१३ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले केन्द्र, प्रदेश र जिल्लामा सभापतिमा चुनाव हारेकाहरुलाई वरिष्ठ नेता नबनाउन माग गरेका छन् । बुधबार र बिहीबार नुवाकोटको ककनीमा बसेको भेलाले विधानमा सुझाव दिँदै सभापतिमा पराजित नेतालाई वरिष्ठ नेता नमान्न सुझाव दिएका हुन् ।
उनीहरुले जुन तहको चुनाव हुने हो, त्यही समूहकालाई मात्र मतदान गर्न पाउने व्यवस्था गर्न, समानुपातिक प्रणाली र मनोनयनमा एक जनाले एक पटकमात्र अवसर पाउने व्यवस्था गर्न, पदाधिकारी संख्या बढाउन माग गरेका छन् ।
त्यस्तै पार्टीका सबै तह र निकायमा एक तिहाइ महिला प्रतिनिधित्व सुनिश्चत गर्न पनि माग गरेका छन् ।
जिल्ला सभापतिहरुले सरकारले न्यायपालिका र पत्रकारितामाथि राज्यले हस्तक्षेप गरेको ठहर गरेको छ ।
प्रदेश सरकारहरु राज्यको ढुकुटी सिध्याउन लागेका भन्दै कर वृद्धि फिता लिन, निर्मला पन्त हत्याकाण्ड, सुनकाण्ड र वाइडवडी खरिदका दोषीलाई कारबाही गर्न पनि कांग्रेस जिल्ला सभापतिहरुले माग गरेका छन् ।
उनीहरुले मधेसी समुदायको मागअनुसार संविधान संशोधन गर्न, राष्ट्रपति र उपराष्ट्रपतिका लागि जग्गा खरिद नगर्न, काठमाडौंको धुवाधुलो कम गर्ने वातावरण बनाउन माग गरेका छन् । जिल्ला सभापतिहरुको भेलाको निश्कर्ष बिहीबार नै पार्टी नेतृत्वलाई बुझाउने तयारी छ ।
प्रतिक्रिया 4