Comments Add Comment

चोभारमा हुनेछ भारत र चीनबाट आउने रेलको भेट !

२० मंसिर, काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारले प्राथमिकतामा राखेको रक्सौल-काठमाडौं रेलमार्ग ब्रोडगेज कि स्टाण्डर्ड गेज भन्ने अझै टुंगो नभएको खुलेको छ ।

भारतले यो रेलमार्ग ब्रोडगेजमै बनाउन प्रस्ताव गरेको छ । नेपालले भने आधुनिक प्रविधिमा जान आग्रह गरेको भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले जानकारी दिए ।

रेलमार्ग अध्ययनका लागि भारतसँग भएको समझदारीमा ब्रोडगेजमै निमार्ण गर्ने उल्लेख थियो । तर, देशभर विद्युतीय रेलमार्गको सञ्जाल बनाउने योजनाका साथ काम भइरहेको भन्दै सरकारले स्टाण्डर्ड गेजमै रेलमार्ग निर्माण गरिदिन भारतलाई आग्रह गरेको छ ।

भारतले नेपालमा बनाउन लागेका सबै रेलमार्ग ब्रोडगेज हुन् । रक्सौललाई काठमाडौं जोड्ने रेलमार्ग पनि उसले पुरानै प्रविधिमा आधारित ब्रोडगेजमा बनाउन प्रारम्भिक सम्भाब्यता अध्ययन गरिरहेको छ । यो लगभग अन्तिम चरणमा पुगेको छ ।

‘भारतले सबैतिर ब्रोडगेजमै बनाइरहेको छ । यो रेलमार्ग पनि ब्रोडगेजमै बनाउन प्रस्ताव छ’, बिहीबार संसदको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा उपस्थित भौतिक पूर्वाधारमन्त्री महासेठले भने, ‘तर ब्रोडगेजमा विद्युतीय रेल गुड्दैन । त्यसैले हामीले स्टान्डर्ड गेजमा यसलाई बनाऔं भनेका छौं ।’

मन्त्री महासेठका अनुसार चीनको केरुङबाट आउने रेलमार्ग पनि स्टान्डर्ड गेजमै बनाइँदैछ । ‘गेज फरक पर्‍यो भने चीनबाट आउने रेलले ल्याएको सामान फेरि ड्राईपाेर्टमा लगेर राख्नुपर्छ,’ उनले भने, ‘त्यसैकारण अब राष्ट्रिय रेल सञ्जालका सबै रेलमार्गलाई विद्युतीय नै बनाऔं भन्ने हाम्रो योजना हो ।’

तर, भारतका पाँच वटा नाकाबाट आउने लिंक रेलमार्गहरु भने ब्रोडगेजकै हुनेछन् । जनकपुर-जयनगर रेलमार्ग पनि ब्रोडगेजमै विस्तार भएको छ । रक्सौलबाट आउने रेलमार्ग निजगढ हुँदै बाग्मतीको किनारबाटै काठमाडौं ल्याउन एलाग्नमेन्ट तय हुँदैछ ।

भारतीय रेल्वे अधिकारीले यसका लागि अध्ययन गरेर दुई वटा विकल्प दिएका छन् । उपयुक्त विकल्प छानेर सरकारले रेलमार्ग निर्माणलाई अघि बढाउने योजना छ ।

चोभारमा हुनेछ भारत र चीनबाट आउने रेलको भेट

केरुङ-काठमाडौं रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) कसले कसरी गर्ने भन्नेबारे छलफल डिसेम्बर ९ देखि १४ सम्म काठमाडौंमा हुने तय भएको छ । यो विषय टुंगिएपछि ६ महिनाभित्र डीपीआर तयार गर्ने सरकारको लक्ष्य छ ।

भारतले पनि छिट्टै रिपोर्ट दिने भएकाले रक्सौल-काठमाडौं रेलमार्गको डीपीआर यसैवर्ष सक्ने लक्ष्य छ । तर, रेल्वे प्राविधिकहरु भने कुटनीतिक विषय पनि भएकाले यति छिट्टै अन्तरदेशीय रेलमार्गको डीपीआर टुंगिनेमा आश्वास्त छैनन् ।

प्रारम्भिक अध्ययनअनुसार भारत आउने रेललाई चोभारसम्म ल्याइनेछ । चीनबाट आउने रेलको स्टेशन टोखामा हुनेछ ।  दुई रेलमार्गबाट आउने कार्गोलाई अाेसारपसारका लागि जोड्न सरकारले चोभार र टोखाबीच अर्को लिंक रेलमार्ग बनाउने छ । चोभारमा अहिले सुख्खा बन्दरगाह पनि बन्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment