Comments Add Comment

घुम्ती शिविरबाट ७ सयले पाए नागरिकता

९ मंसिर, डोटी । डोटीको बोगटान गाउँपालिकामा शुत्रबारदेखि सञ्चालन भएको तीन दिने एकीकृत घुम्ती शिविरबाट सात सय ३३ जनाले नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेका छन् ।

बोगटान गाउँपालिकाको पहलमा जिल्ला प्रशासन कार्यालय डोटीले सञ्चालन गरेको एकीकृत घुम्ती शिविरबाट सो संख्यामा नागरिकता वितरण भएको डोटीका सहायक प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिए । शिविरमा चार सय जनाले फोटोसहितको मतदाता नामावलीका लागि आफ्नो नाम दर्ता गराएको समेत पौडेलले बताए ।

शिविरमा राखिएको स्वास्थ्य परीक्षण क्याम्पमा एक सय ३१ जनाको स्वास्थ्य चेकजाँच गराए । यस्तै, दुई सय २५ पशु स्वास्थ्य सेवा सम्बन्धिका सेवाहरु प्रदान गरिएको बोगटान गाउँपालिकाका अध्यक्ष कमलबहादुर गड्सिलाले बताए ।

शुक्रवार र शनिवारका लागि तय गरिएको उक्त शिविरमा सेवाग्राहीको चाप बढेपछि आइतबारका लागि थप गरिएको थियो । जिल्ला प्रशासन कार्यालय डोटीको तथ्याङ्क अनुसार हालसम्म सञ्चालन गरिएका शिविरहरुमध्ये यति ठूलो संख्यामा नागरिकता बितरण भएको यो पहिलो शिविर हो ।

नागरिकता लिनेहरुमा रोजगारीको सिलसिलामा भारत गएका पुरुष र गाउँमै बस्ने महिलाहरु रहेका छन् । मेलापर्बको समयमा घर आएकाले सहज रुपमा नागरिकता प्राप्त गरुन भन्ने उद्देश्यले यो शिविर सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष गड्सिलाले बताए ।

शुक्रबार डोटीका प्रमुख जिल्ला अधिकारी यादब सुवेदीले बोगटान गाउँपालिका-४ सातफरीका ७० वर्षीय भीम दमाईलाई नागरिकता हस्तान्तरण गर्दै शिविरको उद्घाटन गरेका थिए । स्थानीय तहको पुनर्संरचनापछि डोटीमा यो पहिलो घुम्ती शिविर हो ।

बोगटान गाउँपालिकाको केन्द्रबाट जिल्ला सदरमुकाम आउन ५६ किलोमिटर कच्ची बाटोको यात्रा पार गर्नु पर्ने हुन्छ । नागरिकताका लागि मात्रै जिल्ला सदरमुकाम आउँदा आफू र सनाखत बस्नेको खर्च जोड्दा करिब १० हजार पुग्ने गरेको स्थानीयहरु बताउँछन् ।

गाउँपालिकामै नागरिकता पाएपछि स्थानीय खुसी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment