Comments Add Comment

पूर्वमा चार्टर माउन्टेन फ्लाइटको आकर्षण बढ्दै

२५ मंसिर, मोरङ । विराटनगरका पर्यटन व्यवसायीले यती एयरल्यान्सको विमान चार्टर गरी शुरु गरेको माउन्टेन फ्लाइटमा विदेशी पाहुना पनि आउन थालेका छन् ।

प्रत्येक शनिवार फ्लाइट गर्ने गरी विराटनगरका व्यवसायीले माउण्टेन फ्लाइट सुरु गरेको तीनसाता भयो । यो अवधीमा ४-५ जना भारतीय पर्यटक पनि सहभागी भएका छन् ।

‘हामीले प्रचार प्रसार नगरी भारतबाट केही पर्यटकहरु आएका छन्’, पर्यटन व्यवसायी भविष श्रेष्ठ भन्छन्, ‘आगामी दुई हप्ताकालागि फ्लाइट लगभग बुक भै सक्यो ।’
उनी माउण्टेन फ्लाइट गर्न आन्तरिक तथा वाहृय पर्यटकहरुले चासो दिइरहेको बताउँछन् ।

यस अघि काठमाडौंबाट मात्र माउण्टेन फ्लाइट हुने गरेको थियो । तर, विराटनगरबाट नै ९ हजार ९ सयमा फ्लाइट हुनथालेपछि आन्तरिक पर्यटन प्रवर्द्धनमा पनि मद्दत पुगेको छ । आन्तरिक पर्यटकहरुको उत्साह र चासोले हौसिएका व्यवसायीहरु हप्तामा दुई पटक फ्लाईट चार्टर गर्ने योजना रहेको बताउँछन् ।

‘भारतमा प्रचार प्रसार गरेर माघपछि हप्तामा २ पटक फ्लाइट गर्न सकिन्छ की भनेर तयारी गरिरहेका छौं’, श्रेष्ठ भन्छन्, ‘चाँडै प्रचारप्रसारका लागि जाँदैछौ ।’

माउण्टेण्न फ्लाइट शुरु गरेपछि भारतबाट चासो राख्नेहरुको संख्या पनि बढेको विराट एसोशिएसन अफ ट्राभल एजेण्ट संघका अध्यक्ष फणिन्द्र अधिकारी बताउँछन् । भारतबाट टोली बनाएर आउनबारे पनि कुरा भइरहेको उनले बताए ।

आन्तरिक तथा वाहृय पर्यटकलाई लक्षित गरी विराटनगरबाट शुरु भएको माउण्टेन फ्लाइट काठमाडौंको भन्दा सस्ता रहेको अधिकारी बताउँछन् ।

विराटनगरबाट माउण्टेन फ्लाइट गर्दा प्रतिव्यक्ती ९ हजार ९ सय रुपैया तिर्नुपर्छ तर, काठमाडौंमा भने प्रतिव्यक्ती ११ हजार ६ सय ५० रुपैया तिर्नुपर्ने अधिकारीले बताए ।

छिटफुट भारतीय पर्यटकहरु पनि आएको बताउँदै उनले प्याकेजमा पर्यटन क्षेत्रको प्रचारका लागि भारत जाने तयारी भएको बताए । पर्यटन व्यवसायीका अनुसार आन्तरिक बजारले मात्र माउन्टेन फ्लाइट धान्ने अवस्था छैन ।

लामो समयदेखिको माग र दबावकाबीच विराटनगरबाट शुरु भएको माउन्टेन फ्लाइटले १ नम्बर प्रदेशको पर्यटन क्षेत्रको विकासमा महत्वपूर्ण टेवा पुग्ने व्यवसायीको विश्वास छ ।

निजी क्षेत्रका पर्यटन व्यवसायीहरूले स्थापना गरेको ‘विराट होलिडेज’ नाममा विराटनगर विमानस्थलबाट उडान शुरु गरिएको हो ।

माउन्टेन फ्लाइटको उद्घाटन गत ८ गते शनिवार प्रदेशका मुख्यमन्त्री शेरधन राईसहित मन्त्रीहरु इन्द्र आङ्बो, जगदिश कुसियैत, प्रदेश सरकारका प्रमुख सचिव केदार न्यौपानेलगायत विभिन्न मन्त्रालयका सचिवहरु, पर्यटन व्यवसायीसहितको टोलीले गरेको थियो ।

५५ मिनेटको माउन्टेन फ्लाइटका क्रममा सर्वोच्च शिखर सगरमाथा, ल्होत्से, कञ्चनजंघा, मकालु, गौरिशंकरलगायतका हिमशिखरहरुको अवलोकन गर्न पाइन्छ ।

व्यवसायीहरुले माउण्टेन फ्लाइटकालागि आएका पर्यटकहरुका लागि होलिडे प्याकेज पनि बनाएका छन् । वाहृय पर्यटकहरुकालागि समय तालिका अनुसार टुर प्याकेज निर्माण गरिएको अधिकारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment