Comments Add Comment

किन मान्छेले अरुको कुरा काट्छन् ?

‘कुरा काट्नु’ चलनचल्तीको यो भाषाले कसैको अनुपस्थितीमा उनको नराम्रो कुरा गर्नु भन्ने जाउँछ । यो एक व्यक्तिगत प्रवृत्ति हो । अक्सर मान्छेमा यस किसिमको प्रवृत्ति हुन्छ । जब साथीभाई, आफन्त, सहकर्मी भेटघाट हुन्छ, उनीहरु आपसमा त्यही व्यक्तिको कुरा गर्छन्, जो त्यहाँ उपस्थित भएका हुँदैनन् ।

यसरी अरुको कुरा गरिरहँदा उनको सवल पक्ष, राम्रो पक्ष, सफलता, प्रगति, क्षमता आदिको कुरा विरलै हुन्छ । बरु, उनको कमजोर पक्ष खोतलिन्छ । उनको विफलताबारे चर्चा गरिन्छ । उनको गल्ती-कमजोरीबारे वहस गरिन्छ ।

आखिर यसबाट के लाभ मिल्छ ? यसरी कुरा काट्नुको आशय के हो ?

जब हामी अरुको कुरा काटिरहेका हुन्छौं, तब उनले ति कुराहरुमा सुधार गरोस् भन्ने ध्येय राखिन्छ ? वा उसले आफ्ना गल्ती-कमजोरी महसुष गरोस् भन्ने चाह राखिन्छ ?

बेकारका बात 

हामी जसको कुरा काटिरहेका हुन्छौं, उक्त व्यक्तिलाई ति कुराको कुनै जानकारी हुँदैन । किनभने उसले ति कुरा सुनेकै हुँदैनन् । कुन साथीले के भन्छन्, के भनिरहेका छन् भन्ने कुरामा अनभिज्ञ हुन्छन् । जब लक्षित व्यक्तिलाई उनको बारेमा गरिएको नकारात्मक टिप्पणी थाहा हुँदैन भने उसको कुरा काट्नुको अर्थ के ?

वास्तवमा सबैलाई थाहा हुन्छ कि यदि हामीले कसैको कुरा काट्छौ भने, त्यसबारे सम्बन्धित व्यक्ति वेखबर हुन्छ । हामी पनि त त्यही चाहन्छौ, उनले आफ्नो कुरा काटेको भेउ नपाओस् । हामी जुन व्यक्तिको कुरा गर्छौ, त्यही व्यक्ति ति सब कुराबाट बेखबर रहन्छ भने यसको प्रतिफल के त ?

यो प्रश्नमा नै हामीले उत्तर खोज्नुपर्छ ।

मनोविकार

सामान्यत अरुको कुरा काट्नुको कुनै अर्थ र फाइदा छैन । त्यसले केवल समयको वर्वाद गर्छ । तर, अरुको कुरा काट्ने हाम्रो प्रवृत्ति छ । कुरा काट्दा रमाइलो अनुभूत गर्न सक्छौं । यो एक मनोवैज्ञानिक समस्या हो ।

अक्सर मानिस अरुको कमीकमजोरी, नकारात्मक पक्ष खोतलेर आनन्दित हुन्छ भने त्यो उसको मनोवैज्ञानिक समस्या हो । मनोविज्ञहरु यसै भन्छन् । उनीहरु के पनि भन्छन् भने, ‘मान्छेले अरुको गल्ती-कमजोरीको चर्चा गरेर आफु राम्रो भएको देखाउने यत्न गर्छ । आफुभित्र दविएको ग्लानी पखाल्ने मेलो हो यो ।’

मान्छेले यसरी अरुको गल्ती खोतलेर, कमजोरीको चर्चा गरेर त्यसबेला आनन्द लिन्छ, जब आफुमा त्यस व्यक्तिप्रति इष्र्या, क्रोध, गुनासो रहन्छ । यसको अर्थ मनभित्र गुम्सिएको कुण्ठा पोख्न मान्छेले अरुको कुरा गर्छन् ।

अरुको नकारात्मक कुरा गरिरहँदा मान्छेलाई आफु राम्रो छु भन्ने भ्रम रहन्छ । यही भ्रमले उसलाई क्षणिक रुपमा भएपनि सन्तोष दिलाउँछ ।

अरुलाई होच्याएर खुसी हुने भ्रम

आफु कमजोर भएमा, आफु असफल भएमा त्यसलाई ढाकछोप गर्न पनि मान्छेले अरुलाई होच्याउँने चेष्टा गर्छन् । अरुलाई बामपुड्को देखाएर आफु अग्लो अनुभूत गर्ने यो प्रवृत्ति अधिकांश मानिससँग हुन्छ ।

यद्यपी कतिले यो मानसिक विकारलाई पाल्दैनन् । मनको शुद्धिकरण गर्छन् । कतिपयले भने यसलाई पाल्छन् । हुर्काउँछन् । यस्ता व्यक्तिहरु अरुको कुरा काट्न निकै जाँगर चलाउँछन् । अरुको नकारात्मक टिका-टिप्पणी गर्न उक्सिन्छन् । र, यसरी अरुको कुरा काटिरहँदा अपार आनन्द अनुभूत गरिरहेका हुन्छन् ।

अरुको आङको जुम्रा

हामी अक्सर के भन्छौं भने, ‘फलानो यस्तो, फलानो उस्तो ।’ हामी भन्छौं, ‘फलानोले यसो गर्न सकेन, उसो गर्न सकेन ।’ अरुको कमी कमजोरी, दुर्बल पक्ष, खराब आनीबानीबारे हामी यति धेरै चासो राख्छौं कि, त्यती हामी आफ्नै बारेपनि चासो राख्दैनौ ।

नेपालीमा एउटा भनाई छ, ‘अरुको आङमा जुम्रा हिँडेको देख्ने, आफ्नो आङमा भैसी पनि नदेख्ने ।’ ठ्याक्कै यही प्रवृत्ति हुन्छ हाम्रो । अरुको सानो भन्दा सानो गल्ती, कमजोरी खोतल्न हामी निकै जाँगर चलाउँछौं । उक्सन्छौं । जबकी आफ्नो कमी-कमजोरी के छन् ? आफुले के गल्ती गरिएको छ ? आफ्नो खराब पक्ष के छन् ? यावत् कुराबारे हामी सायदै चासो लिन्छौं ।

असामाजिक र अमानविय प्रवृत्ति

यो प्रवृत्ति वास्तवमा निकै भयानक हो । यसले मान्छेको व्यक्तित्व विकासमा सोझै बाधा पुर्‍याउँछ । कुनै व्यक्ति अरुको कुरा काट्न माहिर छ भने, उक्त व्यक्ति कुनै सम्मानित स्थानमा कसरी रहन सक्छ ?

प्रगति गर्ने, उन्नती गर्ने, सफलता हासिल गर्ने मान्छेहरुले यहि विकार पन्छाएर अगाडि बढेका हुन्छन् । उनीहरु अरुको कुरा काटेर समय वर्वाद गर्दैनन् । साथै आफ्नो व्यक्तित्वको क्षय गर्दैनन् । अरुले आफ्नो कुरा काटोस् वा नकाटोस् त्यसबारे पनि मतलब गर्दैनन् । किनभने हरेकको जवाफ दिदै हिँड्न सकिदैन । भनिन्छ नि, गुनासो गर्नेहरुले स्वर्गमा राखे पनि गुनासो गर्न छाड्दैनन् । यो एक प्रवृत्ति हो । स्थान परिवर्तन गर्दैमा प्रवृत्ति परिवर्तन हुँदैन ।

अर्कालाई मान्छेले होच्याउँछ, नराम्रो कुरा गर्छ । र, त्यसमा आनन्द अनुभूत गर्छ । यसले के स्पष्ट पार्छ भने उनीभित्र दबिएको ग्लानी, पीर, कुण्ठा प्रकट भएको हो । अरुलाई होच्याएर आफु अग्लो छु भन्ने कुराले आफैलाई भ्रमित बनाएको हो ।

अर्काको कुरा काट्नु जायज वा राम्रो हुँदै होइन । तर, यो मानविय स्वभाव हो । यसलाई पूर्ण रुपले हटाउन सकिन्छ भन्ने छैन । कसैको चियोचर्चा गर्नु भनेको अर्काको निजत्वमाथि दख्खल पुर्‍याउनु पनि हो, जो एकदमै गलत कुरा हो ।

यो गलत मात्र होइन, अवैधानिक र असभ्यता पनि हो । हामीलाई थाहा हुँदैन कि, उक्त व्यक्ति कस्तो परिस्थितीमा छन् । उसले के, किन गरिरहेका छन् ? हामी त केवल आफ्नो आनन्दको लागि उसको बारेमा मनगढन्ते कुरा गरेर रमाइरहेका हुन्छौं । यो शिष्टचार बिरुद्ध पनि हो ।

जसरी हामीलाई लाग्छ कि, आफ्नो निजी जीवनमाथि आफ्नो हक छ । त्यसैगरी अर्काको निजी जीवनबारे गलत चियोचर्चा गर्नु, गलत प्रचार गर्नु हाम्रो अधिकार होइन । हामी आफ्नो सीमा, कर्तव्य, मर्यादा भुल्छौं र अर्काको कुरा काट्छौं ।

यदि हाम्रो कुनैपनि कृत्यले अर्काको मान-सम्मान, स्वतन्त्रता, मर्यादामा ठेस पुर्‍याउँछ भने त्यो अपराध हो । पाप हो । अमानविय प्रवृत्ति हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment