Comments Add Comment

मैले हत्केलामा राखेर खैनी माँडेकाे- जनताको लागि !

१७ मंसिर काठमाडौं । झुस्स दाह्री पालेका कवि अर्जुन पराजुली ०६२/०६३ को जनआन्दोलनका बेला सडकमा कविता बाचन गरेर निकै नै चर्चित बनेका थिए । अचेल उनी त्यति चर्चामा छैनन् ।

पराजुलीका कवितामा राजनीतिक विकृति एवं विसंगतिप्रति चर्को व्यंग्यवाण मिसिएको हुन्छ । जनआन्दोलनका बेलामा उनी शाही शासनप्रति शब्दवाण वर्षा गर्थे । त्यसक्रममा उनी गिरफ्तारीमा पनि पर्थे ।

उनै जनआन्दोलनका कवि पराजुलीले गणतान्त्रिक सत्ताले गरेका हर्कतमाथि यसरी व्यंग्य गरे:

१. जनताको लागि

मैले हत्केलामा राखेर खैनी माँडेको– जनताको लागि

चुनावमा रक्सी र पैसा बाँडेको– जनताको लागि ।

सालोलाई सल्लाहकार बनाएको– जनताको लागि

पीच गरीनसक्दै सडक फेरि खनाएको– जनताको लागि

०००

मैले छोरो अमेरिका पढ्न पठाएको– जनताको लागि

मैले पशुपतिमा गाँजा चढाएको– जनताको लागि

नेपाल बन्द गरेर टायर डढाएको– जनताको लागि

विकास बजेट पचाएर भुँडी बढाएको– जनताको लागि

०००

सार्वजनिक जग्गा मिचेर घर बनाएको– जनताको लागि

मैले मेरो जन्मदिन मनाएको– जनताको लागि

०००

मैले बिहेमाथि अर्को बिहे गरेको–जनताको लागि

मेरो अनुहार चुस्स परेको– जनताको लागि

मेरो लागि त के नै गर्नु छ र ?

१२ महिनाको वर्षमा १३ महिना विदेश भ्रमणमा जान्छु ।

एककप चिया पनि जनताकै पैसाले खान्छु

०००

जनताको लागि केही गर्न नसक्नेहरु सहीद भएर गए ।

म बाँचेको पनि जनताकै लागि हो ।

सात पुस्तालाई पुग्ने गरी सम्पत्ति साँचेको पनि जनताकै लागि हो ।

२. अनि मैले दाह्री पालें

म किसान हुँ, पाल्ने मेरो पेसा हो ।

राँगो पालें– मिस्टर ह्याण्डसम प्रतियोगितामा भाग लिन गयो ।

भैंसी पालें– सुन्दरी प्रतियोगितामा भाग लिन गयो ।

कर्मचारी पालें– भ्रष्टाचार एउटै बाँकी राखेन, सबै भ्यायो ।

नेता पालें– आफूलाई राजा बनाउँदै ल्यायो ।

सरकार पालें– गर्नुपर्ने काम एउटै गरेन, नगर्नुपर्ने काम सबै गर्‍यो ।

सुरक्षाकर्मी पालें– सुरक्षा नदिउञ्जेल जिउँदै थियो मान्छे । उसले सुरक्षा दिनेवित्तिकै मर्‍यो ।

पाल्ने जन्तु कुनै नपाएपछि

एउटा नयाँ कदम चालें ।

अनि मैले दाह्री पालें ।

३. गणतन्त्र ल्याएर मात्रै पुग्दैन

त्यसलाई ड्रेस बनाएर लाउन

सूचीकारकहाँ गएर छेकाउनुपर्छ ।

टीको लगाइदिँदा जनतालाई घुँडा टेकाएर मात्रै पुगदैन

टाउको समेतै टेकाउनुपर्छ ।
यो पनि पढ्नुहोस गणतन्त्रको भाष्यः पहाडीको धोती, पाण्डेको लठ्ठी ! 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment