२३ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा आज अन्तरप्रदेश परिषद बैठक बस्दै छ । बैठक बिहान ११ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्ने छ ।
संघीय शासन प्रणाली व्यावहारिकरुपमा कार्यान्वयनमा आएपछि भएका काम कारवाहीको समीक्षा गर्न बैठक बोलाइएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले जानकारी दिए ।
बैठकमा सातवटै प्रदेशका मुख्यमन्त्रीहरुका साथै गृह, अर्थलगायतका वरिष्ठ मन्त्रीहरु पनि सहभागी हुनेछन् । मुख्यमन्त्रीहरुले आ-आफ्ना प्रदेशमा भएका कामबारे प्रधानमन्त्री ओलीलाई जानकारी गराउने छन् । मुख्यमन्त्रीहरुको रिपोर्टिङपछि प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने छन् ।
प्रदेश सरकारहरुले केन्द्र सरकारले कर्मचारी, कानुन लगायतको प्रवन्धन नगरिदिँदा कामकारवाहीमा समस्या आएको गुनासो गर्दै आएका छन् । संघीय सरकार र प्रदेश सरकारको काम कारवाहीलाई प्रभावकारी बनाउनका लागि आजको अन्तरप्रदेश परिषद बैठकलाई महत्वपूर्ण मानिएको छ ।
प्रतिक्रिया 4