Comments Add Comment

बहस : काठमाडौंको सडक धुने कि धुलोको स्रोत थुन्ने ?

मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार कतै नदेखिएको भनेर टिप्पणी गर्नेहरुलाई जवाफ दिने क्रममा भने, ‘काठमाडौंको सडक सफा गरिन्छ, पखालिन्छ, त्यहाँ देखिन्छ सरकार ।’

प्रधानमन्त्रीले यसो भनेको केही दिनअघि एउटा तस्वीर सामाजिक सञ्जालमा निकै प्रचार गरिएको थियो, जसमा काठमाडौं महानगरपालिकाले सडकको धुलो हटाउन ब्रमुर लगाइएको थियो भने सडक पेटीहरु पानीले पखालिएको थियो । यही तस्वीरलाई आधार बनाएर प्रधानमन्त्रीको अभिव्यक्ति आएको देखिन्छ ।

महानगरका अधिकारीहरुकाअनुसार यो कुनै नयाँ कदम भने होइन । यसअघि पनि महानगरले बेलाबेलामा ट्यांकरका ट्यांकर पानी प्रयोग गरेर सडक धोएको थियो ।

पिउने पानीकै हाहाकार रहेको कामाठडौंमा सडक पानीले धोएर सफा बनाउन सजिलो छैन । कतिपयले मेलम्चीको पानी आएपछि धोइन्छ भनेको हुनसक्ने विश्लेषण पनि गरेका छन् । के साँच्चिकै काठमाडौंको धुलो पखालेर साध्ये छ ? हामीले पूर्व खानेपानी सचिव भीमप्रसाद उपाध्यायलाई सोध्यौं :

उपाध्यायको भनाइको सम्पादित अ‌ंश :

काठमाडौंको सतहमा मात्रै हैन, हावामै धुलो छ । दिनदिनै सफा गरेर झ्याल–ढोका बन्द गरेर राख्दा पनि हाम्रो घर र कोठा धुलोमय हुन्छ । त्यसैले काठमाडौंको सडक पखालेर नागरिकले राहत पाउँदैनन् ।

सरकारले त धुलो नियन्त्रणको कार्ययोजना बनाउने हो । त्यसका लागि सके विदेशी विज्ञ र नेपाली दक्ष प्राविधिकहरुको सहयोग लिनुपर्ने हुन्छ ।

काठमाडौंको भुगोल विशिष्ट छ । कचौरा जस्तो बनोटको उपत्यकामा धुलो पसेपछि निक्लनै गाह्रो पर्छ । त्यसैले स्रोतमै धुलो रोक्ने र कम गर्ने नीतिहरु लिने काम सरकार हो । त्यसका लागि पहल, प्रयास र काम गर्ने हो । सडक पखालेर धुलो नियन्त्रण हुन्छ भन्ने सोच सबैभन्दा पहिला त्याग्नुपर्छ । पखाल्दा राम्रै हुन्छ, राम्रै देखिन्छ । तर, त्यो कति टिकाउ हुन्छ ?

मेलम्ची आएपछि त्यसैको पानीले सडक पखाल्ने गफहरु कतिपय जिम्मेवार व्यक्तिहरुबाटै पनि सुनिन्छन् । यो झन् हावा कुरा हो । अहिलेको तयारी अनुसार यो अन्तर्राष्ट्रियस्तरको पिउन योग्य पानी हुनेछ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले तोकेको मापदण्डमा रहेर मेलम्चीको पानीलाई सुन्दरीजलमा प्रशोधन गरिनेछ । यसलाई महंगो प्रविधि लगाएर प्रशोधन गरेर काठमाडौंमा ल्याउने हो । त्यसैले यो यति सस्तो मूल्यमा पनि आउँदैन कि सडक पखाल्न प्रयोग गर्न सकियोस् ।

यो पानी कुनै पनि रुपमा दुरुपयोग गर्ने प्रश्नै आउँदैन । मेलम्ची पानीले सडक पखाल्नु भनेको एक प्रकारले दुरुपयोग नै हुन्छ । किनभने मेलम्चीको पानी आएपछि पनि काठमाडौंको पानीको माग पुरा हुँदैन । दिनमा अधिकतम ४ घण्टासम्म बिहान बेलुका आउने हो । मलम्ची आएपछि ‘पानीको लोडसेडिङ’ हट्दैन ।

मेलम्ची आउँदा सुरुमा दैनिक १७ करोड लिटर पानी काठमाडौं आउँछ । याङ्गी र लार्के मिसाएपछि त्यो तेब्बर भएर ५१ करोड पुग्छ । यो पानीले पनि पुरै उपत्यकाको माग धान्दैन । सबै क्षेत्रमा मेलम्चीको पानी पुर्‍याउन सम्भव हुँदैन । अहिले पनि काठमाडौं उपत्यकाको विभिन्न स्रोतबाट ८ करोड लिटर पानी वितरण भइरहेको छ । अवस्था यस्तो विकराल छ ।

हामीले बुझ्नुपर्ने कुरा के छ भने मेलम्ची बनाउँदा हामीले झण्डै ३० अर्ब ऋण लिएका छौं । यो ऋण पानीको महशुल उठाएरै तिर्ने हो । ४० वर्षसम्म ऋण तिर्न लाग्छ । सडक पखालेर यो ऋण तिर्न सकिँदैन ।

अब सडक नपखाली नहुने हो भने अर्को एउटा विकल्प छ । त्यो के भने बाग्मती–विष्णुमती लगायतका काठमाडौंका नदी र खोलाहरुमा पानी बगिरहेकै छ । एउटा ट्रिटमेन्ट प्लान्ट बनाएर खोलको पानीलाई दैनिक आवश्यक पर्ने परिमाणमा थिग्र्याउँदा हुन्छ । सडक पखाल्ने पानीलाई महंगो प्रविधि लगाएर प्रशोधन गर्नु पदैन ।

सडक पखाल्ने पानी शुद्ध हुनु पर्ने होइन, सफा देखिए र नगन्हाए भइहाल्यो । सडक पखाल्न त दिनमा २ सय ट्यांकर पानी यिनै खोलाकै प्रयोग गर्न सकिन्छ । यसै पनि बगेर खेर गइरहेकै पानी हो । सामान्य विधि लगाएर पानीलाई सफा गर्दा भइहाल्छ ।

तर, अझै पनि मेरो जोड केमा छ भने सडक पखालेर हुँदैन । सडकमा धुलो किन आइरहेको छ ? भनेर सरकारले ध्यान दिनुपर्छ र योजना ल्याउनुपर्छ ।

सडक वरपर जताततै खुला क्षेत्र छाडिएको छ । सडकमा धुलो आउन नदिन प्रयाश शून्य छ । अब सडक आसपास पेटी बनाएर धुलो आउने स्रोतलाई बन्द गर्नुपर्‍यो । खुला सतहयुक्त क्षेत्रलाई बन्द गर्नुपर्‍यो ।

सडकमा खाल्डा पर्न दिनु भएन । ढल फुट्ने समस्या समाधान गर्नुपर्‍यो । बर्षायाममा पानीको निकासालाई चुस्त बनाउनुपर्‍यो । त्यसले सडकमा धुलो आउन पाउँदैन ।
अर्को कुरा, सडक र सडक पेटीभरी निर्माण सामग्री थुपार्न दिनुभएन । त्यसले शहरभरि धुलो फैलाइरहेको छ । बालुवा, गिट्टी, माटो बोक्ने ट्रक ट्रिपरलाई ढाकेर मात्रै उपत्यका छिर्ने नियम बनाउनुपर्‍यो ।

घर भत्काउँदा र बनाउँदा धुलो नियन्त्रण गर्ने र सडकमा धुुलो नआउने व्यवस्थाका लागि निर्माणस्थललाई व्यवस्थित गर्नुपर्‍यो । सडक वरपर हरियाली बढाउनुपर्‍यो । सडक वरपर रुख विरुवा रोपोयो भने पनि धुलो नियन्त्रणमा सघाउ पुग्छ । ग्रीनरी डेभलप नगरी प्रदुषण नियन्त्रण गर्न कठीन हुन्छ ।

उपत्यकाका खुला सतह रहेका क्षेत्रलाई वैज्ञानिक तवरले व्यवस्थापन गर्नुपर्छ । सडक मात्रै पिच गरेर हुँदैन । सडक छेउका भागमा पनि माटो सडकमा आउन रोक्ने गरी टायल लाउने हो कि क्रंक्रिटिङ गर्ने हो, सबै प्रयास गर्नुपर्‍यो ।

काठमाडौंभित्र विभिन्न विकास निर्माणका कामहरु भइरहेका छन् । ति स्थानमा धुलो नियन्त्रण गर्ने कार्यायोजना बनाउनुपर्‍यो र कडाइपूर्वक लागू गर्नुपर्‍यो । सडक पूर्वाधार नै बनाउँदा पनि धुलो नियन्त्रणको अभ्यास हामीले गरेका छैनौं । सडकलाई धुलोबाट बचाउने गरी डिजाइन गर्नुपर्‍यो ।

अन्य ठूला पूर्वाधार बनाउँदा पनि निर्माणस्थलबाट उड्ने धुलोको नियन्त्रण गर्न कुनै प्रयास भएको छैन । अन्त नसके पनि सुरुआतमा काठमाडौ र उपत्यका आसपास सञ्चालित विकास निर्माणको काममा धुलो नउड्ने स्थिति बनाएर अघि बढौं न ।

फेरि उपत्यकामा काठमाडौंको मात्रै धुलो छैन । मकवानपुर, धादिङ नुवाकोटलगायतका क्षेत्रबाट पनि यहाँ धुलो आइरहेको छ । त्यहाँका आयोजना, उद्योगलगायतबाट प्रदुषण भित्रिरहेको छ । त्यसलाई नियन्त्रण गर्न एउटा विस्तृत वैज्ञानिक योजना बनाएर आवश्यक नीति लिनुपर्छ ।

सडक सफा गर्दा प्लास्टिक टिप्ने मात्रै हैन, धुलो बढार्ने पनि काम पनि नियमित गर्नुपर्‍यो । आधुनिक प्रविधि, जस्तै ब्रुमर लगायतको प्रयोमा जोड दिनुपर्छ । स्थानीय सरकारले मात्रै गर्छ भनेर बस्न भएन, केन्द्र र प्रदेश सरकारको पनि यसमा दायित्व हुन्छ । वडाध्यक्ष र वडा सदस्यले सडकमा उडेको धुलो हटाउला भनेर हुँदैन ।

धुलो नियन्त्रणमा अन्तर्राष्ट्रिय अनुभवलाई पनि बुझेर त्यसैअनरुप यहाँको स्थानीयतासँग अनुकुल हुने गरी प्रयासहरु गर्नुपर्छ । आज पानीले पखालेर के गर्नु भोलि त सडक जस्ताको तस्तै हुन्छ ।

सारमा भन्नुपर्दा सडक पखाल्ने भन्दा जरुरी र महत्वपूर्ण काम अरु छन् । महंगो मेलम्चीलाई कुरेर सडक सफा गर्ने योजना बनाउनुभन्दा स्रोतमै धुलो रोक्ने योजना ल्याउनु उचित हुन्छ ।

प्रस्तुतिः रबिन्द्र घिमिरे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment