा प्रस्तुत भएका पार्टीका केन्द्रीय सदस्य चिरन पुन (मिलन) ले आमसभा सफल पार्न मुठ्ठी कसेर आग्रह गरे ।

तर, आमसभा सफल पार्न आग्रह गरेलगत्तै क्रान्तिकारी पत्रकार संगठनका नाममा अर्को विज्ञप्ति निकालियो । अध्यक्ष प्रकाश डुम्रे र महासचिव हिम विष्टको हस्ताक्षरमा निकालिएको सो विज्ञप्तिमा आमसभाको टेलिभिजन लाइभ गर्ने सहमतिलाई ‘अराजकहरुले गरेको भ्रमपूर्ण प्रचारवाजी’ भनिएको छ ।

डुम्रे र विष्टको विज्ञप्तिमा भनिएको छ– ‘पार्टीले नै प्रचार प्रसार उपसमिति गठन गरेर केन्द्रीय सदस्य चिरन पुन मिलनको संयोजकत्वमा काम गरिरहेको छ । मिडियाहरुसँग सहकार्य गर्ने विषयमा उपसमितिले नै काम गरिरहेको अवस्थामा यस संगठनको नाम बेचेर केही व्यक्तिले भ्रम छर्ने प्रयास गरिरहेको भन्ने सूचना आएकाले सचेत रहन सबैलाई आग्रह गर्दछौं ।’

हेर्नुहोस् दुबै पक्षका विज्ञप्ति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment