Comments Add Comment

अख्तियारभित्रै विक्रम पाण्डेका सुराकी !

२६ मंसिर, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगभित्रै ठेकेदार विक्रम पाण्डेका सुराकीहरु रहेको सुइँको पाएपछि टंगालमा हल्लीखल्ली मच्चिएको छ । अख्तियार प्रमुख नवीनकुमार घिमिरे अहिले आफ्नै कार्यालयभित्र भ्रष्टाचार आरोपीका सेवक को रहेछन् भन्ने खोजीमा लागेका छन् ।

ठूला विकासे आयोजनाहरुमा भइरहेको भ्रष्टाचारबारे छानविनका लागि अख्तियारले गृहकार्य गरिरहेकै बेला त्यहाँभित्रको गोप्य सूचना भ्रष्टाचार आरोपीसम्म पुग्ने गरेको खुलासा भएको हो ।

राप्रपा प्रजातान्त्रिकका नेतासमेत रहेका कालिका कन्स्ट्रक्सनका मालिक विक्रम पाण्डेमाथि मुद्दा चलाउन अख्तियारले तयारी गरिरहेका बेला कति रकम बिगो तोकिँदैछ भन्नेसम्मको पूर्वसूचना पाण्डेले पाएका थिए ।

विशेष अदालतमा मुद्दा दायर गरिसकेपछि अख्तियार प्रमुख घिमिरे अहिले आफ्नो कार्यालयमा विक्रम पाण्डेका सुराकी खोज्नतिर लागेको स्रोतले अनलाइनखबरलाई बतायो ।

स्रोतले भन्यो– ‘बिक्रम पाण्डेलाई मुद्दा चलाउनुअघि नै अख्तियारबाट उनलाई सम्पूर्ण रिपोटिङ भएको पाइएको छ । अख्तियारजस्तो संस्थामा बसेर भ्रष्टाचारीको पक्षमा काम गर्ने व्यक्तिको खोजी भइरहेको छ, फेला पर्नासाथ कारवाही हुन्छ ।’

राजनारायण पाठकको भूमिकामाथि शंका

यसैबीच अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकको भूमिकामाथि नै मूल नेतृत्वले शंका गर्न थालेको स्रोतले अनलाइनखबरलाई बतायो ।

पाठकले भ्रष्टाचारी एवं शंकास्पद व्यक्तिहरुसँग अनुचित सम्बन्ध राख्ने गरेको भन्दै उनीमाथि समेत आन्तरिक छानविन हुन थालेको बुझिएको छ । अख्तियारको आयुक्त भइसकेपछि पाठकले आचारसंहिता विपरीत कार्यहरु गरिरहेको गुनासो बढेपछि अख्तियारको मूल नेतृत्व सजग भएको हो ।

देशमा भ्रष्टाचार नियन्त्रणका लागि भूमिका खेल्नुपर्ने संस्थामा विगतमा आयोगका पदाधिकारी नै भ्रष्टाचारमा लागेको गुनासो आउने गरेकाले यो संस्थाको छवि धूमिल बनेको अवस्था छ । लोकमानसिंह कार्कीका पालामा अख्तियार नै भ्रष्टाचारको अखडा बनेको चर्चा चलेको थियो । अहिले पनि आयोगले पूर्णरुपमा जनविश्वास पुनःआर्जन गर्न सकिरहेको छैन ।

ठूला भ्रष्टाचारीमाथि कडा रुपमा प्रस्तुत हुने तयारी गरिरहेको आयोगले कार्यालयभित्रैका धमिराहरु हटाइसकेपछि सचिवमा पनि हेरफेर गर्ने र पुरानै सचिव प्रेम राईलाई ल्याउन सक्ने स्रोतको भनाइ छ । प्रेम राई प्रधानमन्त्री केपी ओलीका निकटस्थ मानिन्छन् । उनी अहिले गृहमन्त्रालयका सचिव छन् ।

हाल अख्तियारको सचिवमा महेश्वर न्यौपाने कार्यरत छन् ।

खाली सीटमा विपक्षीको दाबी

हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा चार जनामात्रै पदाधिकारी छन् । अख्तियार प्रमुखमा नवीनकुमार घिमिरे छन् भने आयुक्तहरुमा डा. गणेशराज जोशी, राजनारायण पाठक र डा. सावित्री थापा गुरुङ कार्यरत छन् ।

संविधानको धारा २३८ को उपधारा १ अनुसार अख्तियारमा एकजना प्रमुख आयुक्त र चारजना आयुक्तहरु रहने प्रावधान छ । दीप बस्न्यातको बहिर्गमन पञ्चात नवीन घिमिरे प्रमुख आयुक्त बनेपछि अब एउटा आयुक्त पद खाली छ ।

सूत्रहरुका अनुसार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अख्तियारजस्तो संवैधानिक अंगमा एकजना आयुक्त कांग्रेसको कोटाबाट हुनुपर्ने माग गरिरहेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले गणेशराज कार्कीलाई आयुक्त बनाउन प्रधानमन्त्री केपी ओलीसँग लबिङ गरिरहेका छन् ।

अख्तियारजस्तो संवैधानिक अंगमा सत्तापक्षको मात्रै एकाधिकार नहुने गरी विपक्षीको पनि प्रतिनिधित्व हुनुपर्ने जिकिर कांग्रेस नेताहरुको छ ।

गोपाल पराजुलीकी श्रीमतीको काज फिर्ता

यसैबीच, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उपसचिवका रुपमा कार्यरत बसन्ता पराजुलीलाई हटाइएको स्रोतले बतायो । बसन्ताका पति गोपाल पराजुली प्रधानन्यायाधीश भएका बेला बसन्तालाई वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रबाट अख्तियारमा काज खटाइएको थियो ।

दीप बस्न्यात अख्तियार प्रमुख रहुञ्जेल त्यहाँ खटिएकी बसन्तालाई नवीनकुमार घिमिरे आएपछि काज फिर्ता गरी अख्तियारबाट विदाइ गरिएको स्रोतले बतायो ।

त्यसैगरी अख्तियारमा रहेर शंकास्पद क्रियाकलाप गरेको भन्दै भवानी सुवेदीलाई पनि हटाइएको स्रोतले बतायो । सुवेदी लोकमानसिंह कार्कीको कार्यकालमा उनका सहयोगी एवं हर्ताकर्ता थिए ।

यो पनि पढ्नुहोस विक्रम पाण्डेको कालिका कन्स्ट्रक्सन: देशैभरि बदनाम ! यो पनि पढ्नुहोस पूर्वमन्त्री विक्रम पाण्डेविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment