Comments Add Comment

वर्तमान सरकार न वाम, न कम्युनिस्टः मोहन वैद्य

१८ मंसिर,बुटवल । नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यले वर्तमान सरकार वामपन्थी र कम्युस्टि दुवै नभएको बताएका छन् ।

। चुनाव जित्न तत्कालीन एमाले र माओवादी केन्द्रले वाम गठवन्धन भनेर चुनाव लडेका र जनताले पनि भ्रममा परेर जिताएपनि व्यवहारमा यो सरकार वामपन्थी र कम्युनिस्ट दुबै नभएको तर्क गरे ।

पार्टीको बुटवलमा सम्पन्न केन्द्रीय समितिले गरेका निर्णयहरु सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा वैद्यले साम्राज्यवाद र नवउदारवादको चंगुलमा फस्ने दल वामपन्थी र कम्युनिस्ट हुन नसक्ने बताए ।

यो सरकारबाट शान्ति र स्थिरता आउंछ भन्नु पनि बेकार कुरा भएको वैद्यले बताए । १२ बुंदे विस्तृत शान्ति सम्झौता अनुसार काम नभएकाले शान्ति प्रक्रिया पूरा नभएको उनले तर्क गरे ।

युद्धकालका घटनालाई जोडेर थुपै्र व्यक्तिमाथि मुद्दा अझै कायम रहेको, वहिर्गमित लडाकू, घाइते र अपांगहरुको उचित व्यवस्थापन र भरणपोषण नभएको, शहीदहरुको पनि उचित सम्मान नभएकाले राजनीतिक क्रान्ति पूरा नभएको वैद्यले बताए ।

युद्धकालमा सेना र प्रहरीबाट विद्रोह गरेकाहरुको कारवाही पनि फुकुवा नभएको वैद्यले कोट्याए । पुष्पकमल दाहाल, बाबुराम भट्टराईतर्फ लक्षित गर्दै वैद्यले सगोत्री साथीहरुले राजनीतिक क्रान्ति पूरा भयो भनेर हिंडेपनि त्यो पुरा नभएको दावी गरे ।

संसदीय व्यवस्था विरुद्ध युद्ध गरेका प्रचण्ड अहिले त्यही व्यवस्थामा रमाएर युगान्तकारी परिवर्तन भन्दै धोका दिएको आरोप पनि वैद्यले लगाए ।

माओवादी युद्ध संसदीय व्यवस्थाविरुद्ध र नयां जनवादी क्रान्तिका पक्षमा भएको स्मरण गर्दै वैद्यले प्रचण्डहरु घुमिफिरी रुम्जाटार भनेजस्तै संसदीय व्यवस्थामै फर्किनु विडम्वना भएको बताए ।

चुनावका बेला धेरै ठूला आश्वासन बांडेपनि वर्तमान सरकारले विकास र समृद्धि ल्याउन नसक्ने पनि वैद्यले बताए ।

विकास वजेट खर्च गर्न,ब्यापार घाटा घटाउन,राष्टियता संरक्षण गर्न र शान्ति सुरक्षा कायम गर्न नसकेको वर्तमान सरकारले कसरी विकास र समृद्धि ल्याउन सक्छ भनी प्रतिप्रश्न गरे ।

राष्ट्रवादको दुहाई दिएर चुनाव जितेर सरकारमा पुगेको पार्टीले भारतले बनाएको कालापानीको नक्सा प्रयोग गर्नु,१० हजार वर्ग किलोमिटर भन्दा बढी नेपाली भूमि भारतबाट मिचिंदा, सीमा स्तम्भ फालिंदा पनि चुप लागेर बस्नुले नेकपाको राष्टवाद उदांगो भएको वैद्यले बताए ।

क्रान्तिकारी कम्युनिष्टबीच एकताको पक्षमा आफूहरु रहेपनि तत्काल नेत्रविक्रम चन्द नेतृत्वको नेकपासंग एकता संभव नरहेको वैद्यले स्पष्ट पारे ।

मंसिर १२ गतेदेखि १७ गतेसम्म बसेको वैठकले राष्टियता, जनतन्त्र र जनजिविकाको सवाललाई लिएर चरणवद्धरुपमा आन्दोलन गर्ने निर्णय गरेको छ ।

यस्तै फगुन १ गते जनयुद्ध दिवसमा युवा मोर्चाले रातो मार्चपास गरी जनयुद्ध दिवसन मनाउने,फागुनमै १९५० लगायत असमान सन्धीसम्झौता खारेजी,सीमा अतिक्रमण, नक्कली नक्सा,भारतबाट एकपक्षीयरुपमा बनाइएका बांध तथा सडक निर्माण लगायतका गतिविधि र मिचाहा प्रवृत्तिको विरोध र राष्ट्रिय स्वाधीनताका पक्षमा मेची महाकाली राष्ट्रिय जनजागरण अभियान संचालन, संयुक्त मोर्चाको पहलमा चैत २४ गते जनआन्दोलन दिवस पारेर जनपरिचालनसहित काठमाडौं केन्द्रीत कार्यक्रम र आम हड्तालसम्मका कार्यक्रम गर्ने वैठकले निर्णय गरेको पार्टीका नेता परि थापाले जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment