१४ मंसिर, काठमाडौं । थ्रीस्टार क्लबले शहीद स्मारक ए डिभिजन लिग फुटबलमा विभागीय टिम एपीएफ क्लबलाई पराजित गर्दै महत्वपूर्ण तीन अंक बटुलेको छ ।
ललितपुरको सातदोबोटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा विभागीय टिम एपीएफ क्लबलाई २–० गोलअन्तरले पराजित गर्दै थ्रीस्टारले लिग लिडर मनाङसँगको अंक बराबरी गरेको हो । थ्रीस्टारको जितमा रञ्जन विष्ट नायक सावित भए । उनकै दुई गोलमा थ्रीस्टारले जित हात पारेको हो ।
पहिलो हाफमा एक गोल गरेको थ्रीस्टारले दोस्रो हाफमा पनि एक गोल थप्दै एपीएफमाथि सहज जित निकाल्न सफल भयो । खेलको २५ औं मिनेटमा रञ्जनले सुनील बलको पासमा गोल गरेका थिए ।
त्यस्तै, खेलको ६६ औं मिनेटमा रञ्जनले नै व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई २-० को जित दिलाएका हुन् ।
जितसँगै पाँच खेलबाट थ्रीस्टारले १२ अंक बनाएको छ । थ्रीस्टारले चार खेलमा जित र एक खेलमा हार ब्यहोरेको छ । त्यस्तै, एक खेल कम खेलेको लिग लिडर मनाङको १२ अंक रहेको छ ।
लिगको तेस्रो स्थानमा आर्मी रहेको छ । आर्मीको चार खेलबाट १० अंक रहेको छ । पाँच खेलबाट समान अंक रहेको पुलिस भने लिगको चौथो स्थानमा रहेको छ । त्यस्तै, चार खेलबाट १० अंक नै बनाएको हिमालयन शेर्पा क्लब भने लिगको पाँचौं स्थानमा रहेको छ ।
प्रतिक्रिया 4