Comments Add Comment

सरकार कहाँ छ ? एयरपोर्टमा !

१३ मंसिर, काठमाडौं । यसै पनि दिनहुँ सास्ती खेप्ने काठमाडौंका सडक यात्रु बुधबारदेखि लागू भएको जोर–बिजोर सवारी प्रणालीले थप आजित बने ।

बिजोर गाडी मात्रै चल्न पाउने भनिएपछि विहीबार सडकमा आधा गाडी घटे । यसले जामको समस्या त हल भयो । तर, यात्रुको बिचल्ली । चलेका गाडीमा खचाखच भरिँदा पनि कयौं अलपत्र थिए सडकमा ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार काम गर्न व्यस्त रहेको बताइरहँदा सास्ती खेपेका जनता भन्दै थिए– ‘यो देशमा सरकार नै छैन ।’

वृद्धवृद्धा, अशक्त, बच्चा बोकेका महिला, किनमेल गरेर घर फर्किन लागेका उपभोक्ता, स्कुल–कलेजका विद्यार्थीलगायत आम राजधानीबासी घण्टौंसम्म गाडी कुर्न बाध्य बने । तर, चलेका बिजोर गाडीमा खुट्टा राख्नेसमेत ठाउँ रहेन ।

यो पनि पढ्नुहोस लोकतन्त्रका निरीह नागरिक, जसलाई सडकमा हिँड्न प्रतिबन्ध छ ! (फोटो फिचर)

गाडी चढ्न नपाएकाहरु हिँडेर गन्तव्यमा गए । वृद्ध वृद्धा र बच्चा बोकेका महिला कुरिरहे । यही मौका छोपेर ट्याक्सीवालहरुले निरीह यात्रुलाई ठग्न शुरु गरे ।

सरकार कहाँ छ ?– एयरपोर्टमा ?

त्रिपुरेश्वर जान हिँडेका चक्र धमलाले बानेश्वर चोकमा एक घण्टा कुर्दा पनि गाडी पाएनन् । भक्तपुर, कोटेश्वरबाट आउने गाडी उतैबाट खचाखच भरिएर आएका थिए ।
गाडी आउनेबित्तिकै उनी दौडिएर जान्थे । तर, झुण्डिने ठाउँ पनि नपाउने गरी खचाखच गाडीमा कसरी चढ्नु ?

प्रधानमन्त्रीले सरकार काम गर्न व्यस्त रहेको र जता हेर्यो उतै सरकार देख्ने बताएका थिए । गाडी कुर्दा कुर्दा हैरान भएका धमलाले भने, ‘सरकार एयरपोर्टमा पाहुना लिन गएको होला ।’

सीमित सार्वजनिक सवारीका साधनमा समेत जोर बिजोर लागु गरेर जनतालाई सास्ती दिनु ठीक नभएको उनले बताए । ‘यो देशमा सरकार छैन, भए विदेशीका लागि होला, हाम्रा लागि छैन’, उनले भने ।

दाङबाट स्वास्थ्योपचार गर्न काठमाडौं आएका अमर पोखरेललाई हामीले सुन्धाराको एनएसी बिल्डिङ अगाडि भेट्यौं ।

यो पनि पढ्नुहोस …जिससकी छोरीलाई चढाउँला फूलमाला भन्दै माइतीघरमा प्रदर्शन गर्ने पक्राउ

उनलाई जानु थियो, शहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र । तर, खचाखच गाडीमा उनले सिट पाउने अवस्थै थिएन ।

महुमेहका रोगी उनी जोर बिजोरले निरीह बनेर घण्टौं गाडी कुरिरहे । केही सीप नलागेपछि मोटरसाइकल भएका आफन्तलाई बोलाएर अस्पताल गए ।
बानेश्वरबाट रत्नपार्क गाडी कुर्दै गर्दा भेटिएका बद्रीविशाल भट्टराईले प्रधानमन्त्रीले भाषण मात्रै गरेर नहुने बन्दै काठमाडौंको यातायातको दिगो व्यवस्थापन जरुरी रहेको बताए ।

‘स्वदेशी विदेशी जो सुकैको सवारी हुँदा पनि जनताले जहिले सास्ती पाउने, सरकार मुखमा छ, यहाँ छैन’, उनी भन्दै थिए ।

दाङबाट काम विशेष काठमाडौं आएका कृष्ण थापा पनि विहिबारदेखि शुरु भएको जोर बिजोरको सिकार भए रत्नपार्कमा । ‘गाडी कुरेको घण्टौं भयो, सबै भरिएर आउँछ कसरी चढ्नु ?’, उनले अनलाइनखबरसँग भने ।

बुटवलबाट आएका प्रकाश सुनारले सरकारले हल्ला गरे जति काम नगर्ने गरेको बताए । जोर बिजोरको सास्ती खेपेका श्याम कुँवर रत्नपार्कबाट कालोपुल जाने गाडी नपाउँदा दंग परे ।

विदेशी पाहुनाको आवागमन सहज पार्न लागु गरिएको जोर बिजोरका कारण सडकमा गाडी कम चलेको थाहा पाएपछि उनी आक्रोशित भए ।

‘सरकार भए पनि नभए के भयो र ? सास्ती पाउने जनताले नै हो’, उनले भने । सुनारसहितका प्रतिनिधि पात्र बाहेक हजारौं यात्रुले जोर बिजोरको सास्ती बेहोरेका छन् ।

विदेशी पाहुनाको स्वागतमा जनतालाई हैरानीमा पारेर सरकारले भद्रगोल काठमाडौंको सडक यातायात विहिबार झन् अस्तव्यस्त बनायो । सडकपेटीमा बसेर घण्टौंसम्म गाडी कुरेका यात्रुले मुलुक नयाँ युगमा प्रवेश गरेको महसुस गरेनन् ।

शुक्रबारबाट शुरु हुने एसिया प्यासिफिक सम्मेलनका लागि म्यानमारकी नेृत आङ साङ सुकी र क्याम्बोडियाका प्रधानमन्त्री हुन सेन काठमाडौं आइपुग्दा शुरु भएको भएको जोर बिजोर प्रणाली मंसिर १६ गतेसम्म जारी रहनेछ । त्यतिन्जेल राजधानीबासीले बिनाकारण सास्ती बेहोरिरहने पक्का छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment