Comments Add Comment

निर्मलाको भाइरल पोष्टरः ९ हजार रूपैयाँले मच्चिएको खल्बली

१९ मंसिर, काठमाडौं । चार जना तन्नेरीहरु (दुईले दाह्री पालेका र दुईले नपालेका) मंगलबार अनलाइनखबरको कार्यालयमा आए । उनीहरु केही भन्न चाहन्थे । तर शर्त थियो, पहिचान गोप्य राख्नुपर्ने ।

कुरा गर्दै जाँदा खुल्यो कि उनीहरु बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तको तस्वीरसहित बनेको ‘सरकार भेटियो, न्याय भेटिएन’ पोष्टर अभियानमा संलग्न फेसबुक ग्रुप मेन्स रुम रिलोडेड (एमआरआर)का सदस्य रहेछन् ।

‘हाम्रोबारे धेरै किसिमका भ्रमपूर्ण कुराहरु आए, त्यसैले यसलाई चिर्न चाहन्छौं,’ उनीहरुले आफूहरु आउनुको आशय प्रष्ट्याए ।

सामाजिक सुरक्षा योजना कार्यक्रम घोषणाको दिन विजुलीका खम्बाहरुमा प्रधानमन्त्री केपी शर्मा ओलीको तस्वीर टाँसिएको थियो । त्यसको भोलिपल्ट ‘सरकार भेटियो, न्याय भेटिएन’ लेखिएको तस्वीर टाँसियो ।

सरकारले प्रहरी लगाएर पोष्टर च्यात्न थालेपछि झन् भइरल बन्यो । काठमाडौं मात्र होइन, देशभर यस्तो पोष्टर टाँसिए । तर, कसले यो पोष्टर टाँस्दैछ भन्ने खुलेको थिएन । अभियान चलाउनेहरुको नाभी कहाँ जोडिएको छ भन्नेबारे विभिन्न अड्कल भइरहेका छन् । उनीहरु कतैबाट परिचालित हुन सक्ने धेरैको अनुमान छ ।

पछिल्लो समयमा विवेकशील साझा पार्टी, नयाँ शक्ति पार्टीका कार्यकर्तादेखि गोविन्द केसीका समर्थक पनि यो पोष्टर बोकेर हिँड्न थालेको देखिन्छ ।

तर, चार युवाले भने आफूहरुले आकस्मिक र स्वतस्फूर्तरुपमा अभियान सुरु गरेको अनलाइनखबरसँगको कुराकानीमा बताए ।

‘अहिले धेरै खालका व्यक्ति तथा समूह जोडिनुभएको छ, यो हाम्रो लागि खुशीको कुरा हो । हामीलाई यसको क्रेडिट लिनु पनि छैन’, समूहका अगूवा विक्रम केसीले भने, ‘कसैले आफैंले सुरु गरेका हौं भन्नुहुन्छ भने पनि हाम्रो भन्नु केही छैन ।’

अनलाइनखबरको कार्यालयमा आउनेमध्ये एक फ्रिल्यान्सर अडिटर, अर्का रेस्टुरेन्ट सञ्चालक र दुई जना फर्मासिस्ट रहेछन् ।

यो पनि पढ्नुहोस प्रहरीले च्यात्न थालेपछि निर्मलाको पोस्टर अब ज्याकेट, ब्याग र बाइकमा

कसरी जुटे युवा ?

२०११ मा क्रियट भएको फेसबुक ग्रुप हो एमआरआर, जसमा हाल १ लाख सदस्य छन् । चारजना प्रारम्भदेखि नै यो ग्रुपमा थिए । उनीहरु फेसबुक ग्रुपमा फाल्तु गफ मात्रै नगरेर केही सिर्जनशिल कामहरु गर्न चाहन्थे ।

२०७२ सालको भूकम्प र नाकाबन्दीमा यो ग्रुपका सदस्यहरु सक्रिय बने । नाकाबन्दीमा उनीहरुले थुप्रैलाई सडक भोज खुवाएका थिए । उक्त अभियानमा करिब २ लाख खर्च भएको थियो । त्यसका लागि विभिन्न ठाउँबाट सहयोग प्राप्त भएको उनीहरु बताउँछन् । २ सय ७५ कम्बल बोकेर प्रभावित स्थानहरुमा पुगे ।

गोविन्द केसी अनसन बस्दा हुने प्रदर्शनहरूमा पनि सहभागी भए । खासगरी भ्रष्टाचार र बेथितिसँग जोडिएका कुराहरुमा यो समूहको ध्यान तानिने गर्थ्यो । पछिल्लोपटक राष्ट्रपति विद्यादेवी भण्डारीको गाडीका लागि १८ करोड रुपैयाँ खर्चिन लागेको खबर आएपछि उनीहरु जुर्मुराए । अरुले जस्तो नारा–जुलुस गर्नेभन्दा फरक तरिका खोजे ।

पशुपतिक्षेत्रमा गएर एक–एक रुपैयाँ भिख माग्ने योजना बन्यो । एक हुल युवाहरु पशुपति मन्दिर परिसरमा भिख माग्न पुगे । राष्ट्रपतिका लागि गाडी किन्न भन्दै एक रुपैयाँ मागेको दृश्यले धेरैको ध्यान तान्यो ।

‘सांकेतिक विरोधको यो शैलीलाई धेरैले रुचाउनु भयो र सहयोग पनि गर्नुभयो,’ केसी भन्छन् । उनका अनुसार दिनभरीमा २३ सय ५० रुपैयाँ उठेको थियो । तर, यति पैसामा साँच्चिकै गाडी आउने कुरा भएन । उनीहरुले नमूना गाडी बनाएर राष्ट्रपतिलाई प्रदान गर्ने निर्णय गरे र पुल्चोक इन्जिनीयरिङ क्याम्पसका विद्यार्थी गुहारे । उनीहरुले एउटा स्कुलका १० कक्षाका विद्यार्थीहरु यस कार्यमा खटाइदिए । विद्यार्थीहरुले नमूना गाडी तयार गरिसकेका छन् ।

यो पनि पढ्नुहोस राष्ट्रपतिका लागि नमूना गाडी तयार, भीख माग्दा कति उठ्यो ?

‘गाडीमा झण्डा हाल्न मात्रै बाँकी छ,’ केसी भन्छन्, ‘राष्ट्रपतिलाई नै भेटेर दिन त सम्भव नहोला, हामी प्रजिअमार्फत हस्तान्तरण गर्ने योजनामा छौं ।’

****

त्यही बेला सरकारले तामझामका साथ सामाजिक सुरक्षा योजनाको घोषणा गर्‍यो । दैनिक अखबारहरुले विज्ञापनका ज्याकेट ओढे । सडकका पोलपोलमा प्रधानमन्त्री केपी ओली मुस्कुराइरहेको तस्वीर टाँसिए । सरकारले भड्किलो प्रचार गरेको भनेर चौतर्फी आलोचना सुरु भयो । त्यही बेला समाजिक सञ्जालले कसैले भने, ‘राष्ट्रपतिका लागि एक रुपैयाँ भिख मान्ने युवाहरुले निर्मलाका लागि पनि बोले हुन्थ्यो ।’

व्रिक्रम केसी भन्छन्, ‘हामी डिसेम्बर ११ मा केही गर्ने सोचमा थियौं तर, त्यो आग्रहपछि हामी अहिले नै जुट्यौं ।’

प्रधानमन्त्रीले भाषणका क्रममा जता हेर्‍यो, उतै सरकार छ भनेका थिए । ‘नागढुंगाको भिडियोले प्रधानमन्त्रीले बोलेको कुरा नै झूट सावित गरिदियो, नागढुंगामा अहिले पनि सरकारको उपस्थिति रहेनछ’, केसी भन्छन् ।

यो पनि पढ्नुहोस कलंकी-नागढुंगा सडक, जहाँ सरकार छ !

बलत्कारपछि हत्या भएको तीन महिना बित्न लाग्दा पनि अपराधि पत्ता लाग्न नसक्नुलाई उनीहरुले ‘न्याय नभेटिएको’ भनेर अर्थ्याए । सुरुमा ‘सरकार भेटियो न्याय हरायो’ भन्ने नारा तय भएको थियो तर, त्यसलाई परिमार्जन गरेर ‘सरकार भेटियो, न्याय भेटिएन’ बनाइयो । समूहकै एक सदस्यले पोष्टरको डिजाइन गर्ने जिम्मेवारी लिए ।

पैसाको कुरा आयो । उनीहरुले दुई सय मात्रै पोस्टर छाप्ने योजना बनाएका थिए । प्रेसमा बुझ्दा ९ हजार जति लाग्ने देखियो । यति पैसाका लागि सहयोग आह्वान गरिराख्नु आवश्यक नदेखेर उनीहरु आफूहरुले गोजीबाट निकाल्ने निर्णय गरे ।

१८ जनाले पाँच सय ३२ रूपैयाँका दरले उठाएर पोस्टर छाप्ने काम भयो । राति १० बजे प्रेसले २० वटा फ्लेक्स र २ सय पोस्टर उपलब्ध गरायो ।

अब त्यसलाई टाँस्ने चुनौति थियो । काठमाडौंमा एसिया प्यासिफिक सम्मेलनको तयारी भएकाले सुरक्षा व्यवस्था कडा थियो । प्रहरी छ्याप्छ्याप्ती थिए । उनीहरुले ६–६ जनाको तीनवटा समूह बनाए र ६ वटा बाइकमा पोस्टर बोकेर हिँडे ।

प्रहरीको आँखा छल्दै पोस्टर टाँस्न थाले । एउटा समूह भक्तपुर लाग्यो । अर्को ललितपुर र अर्को काठमाडौं । कोटेश्वरदेखि माइतीघरसम्म बिजुलीका पोलहरुमा प्रधानमन्त्रीको पोस्टर टाँसिएका थिए । त्यसलाई गिज्याउने गरी ठीक मुन्तिर निर्मलाको पोष्टर टाँसे । केही महत्वपूर्ण ठाउँमा फ्लेक्स टाँसे । कतैकतै प्रहरीले देखे पनि खासै वास्ता गरेन । आखिर पोस्टरमा आपत्तिजनक के नै थियो र ।

राति १२ बजेबाट सुरु भएको पोष्टर टाँस्ने क्रम बिहान ५ बजे सकियो । त्यसपछि उनीहरु आ-आफ्ना गुँडतिर लागे ।

बिहान काठमाडौं ब्यूँझदा हल्लिखल्ली भइसकेको थियो । रातारात कसले टाँस्यो निर्मलाको तस्वीर कौतुहलको विषय बन्यो । कोही पनि हामीले टाँसेका हौं भनेर आएनन् । जब पोष्टर भाइरल हुनथाल्यो, प्रहरीले पोष्टर च्यात्दै हिँड्यो । सम्मेलनमा भाग लिन आएका पाहुनाहरुले देख्न सक्ने भन्दै पोस्टर च्यातिएको थियो ।

‘प्रहरीले पोस्टर च्यात्ने काम नगरेको भए यो घटना त्यत्तिकै सेलाउँथ्यो’, केसी भन्छन्, ‘प्रहरीको गलत कार्यले हाम्रो अभियानलाई फाइदा पुग्यो, पोष्टरको चौतर्फी खोजी भयो ।’

दुई सय पोष्टर टाँसेर चुपचाप बसेका एमआरआरका युवाहरुको खोजी भयो । सबैतिरबाट पोष्टरको माग आउन थाले । उनीहरुले डिजाइन पठाइदिए । अहिले त प्रहरीको गाडीदेखि एम्बुलेन्ससम्म यो पोष्टर देख्न थालिएको छ ।

****

हामीले सोध्यौं, ‘बाहिर यति चर्चा भइरहँदा यसको क्रेडिट लिन किन अघि सर्नु भएन ? के प्रहरीको डर हो ?’

केसीको तर्क यस्तो थियो, ‘प्रहरीको डर भएर होइन । खासमा हामी प्रेसर लिन चाहँदैनौं । हामी खुल्यौं भने मानिसहरु भोलि हामीबाट ठूलो अपेक्षा गर्न सक्छन् । अरु प्रकरणमा पनि यस्तै अभियानको खोजी गर्न सक्छन् । तर, हामी त्यसमा समर्थ छैनौं । हामीसित पैसा पनि छैन । अहिले पाँच–पाँच सय उठाएका छौं, तर सधैँ उठाउन सक्दैनौं । हामीसँग भावी योजना केही छैन । त्यसैले खुल्न नचाहेका हौं ।’

अर्को प्रश्न गरियो, ‘हरेक घटनालाई निर्मला प्रकरणसँग जोड्ने फेसन नै भएको छ देशमा । तपाईंहरु पनि हावाको बेग जता छ, त्यतै कुदिरहनु भएको त होइन ?’

यो पनि पढ्नुहोस निर्मलाका हत्याराको खोजीः बाटोमा जसलाई भेट्यो, उहीमाथि शंका !

उनले जवाफ दिए, ‘त्यस्तो पनि होइन । खासमा निर्मला प्रकरणलाई हामीले सुरुदेखि नै विश्लेषण गरिरहेका थियौं । यति लामो समयसम्म पीडितले न्याय नपाउनु भनेको लाजमर्दो होइन र ?’

प्रश्नः सरकार र प्रहरीले प्रयासै नगरेको त होइन होला । थुप्रै छानविन समिति गठन भएका छन् । अनुसन्धान भइरहेको छ । कुनै घटनामा अपराधी भेटिन लामो समय पनि लाग्न सक्छ । के भिडले जसलाई चोर औंला देखायो उसैलाई पक्रिनुपर्ने हो ?’

‘हामीले त्यस्तो भनेका छैनौं, खाली विश्वसनीय ढंगले अनुसन्धान हुनुपर्‍यो भन्ने हो । कम्तिमा निर्मलाका बाबुआमालाई त आश्वस्त पार्न सक्नुपर्‍यो । अर्को कुरा घटनाका प्रमाणहरु कसले मेटाउन लगायो भन्ने पनि त छ ।’

प्रश्नः प्रमाण मेटाउनेहरु त कारवाहीमा परिसके नि ?

‘उनीहरुलाई पनि कसैले लगाएको हुन सक्छ भन्ने हो !’

फेरि प्रश्नः कसले लगायो होला त ?’

‘खोई ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment