Comments Add Comment

बच्चालाई असफलता सामना गर्न कसरी सिकाउने ?

‘मम्मी, आज मैलें राम्रो ड्रइङ बनाएँ । स्कुलमा ड्रइङ कम्पिटिशन थियो । तर, मैले प्राइज पाइन ।’ जब सानी छोरी घरभित्र प्रवेश गर्नसाथ यसो भन्छिन्, तपाई के जावफ दिनुहुन्छ ?

विस्मयको सुस्केरा हाल्नुहुन्छ ? शिक्षकलाई गल्ती देखाएर गाली गर्नुहुन्छ ? छोरीले प्राइज नपाएको दुखी हुनुहुन्छ ? उनको कुरालाई पूर्णत बेवास्ता गर्नुहुन्छ ?

मनमनै आफैलाई मूल्यांकन गरौं त । पक्कै पनि आफ्ना छोराछोरी दुखी भएको हामीलाई मन पर्दैन । त्यसले हाम्रो मनमा केही न केही चोट त पुर्‍याउँछ नै । यद्यपी यो कुरा त्यती जटिल होइन, जसमा हामीले पीडावोध गर्नुपर्छ । र, यो त्यती हल्का कुरा पनि होइन, जसलाई पूर्णत बेवास्ता गर्नुपर्छ ।

त्यसो भए के गर्नुपर्छ त ?

यसको जवाफ यस्तो हुनुपर्छ । ‘ठिक छ, आज तिमीले प्राइज जितेनौ त के भयो, अर्को दिन जित्न सक्छौं । तिमीले राम्रो चित्र बनाएको थियौं । मेहनत गरेको थियौ । कम्तीमा तिमीले कोशिस त गरेको थियौं । यही नै ठूलो कुरा हो । कोशिस गर्नेले कहिले हार खानु हुँदैन । कोशिस गरिरहनुपर्छ, प्राइज त कति हो कति ।’

असफलताको सामना

बच्चाहरुको जीवनमा कसरी खुसी फर्काउने भन्ने कुरा यसबाट सिक्न सकिन्छ भने अर्कोतिर उनीहरुमा सकारात्मक परिवर्तन ल्याउन पनि । र, त्यो भन्दा महत्वपूर्ण त असफलतालाई कसरी सामना गर्ने भन्ने कुरा यसबाट सिक्न सकिन्छ ।

वालमनोविज्ञहरु भन्छन्, ‘असफल हुनै हुँदैन, असफल हुनु कमजोरी हो, असफलताले पछाडि पार्छ भन्ने कुरा बालबच्चालाई कहिल्यै सिकाउनु हुँदैन । बरु, असफलता हुनु भनेको आफ्नो प्रयास अझ कम भयो भनेर बुझ्नु हो भनेर सिकाउनुपर्छ ।’

बच्चाको प्रयास

असफलताबाट बालबच्चा हतोत्साही हुन्छन् । उनीहरुमा निरसा छाउँछ । मनमा ग्लानीभाव पैदा हुन्छ । तर, जीवनमा सधै सफलता मात्र मिल्दैन । सफलता नै सफलता मिल्नु भनेको एकदमै दुर्लभ हो । संभवत कुनैपनि काममा, कुनैपनि क्षेत्रमा यसरी अविछिन्न सफलता प्राप्त हुँदैन । यसको अर्थ के हो भने, हामी जति जति जीवन भोग्दै जान्छौं, असफलताका खाडलहरु उत्तिनै पार गर्नुपर्ने हुन्छ ।

हिँड्ने मान्छे लड्छ

असफलता हुनु सामान्य प्रक्रिया हो । जब हामी सफल हुनका लागि प्रयास गर्छौं, तब न असफल हुन्छौं । अर्थात प्रयास गरिएको थियो र असफलता प्राप्त भयो । प्रयास नै नगर्ने हो भने, न सफलता मिल्छ, न असफलता ।

असफलता पनि सफलताकै एउटा खुड्किलो हो । भनिन्छ नि, ‘हिँड्ने मान्छे लड्छ ।’ हिँड्ने प्रयास गर्नुपर्छ । लड्नु स्वभाविक हो । लडेर फेरी उठिन्छ । यात्रा अगाडि बढ्छ ।

जित्न मात्र होइन, हार्न पनि सिकाउनुपर्छ

हामीले बच्चालाई सफलताप्रति मात्र प्रेरित गरेर हुँदैन । उनीहरुलाई जित्न सिकाएर मात्र हुँदैन । उनीहरुलाई परीक्षामा उच्च अंक ल्याउनका लागि हौसाएर मात्र हुँदैन । बरु, असफलतालाई कसरी सामना गर्ने भन्ने कुरा पनि सिकाउनुपर्छ । किनभने व्यवहारिक जीवनमा सफलताभन्दा बढी हामीले असफलता झेल्नुपर्छ ।

अझ राम्ररी बुझ्ने हो भने त असफलता आफैमा एक पाठ हो । असफलताले हामीलाई धेरै कुरा सिकाउँछ । असफलताबाट के बुझ्न सकिन्छ भने, आफ्नो प्रयास पुगेको छैन । आफ्नो अभ्यास पुगेको छैन । त्यसैले थप प्रयासको खाँचो छ । भनिन्छ नि, ‘कुनै काममा असफलता भइयो भने, काम बदल्ने होइन । बरु, काम गर्ने शैली बदल्नुपर्छ ।’

बालबच्चाहरु कुनै क्षेत्रमा असफल भएमा उनीहरुले त्यसबाट हतोत्साही हुने होइन, बरु त्यही विन्दुबाट अगाडि बढ्ने यत्न गर्नुपर्छ । र, यावत् कुरा अभिभावकले बच्चालाई सिकाउनुपर्छ । बुझाउनुपर्छ । तर, उपदेश दिएर होइन, भाषण सुनाएर होइन । व्यवहारिक रुपमा प्रेरित गरेर ।

प्रयासको तारिफ गरौ

बच्चा जब असफल हुन्छन् । उनीहरुले त्यसमा केही प्रयास आवश्य गरेका थिए । त्यही प्रयास एवं कोशिसको महत्व बताउनुपर्छ ।

पेन्टिङबाट बच्चाले प्राइज जित्न सकेनन् । यद्यपी महत्वपूर्ण कुरा के हो भने, बच्चाले उक्त पेन्टिङ पुरा गर्नका लागि भरपुर प्रयास गरेका थिए । उनले आफ्नो सम्पूर्ण कोशिश जारी राखेकै थिए । त्यसैले कुनै प्रतिस्पर्धामा असफल हुँदा दुखी हुने होइन । बरु, थप सीप र अभ्यासबाट आफुलाई अगाडि बढाउनुपर्छ ।

दवाव होइन, हौसला

कतिपय अभिभावक चाहन्छन्, आफ्ना बच्चा हरेक क्षेत्रमा अगाडि होस् । छिमेकीको बच्चा वा अरु उनका सहपाठीभन्दा एक कदम अगाडि होस् । चाहे पढाइमा, चाहे खेलकुदमा । सबै कुरामा आफ्नो बच्चाले नै बाजी मार्न सकोस् ।

तर, अभिभावको यो आंक्षाले बच्चामाथि दवाव पैदा गर्छ । दवावले कसैलाई पनि अगाडि बढाउँदैन । बच्चालाई दवाव होइन, हौसला दिनुपर्छ । जब उनीहरु कुनै कुरामा असफल हुन्छन्, त्यसमा अभिभावकले आफ्नो अपेक्षाको भारी बोकाएर बच्चालाई दुखी तुल्याउनु हुँदैन । असफलतालाई सहर्ष रुपमा लिएर त्यसबाट के पाठ सिक्ने भन्ने कुरा बुझाउनुपर्छ ।

बच्चालाई अभिभावकले आफु जस्तै होइन, बच्चा जस्तो छ त्यस्तै बन्न प्ररित गर्नुपर्छ । उनीहरुको रचनात्मक क्षमता, रुची, खुवी बुझेर त्यही अनुसार उचित वातावरण तय गरिदिनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment