Comments Add Comment

५० वर्षदेखि कुदिरहेका रामकृष्ण

१७ मंसिर, काठमाडौं । एक धावक, जो ६२ वर्षको उमेरसम्म पनि थामिएका छैनन्, थामिने योजनामा पनि छैनन् । आफ्नो व्यक्तिगत पैसा खर्च गरेर विदेशमा प्रतिस्पर्धा गर्न पुग्छन् र उपाधि जितेर देशको नाम राख्छन् ।

उनका दौंतरीहरु कोही अस्पतालको लाइन भेटिन्छन् त कोही यो खाने यो नखानेको तालिकामा घोत्लिन्छन् । उनी भने बिहान साढे ४ बजे दौडन निस्किसक्छन् । सोह्रखुट्टे नयाँ बजारबाट लैनचौर, लाजिम्पाट, पानीपोखरी, तालिमकेन्द्र हुँदै नारायणगोपाल चोक पुग्छन् । त्यहाँबाट बाँसबारी पुग्छन् र उही बाटो फर्कन्छन् ।

रामकृष्ण महर्जन यसरी दौडन थालेको ५० वर्ष भयो । ‘अहिले हावापानी पनि दौडन उपयुक्त खालको छ । काठमाडौंको सडकमा पहिलाभन्दा धुलो त बढेको हो तर, पनि यहाँ दौडन रमाइलो लाग्छ,’ बिहान दौडिरहेकै बेला भेटिएका उनले सुनाए ।

यो ५० वर्षे दौड यात्राका क्रममा धावक रामकृष्णले नेपालमा मात्रै होइन, विदेशमा पनि आफूलाई चिनाएका छन् । विभिन्न २२ देशमा २५ भन्दा धेरै प्रतियोगितामा सहभागी भइसकेका छन्, जसमध्ये केही प्रतियोगितामा उपाधि जितिसकेका छन् ।

दौडने जोश यसरी चढ्यो

सोह्रखुट्टेमा ओरालो सकिएर बालाजुतिर थोरै बढेपछि आउँछ रामकृष्णको घर । उनले घरैमा खोलेका छन्, हारती नेवारी रेस्टुरेन्ट । जहाँ उनी दिनभर काम गर्छन् । घरभित्र छिर्दा उनका कीर्तिमानहरुले भर्‍याङदेखि नै स्वागत गर्छन् ।

‘सहभागी भएका र जितेका सबैतिरको प्रमाणपत्र छ मसँग तर, मिलाएर राख्न सकेको छैन,’ भर्‍याङभरिको प्रमाणपत्रहरु देखाउँदै कोठामा पुग्ने बेला उनले भने ।

‘यो २०३४ सालमा नेपालमा जितेको, यो २०३५ सालमा जितेको, यो सन् १९७९ मा दार्जिलिङमा जितेको । मलाई पछि उताबाट पठाइदिएको फोटो पनि छ,… यी यही हो । यो २००३ मा मलेसियामा जितेको स्वर्ण पदक, २००५ मा पनि मैले जितेको थिएँ… अँ कहाँ खेलेको भन्ने पनि पो बिर्सिएँ ए, बैंककमा जितेको हो…. ।’

आफ्ना उपाधि र मेडलहरु देखाउँदै जाँदा रामकृष्णको अनुहार उज्यालिएको थियो ।

‘यो जापानमा, यो सिकागो म्याराथन, अस्ट्रेलियाको गोलकोस्ट म्याराथन, एसियन मास्टर गेम बैंगलोर, यो अकल्याण्डको, यो बैंककमा हुँदाको । यो क्यानडामा । यो सिकागो म्याराथनमा । यो सिड्नी म्याराथन । यो न्यूयोर्क सिटी म्याराथन । यो जापानको नागानो म्याराथन । यो टोकियो म्याराथन । यो बोस्टन म्याराथन । यो चाहिँ भारतमा भएको एसियन मास्टर म्याराथनको… । म्याराथनका यस्ता धेरै सम्झनाहरु रामकृष्णले सुरक्षित राखिरहेका छन् ।

‘बिनाकाममा दौडेर…’ भन्ने समयका हुन् रामकृष्ण । उनलाई पनि धेरैले त्यसै भने । ‘म ठमेल ज्याँठामा रहेको मामाघरमा हुर्किएको हुँ । अमेरिकन दूतावासका कर्मचारीहरु त्यही बाटो नियमित दौडन्थे । उनीहरु दौडेको देखेर मलाई पनि रहर लाग्थ्यो र पछिपछि कुद्थेँ,’ रामकृष्णले बाल्यकाल सम्झँदै भने ।

आफ्नो पछिपछि दौडने १२ वर्षको फुच्चे केटोलाई देखेर दंग परेका दूतावासका कर्मचारीले केही महिनापछि त दौडन जाउँ भनेर उनलाई बोलाउनै थालेका थिए । त्यसरी हरेक बिहान उनको दौडने इच्छा बढ्दै गयो ।

‘पछि मामाका छोराहरुसँग पनि दौडन जाम् भन्ने सल्लाह गरेर ८/१० जना दौडन थाल्यौँ । बिहान ७ बजेतिर निस्किन्थ्यौँ । नथाक्दासम्म बेस्सरी दौडियो, थाकेपछि लखतरान । कसरी मिलाएर दौडनुपर्छ भन्ने नै थाहा थिएन,’ उनले सम्झिए ।

सँगै दौडनेहरु कोही बीचमा पुगेर छाड्थे, कोही हिँड्दै जान्थे, रामकृष्ण भने जहिल्यै पहिलो हुन्थे । साथीहरुले उनलाई हौस्याउन थाले । त्यसैले विद्यालयस्तरीय दौडमा पनि भाग लिन थाले । कसरी दौडनु पर्छ भन्ने बुझ्दै गए ।

त्यही समयदेखि अहिलेसम्म रोकिएका छैनन् रामकृष्ण । ‘नेपालीहरुलाई खेलेर मात्र त पुग्दैन काम पनि गर्नैपर्छ । कामका लागि कहिलेकाहीँ रोकिए पनि मेरा लागि दौड नियमित छ । खेल्ने र काम गर्ने हरेक दिन गरिरहेको छु,’ उनी भन्छन्, ‘किसानकै छोरा हुँ । खेतिपातीमा परिवारलाई सहयोग पनि गर्नुपर्यो ।’

विदेशको दौड

रामकृष्णको किसान परिवार सामान्य नै थियो । खेलेरै खान पुग्ने त कल्पना नै भएन । बाहिर चिया खान पनि अप्ठ्यारो हुने भएपछि रामकृष्णले आर्मीमा जागिर खाने सल्लाह पाए । ‘२०३४ सालमा आर्मीमा भर्ना भएँ । त्यो बेला महिनामा १ सय २० रुपैयाँ आम्दानी हुन्थ्यो,’ उनले भने, ‘अभ्यास गरेर आर्मीको तर्फबाट दौडिन जानुपर्थ्यो । ३ वर्षजस्तो आर्मीमा जागिर खाएर नै दौडिएँ ।’

आर्मीमा हुँदा रामकृष्णको दौड राम्रो हुँदै गयो, मेहनत बढ्यो । यसैले विदेश यात्रा पनि सुरु भयो ।

सन् १९७९ को अगस्ट १५ मा दार्जिलिङमा भएको म्याराथनमा भाग लिएका रामकृष्ण दोस्रो भए । पहिलो विदेश सहभागितामा नै मेडल जितेपछि उनको हौसला उचालिँदै गयो । त्यसैले १९८१ मा नै रसिया र जापानमा पनि दौडन गए ।

‘जापानमा त ६ महिना बसेर अभ्यास नै गरेँ । आउने-जाने भइरहन्थ्यो । बाहिर-बाहिर भएपछि आर्मीको जागिर छाडिदिएँ । उनीहरुको जागिर खाँदा त उनीहरुले भनेजस्तो नै गर्न सक्नुपर्‍यो नि त । त्यसले मलाई अप्ठ्यारो पर्‍यो,’ उनी भन्छन् ।

विदेश नजाँदासम्म त रामकृष्णलाई के होला, कसो होला, कसरी दौडने होला भन्ने लागिरहन्थ्यो । तर दार्जिलिङमा मेडल जितेर आएपछि हौसला बढ्ने मात्रै होइन, विदेशमा खेल्न जाँदा देशको नाम हुने रहेछ भन्ने पनि बुझे ।

नेपालमा खेलाडीहरुलाई ब्यालेन्स डाइट कम हुन्छ भन्नेहरुलाई पनि रामकृष्णको जवाफ राम्रो छ- सस्तो कुराले पनि राम्रो ब्यालेन्स डाइट खान सकिन्छ । मासु नै चाहिन्छ भन्ने केही पनि छैन

‘विदेशमा जाँदा सबै नेपालीको प्रतिनिधित्व गरेर आएको छु भन्ने सम्झेर गौरव लाग्छ । विदेशीसँग प्रतिस्पर्धा गर्दा उनीहरुभन्दा हामी के कम त भन्ने हुन्छ,’ रामकृष्णले भने ।

पहिले युवावस्थामा होस्, या अहिले भेट्रान दौडमा जाँदा, या अभ्यास गर्दा होस्, रामकृष्णलाई नेपाल जति प्यारो कतै छैन । धुलो, धुँवा खान परोस् या गाडीको ट्याँ..ट्याँ..टुँ..टुँ पार गर्दै दौडन परोस् उनको मन यहीँ छ । ‘नेपालमा जस्तो बाहिर लाग्दैन । गाडी र धुलोको प्रदुषणले काठमाडौंमा अलि अप्ठ्यारो हुँदै गएको हो । होइन भने त यहाँजस्तो राम्रो वातावरण बाहिर छैन,’ उनी भन्छन् ।

नेपालमा खेलाडीहरुलाई ब्यालेन्स डाइट कम हुन्छ भन्नेहरुलाई पनि रामकृष्णको जवाफ राम्रो छ । ‘सस्तो कुराले पनि राम्रो ब्यालेन्स डाइट खान सकिन्छ । मासु नै चाहिन्छ भन्ने केही पनि छैन । खानेकुराहरु त समय मिलाएर खाने छँदै छ । पानी मात्रै पर्याप्त पियो भने अरु कुरा सोच्नै पर्दैन,’ उनी भन्छन् ।

‘विदेशमा जस्तो क्यालोरी त हामीले खान सक्दैनौँ तर, शरीरलाई चाहिने कुरा खान सक्छौँ । स्याउ महँगो छ भने स्याउ नै खान पर्दैन नि त । गाजर, सागपात खान सकिन्छ । सस्तो फलफूल खान सकिन्छ । झोलिलो पदार्थ धेरै खान सकिन्छ,’ महर्जन भन्छन् ।

रेस्टुरेन्टका मालिक पनि

पहिलेदेखि नै उनलाई दौडेर मात्रै हुँदैन भन्ने लागिरहेको थियो । खानेकुरामा शोख पनि भएकाले रेस्टुरेन्ट चलाउने सोचे । तीन सय रुपैयाँ लगानी गरेर नेवारी रेस्टुरेन्ट खोले पनि ।

पहिले नेवारी रेस्टुरेन्ट भनेपछि एउटा सीमित समुदायका मान्छेमा केन्द्रित रहेको व्यवसायलाई रामकृष्णले फराकिलो पार्दै गए । विभिन्न खानेकुरा बनाए, नयाँ स्वाद दिए । यसैले दिउँसोदेखि बेलुकासम्म रेस्टुरेन्ट भरिभराउ हुन थाल्यो ।

‘त्यतिबेला रेस्टुरेन्ट यसरी चल्ला भनेर कल्पना पनि गरेको थिइनँ । मैले कल्पना गरेका कुराहरु मेरो मेहनत र भगवानको कृपाले अहिलेसम्म पूरा भइरहेको छ,’ उनी भन्छन् ।

उनले चलाएको हारती नेवारी रेस्टुरेन्टमा अहिले कर्मचारी मात्र २४ जना छन् । श्रीमती र छोरा पनि सघाउँछन् । छोराले साइकलिङ र पर्यटक गाइडको काम पनि गर्छन् । बिहान छिटो काम गर्नुपर्ने समयमा पनि उनी साढे ३ बजेतिर नै दौडन गएर काम गर्ने समय घर आइपुग्छन् । अभ्यास गरेर आएपछि चिया खान्छन् । खाना बनाउँछन् । आफैं खाना बनाउन उनलाई रमाइलो लाग्छ । दिउँसो १ बजेदेखि राति ८ः३० सम्म रेस्टुरेन्टमा पूरै व्यस्त हुन्छन् ।

उनलाई रेस्टुरेन्टमा भेट्ने हो भने पनि ‘मालिक’ जस्ता लाग्दैनन् । सबैसँग मित्रवत व्यवहार गर्छन् । अरु कर्मचारीले जसरी नै मेहनत गरिरहेका हुन्छन् ।

मनकारी रामकृष्ण

रामकृष्णलाई अहिले लाग्ने एउटै दुःख भनेको, ‘पछिल्लो पुस्तालाई सक्नेजति सिकाउन पाइनँ’ भन्ने नै हो । ‘अहिलेसम्म धेरै जनालाई सिकाउन पाएको छैन । त्यसमा दुःख लाग्छ । सबै कामले गर्दा चाहेर पनि धेरैलाई सिकाउन पाएको छैन । भेटघाट हुने तीन-चार जनालाई सुझावहरु दिइरहेको हुन्छु,’ उनी भन्छन् ।

रामकृष्णसँग बाटोमा दौडिरहेका बेला भेटिएका एक हुन्, शेरबहादुर थारु । बर्दियाका शेरबहादुरका लागि ढुंगा खोज्दा देउता मिलेजस्तो भएका थिए रामकृष्ण ।

‘उहाँसँग भेट भएको ६ वर्ष भयो । दौडिरहँदा भेटेको थिएँ । चक्रपथ २७ किलोमिटर एक राउण्ड गर्दा म थकित भएँ । उहाँ गल्नुभएकै थिएन । म छक्क परेँ,’ शेरबहादुरले सम्झिए ।

उनले थपे, ‘कति जनासँग दौडने जुत्ता हुँदैन, उहाँ जुत्ताहरु दिनुहुन्छ । मलाई पनि दिनुभएको थियो ।’

आफ्नो व्यक्तिगत खर्चमा नै रामकृष्ण विदेशमा नेपाली झण्डा उचालेर दौडन गइरहेका छन् । तर, उनी थाकेका छैनन्

२०५७ सालमा कीर्तिमानी धावक बैकुण्ठ मानन्धर ५० वर्ष पुगेको अवसरमा रामकृष्ण एक्लैले ७० हजार रुपैयाँ खर्च गरेर सम्मान कार्यक्रम आयोजना गरे । ‘बैकुण्ठ मानन्धरसँग आर्मीमा हुँदा सँगै कुदेको हो । सम्झनाहरु धेरै छन् । विदेशमा सँगै त गएका छैनौँ तर, नेपालमा सँगै नै थियौँ । यसैले उनको सम्मानमा काठमाडौंदेखि मुक्तिनाथसम्म दौड गरेको थिएँ,’ रामकृष्णले भने ।

त्यो बेला रामकृष्ण र बैकुण्ठसहित पाँच जना एक हप्ता लगाएर दौडँदै मुक्तिनाथ पुगेका थिए । ‘बैकुण्ठको सम्मानमा कसैले चासो दिएका थिएनन् । मैले आफ्नै पहलमा कार्यक्रम गरेँ,’ उनी भन्छन् ।

कहिलेसम्म दौडने ?

दुई महिनाअघि न्यूजिल्याण्डमा सम्पन्न अकल्याण्ड म्याराथनमा गएका रामकृष्ण दोस्रो भएर आए । विदेशीहरु उनलाई फुर्क्याउँछन्, अहो ! कस्तो खुशी लाग्यो भनेर अँगालो मार्छन् । ‘नेपाललाई चिनाउन तपाईंले राजदूतकै काम गर्नुभएको छ भनेर धन्यवाद दिन्छन्,’ रामकृष्णले सुनाए ।

आफ्नो व्यक्तिगत खर्चमा नै रामकृष्ण विदेशमा नेपाली झण्डा उचालेर दौडन गइरहेका छन् । विदेशमा एउटा प्रतियोगिताका लागि उनको तीनदेखि पाँच लाख रुपैयाँसम्म खर्च हुन्छ ।

अहिले वर्षमा एउटा प्रतियोगिता खेलेपछि अर्को खेल्नुअघि रिकभरी गर्न समय लाग्छ । उमेरमा जस्तो रिकभरी पावर हुँदैन नै । धेरै कमजोर भएको बेलामा एक-दुई महिना त उनलाई रिकभरी गर्न नै लाग्छ । तर, उनी थाकेका छैनन् । ‘समयले जबसम्म साथ दिन्छ, यतिबेलासम्म दौडन मन छ । प्रतियोगितामा खेल्छु भनेर मात्रै भएन पैसा पनि हुनुपर्‍यो,’ रामकृष्ण भन्छन्, ‘रेस्टुरेन्टमा आउने ग्राहकले खाएर दिएको दुई पैसाले बाहिर दौडिन पाइरहेको छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment