Comments Add Comment

लामोसाँघु–जिरी सडक कालोपत्रेमा कमसल सामग्रीको प्रयोग

२७ मंसिर, सिन्धुपाल्चोक । चौतर्फी दबाबपछि लामोसाँघु जिरी सडक खण्डको मर्मत कार्य त सुरु भएको छ, तर ठेकेदारले प्रयोग गरेको निर्माण सामग्री कमसल रहेको स्थानीयले गुनासो गष्रेका छन् ।

ठेकेदारले काम छिटो गर्न माटोमाथि नै कालोपत्रे गर्न तयारी गरेका छन् । लामोसाँघु जिरी सडक खण्डको खडीचौरदेखि माथिको क्षेत्रमा सडकमासब ग्रेड, सब बेस (ग्राभेलिङ) र बेसको काम भइरहेको छ ।

कच्ची सडकमा कालोपत्रे गर्नुअघि नदीमा पाइने ग्राभेल ल्याएर बिछ्याउनु पर्नेमा ठेकेदारले सडक सफा गर्दा निस्केको माटो नै राखेर रोलरले पेल्न सुरु गरेका छन् । ‘खोलामा पाइने बालुवा र ढुङगा मिसिएको ग्राभेल हाल्नुपर्छ तरसडक छेउको माटो हालेर पेलिरहेका छन्’ एक स्थानीयले भने ।

कालोपत्रे गर्नुअघि सब बेस (गाभ्रेल), त्यसपछि बेस र बेस माथी अलकत्रा छरेर त्यसमाथि पिच ओछ्याउनुपर्ने प्राविधिकहरु बताउँछन् । तर ठेकेदारले काममा घाटा भएको भन्दै कमसल कालोपत्रे गर्ने तयारी गरेको स्थानीयको आरोप छ ।

अनुगमन गर्नुपर्ने निकाय लामोसाँघु–जिरी सडक सुधार आयोजनाका पूर्वप्रमुख केदार नेपाल माटोमाथि नै कालोपत्रे गर्ने कार्य गलत भएको बताउँछन् । यो सडक निर्माणको जिम्मा पाएको गौरी पार्वती निर्माण सेवाका डोरमणि पौडेल भने आफूहरुले गुणस्तरहीन काम नगरेको दाबी गर्छन् ।

‘परामर्शदाता हामीसँगै हुनुहुन्छ, उहाँहरुले पास गरिदिएपछि मात्रै हामीले कालोपत्रे गर्ने हो’ पौडेलले भने ‘उहाँहरुले समेत ठीक छ भनेपछि हामीले गाभ्रेलिङ सुरु गरेका हौं ।’

नदीको गाभ्रेलले मात्रै नहुने भएपछि माटो मिसाएर गाभ्रेलिङ गरेको पौडेलले बताए । तर सडक आसपासमा राखिएको सबै सब–बेस (गाभ्रेलिङ) माटोमात्रै रहेको छ । नदीको गाभ्रेलिङले काम नदिएपछि अहिले क्वारीको गाभ्रेलिङ सडकमा बिछ्याएको उनको दाबी छ ।

सडकमा राख्ने गाभ्रेलमा ८० प्रतिशत ढुङगा हुनुपर्ने भए पनि सब–बेस (गाभ्रेलमा) १० प्रतिशत पनि ढुङ्गा नरहेको स्थानीयको भनाइ छ । लामोसाँघु जिरी सडक सुधार आयोजनाका परामर्शदाताका इन्जिनियर अभिषेक प्रधान भने नियमसँगत रुपमा नै सडकमा सब–ग्रेड, सब–बेसको काम भइरहेको दाबी गर्छन् ।

ल्याबबाट पास गरेपछि मात्रै सब–ग्रेड गरेको सडकमा सब–बेस राख्न आफूहरुले लगाएको उनले दाबी गरे । नदीको सब–बेस ल्याएर माटो मिसाएर सडकमा सब बेस ओच्छ्याएको प्रधानले जानकारी दिए ।

सिन्धुपाल्चोकको खाडीचौरबाट दोलखाको जिरीसम्म ११० किलोमिटर लामोसाँघु जिरी सडकको चौडा बढाउने कार्य हाल भइरहेको छ । अक्टोबर २०१५ देखि सुरु गरिएको स्तरोन्नती कार्य २०१७ को अक्टोबरसम्ममा सकिनुपर्नेमा हालसम्म जम्मा ६५ प्रतिशत मात्रै काम सकिएको छ ।

ठेकेदारहरुको विवादका कारण सडक समयमा नै निर्माण नभएपछि सडक सुधार आयोजनाले २०७५ जेठ मसान्तसम्म सडक निर्माण सक्न समय दिएको छ । तर ठेकेदारहरुले यो समयभित्र पनि सडक निर्माण सम्पन्न हुनेमा जनप्रतिनिधिहरुले समेत शंका व्यक्त गरेका छन् ।

समयमा नै सडक स्तरोन्नती नहुँदा यो सडक हुँदै आवतजावत गर्ने तीन जिल्लाका सयौ यात्री समस्यामा छन् । राष्ट्रिय गौरवको तामाकोशी जलविद्युत आयोजनाको लागत र समय समेत सडकका कारण बढेको छ । सडक समस्याका कारण जलविद्युत आयोजनालाई आवश्यक पर्ने सामग्री लैजान समस्या भएको छ ।

भारतको एक्जिम बैंकको सहयोगमा सिन्धुपाल्चोकको खडीचौरदेखि मुडेनजिकै २५ किलोमिटर सडक निर्माण भारतको सिमाञ्चल निर्माण कम्पनी र नेपालको गौरी पार्वती र सुनौलो खिम्ती कनस्ट्रक्सनले पाएको थियो ।

५१ करोड ४४ हजार ८ सय १० रुपैयाँको लागतमा सडक चौडा र कालोपत्रे गर्ने जिम्मा दिइएको थियो । २०१५ को जुन ३ मा ठेक्का सम्झौता भएको थियो ।

त्यस्तै मुडेबाट चरिकोट सम्मको ३० किलोमिटर सडक स्तोरन्नतीको जिम्मा भारतको सकिल हैदर, शंकर माली र नेपालको सुनौलो खिम्तीले पाएको थियो । २०१५ को जुन १४ मा सम्झौता भएको र २०१८ को १ मार्चमा सडक मर्मत कार्य सक्नुपर्ने भए पनि यो खण्डको कामसमेत सकिएको छैन ।

९१ करोड ९४ लाख ९४ हजारमा सडक कालोपत्रे र चौडा बनाउनुपर्ने सडक सुधार आयोजनाले जानकारी दिएको छ । सुरु सम्झौतामा खडीचौरदेखि मुडेसम्म खण्डको लागि ४४ करोड ३६ लाख ९७ हजार रुपैयाँ थियो भने दोस्रो पटक ४७ करोड ३२ लाख र तेस्रो पटक ५० करोड रुपैयाँ लागत पु¥याएको छ ।

माघपछि कालोपत्रे सुरु गर्छौं

आफूहरुलाई दिएको अन्तिम समयसम्ममा खडीचौरदेखि मुडेसम्मको सडक कालोपत्रे सक्ने गरी काम सुरु गरेको निर्माण ठेकेदारहरुले दाबी गरेका छन् ।

‘माघ १५ सम्म कालोपत्रेका लागि तापक्रम पुग्दैन, त्यतिबेलासम्म हामी सब ग्रेड, सब बेस र बेसको काम गर्छौं, माघ १५ पछि एउटा टोलीले तलबाट कालोपत्रेको काम गर्छन् अर्काे टोलीले माथि त्यही काम गर्छन्’ ठेकेदार कम्पनीका डोरमणि पौडेलले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment