Comments Add Comment

कार्यवाहक राष्ट्रपति र पर्यटनमन्त्री ‘कृपालुजी महाराज’ का पाहुना !

१८ मंसिर, काठमाडौं । धार्मिक कार्यक्रमहरुमा राज्यका विशिष्ट व्यक्तिहरु अतिथिका रुपमा सहभागी हुने क्रम घट्नुको साटो बढ्दै गइरहेको छ । क्रिश्चियन धर्म प्रचारकहरुको सम्मेलनमा सरकारको सहभागितालाई लिएर आलोचना भइरहेका बेला मंगलबार एकजना भारतीय जोगीको कार्यक्रममा कार्यवाहक राष्ट्रपति र पर्यटन मन्त्रीले सहभागिता जनाए ।

‘जगत् गुरु कृपालुजी भारत परिषद’ ले मंगलबार राजधानीमा आयोजना गरेको मन्दिरको ताम्रापत्र अनावरण कार्यक्रममा प्रमुख अतिथि थिए– कार्यवाहक राष्ट्रपति नन्दबहादुर पुन । र, विशेष अतिथि थिए– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी ।

भारतीय जोगीका नाममा स्थापित धार्मिक संस्था ‘कृपालुजी महाराज भारत परिषद’ ले काठमाडौंको नागार्जुनमा ६० फिट अग्लो राधाकृष्ण मन्दिर बनाउने घोषणा गरेको छ । सोही मन्दिरको ताम्रपत्र उदघाटन कार्यक्रम मंगलबार सोल्टी होटलमा राखिएको थियो ।

मन्दिर निमार्णको लागत ६ सय करोड रहेको ‘जगद गुरु’ प्रतिष्ठान नेपालका अध्यक्ष राजु कँडेलले जानकारी दिए । १२५ रोपनी जग्गा ओगटेर निर्माण हुने उक्त मन्दिर निर्माणका लागि अध्यक्ष कँडेलले नै जग्गा उपलब्ध गराएको बताएका छन् ।

उपराष्ट्रपति पुन र मन्त्री अधिकारीले मन्दिर निर्माणले नेपालमा धार्मिक पर्यटनलाई बढावा दिने विश्वास व्यक्त गर्दै सरकारले सक्दो सहयोग गर्ने प्रतिवद्धतासमेत जनाए ।

प्रतिष्ठानका अध्यक्ष कँडेलले मन्दिर निर्माणका लागि ४ देखि ६ वर्ष लाग्ने बताए । उक्त स्थानमा मन्दिरका साथै अस्पताल, होटेल, ध्यान केन्द्र र बगैँचा (भगवान कृष्णको वृन्दावन) समेत बनाइने अध्यक्ष कँडेलले जानकारी दिए ।

पाँच हजार मानिस अट्न सक्ने तीनवटा हल, हेलिप्याड लगायतका संरचना पनि निर्माण गर्ने योजना रहेको कँडेलले बताए । उक्त मन्दिर विना कंक्रिट सम्पूर्ण इटालियन मार्वलद्वारा आधुनिक शैलीमा निर्माण गर्न लागिएको कँडेलले बताए ।

गत सोमबार नागार्जुनमै भएको राधाकृण मन्दिरको भूमिपूजामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पुगेका थिए ।

भारतीय जोगीहरुले नेपालका विभिन्न ठाउँमा प्राकृतिक सम्पदाहरु ओगटेर मन्दिर र आश्रमहरु बनाउँदै आएका छन् । भक्तपुरको घ्याम्पे डाँडामा पाइलट बाबाको ठूलो आश्रम छ ।

यस्ता आश्रम र मन्दिरहरुको निर्माणमा राज्यको उपल्लो तहमा बसेकाहरुलाई प्रयोग गर्ने गरिएको छ । स्वर्गीय कृपालुजी महाराज पनि भारतका विवादास्पद जोगी हुन् । उनका समर्थकहरु नेपालमा प्रशस्तै रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment