Comments Add Comment

दुई शंकास्पदको डीएनए साँझसम्ममा आउने, अझै एक जना फरार रहेको दाबी

२३ मंसिर, काठमाडौं । निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणको अनुसन्धान क्रममा पक्राउ परेका दुई युवकको डीएनए रिपोर्ट आइतबार साँझसम्ममा आउन सक्ने नेपाल प्रहरीले जनाएको छ ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालकै अगाडि कसुर स्वीकार गरेको दाबी गरिएका प्रदीप रावल र स्थानीय विशाल चौधरीको डीएनए रिपोर्ट साँझसम्म आउन सक्ने प्रहरी स्रोतले जनाएको हो ।

घटनाको अनुसन्धान गरिरहेको केन्द्रीय अनुसनधान ब्यूरो (सीआईबी) स्रोतले भन्यो, ‘सम्भवतः आजै साँझसम्ममा रिपोर्ट आइसक्छ । चेन अफ कस्टडी मेन्टेन गर्नका लागि कञ्चनपुरमै लगेर खोल्नु पर्ने हुन्छ । तर, त्यहाँबाट अनुमति लिएर यहीँ खोल्ने कि भन्ने विषयमा पनि छलफल भइरहेको छ ।’

यसअघि १७ मंसिरमा अभद्र व्यवहार गरेको अरोपमा महानगरीय प्रहरी वृत्त, महाराजगञ्जले रावलमाथि मुद्दा चलाएको थियो । त्यसक्रममा सीआईबीमा ल्याएर सोधपुछ गर्ने क्रममा निर्मला हत्यामा उनले आफ्नो संलग्नता स्वीकार्दै थप दुई जनाको नाम लिएको प्रहरीले दाबी गरेको थियो ।

जसको आधारमा कञ्चनपुरस्थित सालघारीका विशाल र दिनेश चौधरीलाई पक्राउ गरिएको दाबी प्रहरीको थियो । तर, पछि दिनेशको घटनामा संलग्नता नरहेको भन्दै उनलाई छाडिएको थियो । सीआईबीका एक अनुसन्धान अधिकारी भन्छन्, ‘घटनामा संलग्न एक जना अझै खोजीरहेका छौं ।’

यो पनि पढ्नुहोस निर्मला हत्याकाण्डः प्रहरी ५ ठाउँमा चुक्यो, अब के गर्ने ?

ती अधिकारीले निर्मलामाथि सामूहिक बलात्कार भएको दाबी गर्दै चन्द थरका अर्का एक जना फरार रहेको दाबी गरे । यद्यपि, यसअघि सीआईबी समेत संलग्न भएको अनुसन्धान टोलीले निर्मलाको बलात्कारमा एक जना मात्रै संलग्न रहेको निष्कर्ष निकालेको थियो ।

प्रदीपले गाउँलेसँग आफू निर्मलाको प्रेमी भएको बताउने गरेको समेत प्रहरी दाबी थियो भने घटना भएको दिन उनको मोबाइल घटनास्थल वरपर देखिएको बताइएको थियो । जसको आधारमा उनीमाथि शंका बढाइएको थियो । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले पनि शनिबार निर्मलाको हत्यारा पक्राउ परिसकेको दाबी गरेका थिए । उनले भनेका थिए, ‘निर्मलाका हत्यारा चाँडै सार्वजनिक गर्छौं ।

यसअघि प्रहरीले मुख्य अभियुक्तको रुपमा सार्वजनिक गरेको दिलिपसिंह विष्टले पनि कसुर स्वीकार गरेका थिए । तर, डीएनए नमिलेपछि उनी छुटेका थिए । अनुसन्धानका क्रममा भेटिएका अर्का एक व्यक्तिले पनि कसुर स्वीकार गर्दै ‘बञ्चरो’ले निर्मलाको हत्या गरेको दाबी गरेका थिए ।

यो पनि पढ्नुहोस निर्मलाका हत्याराको खोजीः बाटोमा जसलाई भेट्यो, उहीमाथि शंका !

प्रकरणको अनुसन्धानमा लापरबाही गरेको भन्दै प्रहरी प्रधान कार्यालयको सिफारिसमा तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख एसपी डिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदिश भट्ट बर्खास्त भइसकेका छन् भने अनुसन्धानमा खटिएका प्रहरी अधिकारीहरु पनि निलम्बित भएका छन् ।

अहिले मुख्य अभियुक्तको रुपमा देखाइएका रावल तिनै व्यक्ति हुन्, जसलाई सीआईबीका निलम्बित डीएसपी अंगुर जिसीको टोलीले पक्राउ गरेर घटनामा संलग्नता नदेखिएपछि छाडेको थियो ।

यो पनि पढ्नुहोस निर्मला हत्याको अनुसन्धानः अपेक्षा बढी, उपलब्धी थोरै

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment