Comments Add Comment

जब छोरा हुन्छन् पराई

हामीकहाँ प्रचलित उखान छ, ‘ढिलो होस्, छोरा होस् ।’ यसले छोराप्रतिको आशक्तिलाई देखाउँछ ।

अंश र बंश धान्नका लागि छोरा नै चाहिन्छ भन्ने मनोविज्ञानबाट गुज्रिरहेका समाजमा त्यही छोरो अहिले अनुत्तरदायी लाग्न थालेका छन् । नपत्याए, बुद्धाश्रमको फन्को लगाउनुहोस् वा कुनै पाटी पौवा नियाल्नुहोस् । थुप्रै पिता छोराबाटै तिरस्कृत भएका छन् । अपहेलित भएका छन् ।

छोराछोरी जन्मेपछि आमाबुबा धेरै खुसी हुन्छन् । बच्चा जन्मिन साथै आमाबुबामात्रै होइन परिवारका अन्य सदस्यहरुको अनुहारमा पनि एक चमक आउँछ ।

सन्तान भएपछि आमाबुबा आफ्नो सन्तानको उज्वल भविष्यको लागि दिनरात मेहनत गर्छन् । धेरै माया प्रेम गरेर उनीहरुको सबै चाहना र आवश्यकताहरु पुरा गरिदिँदै हुर्काउँछन् बढाउँछन् । आफ्नो हरेक इच्छालाई त्यागेर बच्चलाई खुसी बनाउन तल्लिन हुन्छन् ।

अझै पनि छोरीलाई पराई ठानिन्छ

छोराछोरी बराबरी भने पनि हाम्रो समाजमा अझै पनि केही मानिसहरुले छोरीलाई भन्दा धेरै छोरालाई माया गर्छन् ।

अझै पनि हाम्रो समाजले छोरालाई बढी महत्व दिन्छ । ‘छोरा जन्मिए स्वर्ग गइन्छ’ भन्ने अन्धविश्वासको कारण पनि धेरै दम्पत्ति छोरा जन्मिँदा खुसी हुन्छन् ।

छोराको जन्म भएको छ भन्ने कुराले दंग भएका बाबुआमा उसको अनुहारमा सँधै मुस्कान देख्न चाहन्छन् । छोरा पनि विस्तारै ठूलो हुन्छन्, पढाई सक्छन् आफ्नो करियर बनाउँछन्, विवाह गर्छन् र आफ्नो आमाबुबालाई छोडेर जान्छन् ।

आमाबुबालाई बुढेसकालमा छोडेर हिँड्ने कारणहरु धेरै हुन्छन् तर, छोराको नजरमा ती सबैकारण धेरै लजिकल र सही हुन्छन् । उनीहरु आफ्नो बारेमा मात्रै सोच्छन् ।

छोरीलाई भने पराइ मानिन्छ । ‘छोरी त भोली अर्काको घरमा जान्छिन् यसैले छोरा नै सबैथोक हो’ भन्ने गलत सोच युगौं देखि कायम छ ।

तर धेरै छोरीहरुले आफ्नो विवाह भएर अर्काको घरमा गइसकेपछि पनि आफ्नो आफ्नो आमाबुबाको सेवा गरेको र छोराले भन्दा धेरै उनीहरुको ध्यान राख्छिन् । तर, पनि आमाबुबाले उनीहरुलाई पराइ मान्छन् ।

किन बढ्दैछ आमाबुबालाई छोड्ने चलन

छोराले बुढाबुढी भएका आमाबुबालाई छोडेर जानु एक ट्रेन्ड बनिरहेको छ । कुनै एक समयमा आएर छोरालाई आफ्ना आमाबुबाबाट आफूलाई कुनै फाइदा मिल्दैन भन्ने लाग्छ । त्यसैले उमेरको यस्तो अवस्थामा छोडेर जान्छन् जतिखेर आमाबुबालाई छोराको आवश्यकता छ ।

हामीले सबै छोराहरु यस्तै हुन्छन् भन्न खोजेको त होइन तर अहिले धेरैको परिवारमा यस्तो समस्या देख्न सक्छौं ।

पढाई नोकरी वा फेरि विवाह पनि आफ्नै एक दुनिँया बनाउने चाहना र भौतिकवादी जिन्दगीको दौडमा आफूलाई अगाडि बनाउने आकांक्षाले उनीहरुलाई आफनो आमाबुबाबाट टाढा बनाउँछ ।

एकल परिवारको बढ्दो चलनको कारण वृद्धवृद्धाहरु आफ्नो छोराको लागि एक बोझ बन्छन् । छोरालाई आमाबुबाको सेवा गर्ने मन हुँदैन र उनीहरुको लागि पैसा खर्च गर्नु पैसाको बर्बादी लाग्छ ।

ठूला शहरहरुमा यस्ता अनगिन्ती आमाबुबाहरु एक्लो छन् जो छोरा घरबाट निस्केर गएकाले त कुनै वृद्धाश्रममा जीवन बिताउँछन वा फेरि छोराबुहारी घरमै भएपनि उनीहरुबाट राम्रो व्यवहार पाएका हुँदैनन् ।

यस्तोमा छोरीहरुले आफ्नो आमाबुबालाई मद्धत गर्छन तर सबैलाई यस्तो गर्न सम्भव हुँदैन । किनभने छोरी विवाहित छिन् भने उनका घरमा मानिसहरुले यसमा आपत्ति जनाउन सक्छन् । तैपनि आमाबुबा फेरि बिरामी भएको बेलामा उनीहरुले सहयोग जरुर गर्छिन् ।

आमाबुबासँग टाढिएका अधिकांश छोराको भनाई आमाबुबालाई उनीहरुको निजी जीवन र जीवनशैलीमा दख्खल दिने कुनै हक छैन् भन्ने हुन्छ ।

सम्बन्धमा बढ्दो संवेदनहिनता

आमाबुबासँग सन्तानको आपसी सम्बन्धमा एक परिवर्तन आएको छ । बढ्दो अवसरको कारण धेरै मानिसहरु छिटै प्रगती गर्ने सोचमा गाउँ र साना सहरमा बस्ने मानिसहरु ठूला शहर र विदेशको बाटो समात्न थालेका छन् ।

भौतिक सुखसुविधाको लागि उनीहरु आत्मकेन्दि्रत हुन थालेका छन् । पारिवारिक मुल्य मान्यता र आफ्नोपनको बदलामा लोभ र पैसाको भोकले सम्बन्धलाई नकार्न र जिम्मेवारीबाट भाग्न उक्साएको छ ।

पहिलेका मानिसहरु मनले सोच्थे तर अहिलेका मस्तिष्कले सोच्छन् त्यसैले सम्बन्धमा परायापनको असर हुन थालेको छ ।

भागिरहेका छन् जिम्मेवारीबाट

जागिरको बाध्यता, श्रीमतीको आमाबुबासँग राम्रो सम्बन्ध नहुनु वा आमाबुबा आफ्नो जीवनशैलीमा फिट नहुने जस्ता बहाना देखाउने छोराहरु वास्तवमा आफ्नो जिम्मेवारीबाट भाग्न चाहन्छन् ।

यसैले व्यावसायीक प्रतिबद्धता वा आफ्नो गृहस्थीलाई बचाउने नाममा उनीहरु सजिलैसँग आफ्नो उतरदायित्वलाई बिर्सेर आफ्नो दुनियाँमा मस्त हुन्छन् ।

उनीहरुलाई बुढा आमाबुबा जसले सारा जिन्दगी आफ्नो छोराको सुखद भविष्यको लागि सबैकुरा दाउमा लगाउँछन् । तिनै मायालु आमाबुबा उनीहरुको लागि आउटडेटेड हुन्छन् र उनीहरुबाट भाग्नको लागि छोरासँग बाध्यताको लामो सूची हुन्छ ।

आमाबुबा पनि छोरा पराई भइसकेको बुझ्दा बुझ्दै पनि भिजेको आँखाले अरुसँग मेरो छोरा यस्तो त होइन तर, उसको बाध्यता थियो त्यसैले छोडेर जान पर्यो भनेर चित्त बुझाउँछन् ।

त्यसैले हामीले एकपटक फेरि सोच्नुपर्छ र छोराछोरी दुवैलाई समान व्यवहार गर्नुपर्छ । छोरीहरु पराई हुँदैनन् उनीहरुलाई त पराई बनाइन्छ । त्यस्तै छोरालाई पनि सानैबाट सम्बन्ध र संवेदनाको बारेमा सिकाउनुपछ । उनीहरुलाई सम्बन्धको महत्वको बारेमा बुझाउनुपर्छ ।

छोराछोरीले पनि आफूलाई जन्म दिएर हुर्काइ बढाई पढाउने आमाबुबालाई उनीहरुलाई सहारा चाहिएको बेलामा एक्लै छोड्नुहुन्न भन्ने बुझ्नुपर्छ । पैसा र करियरमात्रै सबैथोक होइन भन्ने बुझ्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment