
काठमाडौं । विश्व फेसनको महाकुम्भ ‘मेट गाला २०२५’ नेपाली समयानुसार मंगलबार बिहान न्यूयोर्कमा सम्पन्न भयो । यसवर्षको फेसन मेला विभिन्न कारणले चर्चामा रह्यो । नेपालीमूलका अमेरिकी फेसन डिजाइनर प्रबल गुरुङ आकर्षणको केन्द्रमा रहे ।
उनको डिजाइनमा पपस्टार सकिरादेखि बलिउड गायक तथा अभिनेता दिलजित दोसांझसम्म सजिए । गायिका सकिरा गुलाबी रङ्को डिजाइनमा सजिएकी थिइन् । भारतीय गायक तथा अभिनेता दिलजीत दोसांझले प्रबलको डिजाइनमा मेटगालामा डेब्यु गरे ।
नाइजेरियाली लेखिका चिमामान्डा न्गोजी रातो रङ्को सुन्दर गाउनमा प्रस्तुत भइन् । अमेरिकी गायिका निकोल शेरजिङ्गरले गुरुङले डिजाइन गरेको गाउन लगाएकी थिइन्, जसमा चम्किलो पिनस्ट्राइप र ठूलो कालो केप थियो ।
अमेरिकी अभिनेत्री टेस्सा लिन थम्पसन पनि प्रबलले डिजाइन गरेको सेतो र कालो रंगको निकै डिजाइनर कपडामा सजिएकी थिइन् । प्रबलले नै डिजाइन गरेको कपडामा अमेरिकी टप मोडल प्रिसियस ली पनि प्रस्तुत भएकी थिइन्।
प्रबलले सामजिक संजालमा आफ्नो डिजाइनमा ‘मेट गाला’मा प्रस्तुत भएका फोटो र भिडियो सेयर गरेका थिए । उनले प्रियंका चोपडा र उनका पति निक जोनससँगको फोटो पनि सेयर गरेका छन् । यसवर्ष प्रबलको डिजाइनमा ६ जना सेलिब्रेटी प्रस्तुत भए ।
प्रतिक्रिया 4