Comments Add Comment

प्रिमियरमा ‘प्रसाद’लाई उत्कृष्ट प्रतिक्रिया, विपिनको अभिनय तारिफयोग्य

भोली शुक्रबार अर्थात मंसिर २१ गतेबाट रिलिज हुने चलचित्र ‘प्रसाद’को वुधबार काठमाण्डौको बीग मुभिजमा भव्य प्रिमियर आयोजना गरिएको छ । चलचित्रकर्मी र पत्रकारको उपस्थितीमा आयोजित प्रिमियरमा यो चलचित्रलाई उत्कृष्ट प्रतिक्रिया मिलेको छ ।

दिनेश राउतको निर्देशनमा तयार भएको चलचित्र हेरेपछि अधिकांशले यसको कथावस्तु, प्रस्तुतिलाई रुचाए । नायक भूवन केसीले चलचित्रलाई उत्कृष्ट भने । यस्तै, चलचित्र हेर्न पुगेका हाँस्य कलाकार दिपकराज गिरीले फरक कथामा नेपाली मौलिकपन बोकेको चलचित्र बनेको बताए ।

सुशिल पौडेलको कथामा तयार भएको चलचित्रमा दर्शकले नविनता पाउँछन् । चलचित्रमा कमेडी बिषय हाबी भैरहेको समयमा दर्शकले फरक बिषयसँग साक्षात्कार गर्ने मौका यो चलचित्रबाट पाएका छन् । निःसन्तान दम्पत्ती, उनीहरुको जीवनमा छाएको खुशी र आइपरेको अप्ठ्यारोमा यो चलचित्र बनेको छ । विपिन कार्की, नम्रता श्रेष्ठ र निश्चल बस्नेत चलचित्रको केन्द्रविन्दुमा छन् ।

राजेश श्रेष्ठको छायांकन रहेको चलचित्रमा नायक विपिन कार्कीको अभिनय उत्कृष्ट छ । उनले चलचित्रको पुरा अवधी दर्शकलाई होल्ड गरेका छन् । विपिनको दृश्य भाषा र त्यसमा विपिनको अभिनय साच्चै नै लोभलाग्दो छ ।

नायिका नम्रता श्रेष्ठले पनि अभिनयबाट कथामा जीवन्तता दिएकी छिन् । उनको नक्कली कपाललाई एकछिन विर्सने हो भने उनी वास्तविक लाग्छिन् । निश्चल बस्नेतको भूमिका चलचित्रमा महत्वपूर्ण छ । निर्देशकमा सफल निश्चलले अभिनयमा विविधता पस्कन अझै कसरत गर्नपर्छ ।

दिनेश राउतले चलचित्र निर्देशनमा सुक्ष्म कुरामा बढी ध्यान दिएका छन् । केही लामा दृश्यलाई छोट्याइएको भए अझै सुनमा सुगन्ध हुने थियो । पहिलो हाफ स्लो लागेपनि दोश्रो हाफले दर्शकलाई मन्त्रमुग्ध बनाइदिन्छ ।
नेपाली मौलिकपना बोकेको कथामा चलचित्र हेर्न चाहने दर्शकका लागि ‘प्रसाद’ एउटा मिठो उपहार हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment