Comments Add Comment

भूपिको टाउकोमा नारायणगोपालको मुक्का !

लौ सुन म भन्छु मेरो राम कहानी
त्यो एक दिनको घाम, सयौं दिनको पानी
लौ सुन म भन्छु मेरो राम कहानी …

यो गीतका गायक नारायण गोपाल आफ्नो जीवन कहानी सुनाउन हामीमाझ छैनन् । रचनाकार तथा संगीतकार गोपाल योञ्जनले पनि संसार छोडिसके, जो नारायण गोपालका मीत पनि हुन् । तर, आज उनै नारायण–गोपालको कहानी सुनाउनका लागि कवि तथा गीतकार नगेन्द्र थापा उपलब्ध छन् ।

उनै नगेन्द्र, जसले दार्जिलिङमा मक्कलको आगो साक्षी राखेर नारायण–गोपालको मीत लगाइदिएका थिए । उनै नगेन्द्र जो नारायणगोपालको जीवनभरको सहयात्री बने, र अन्तिम क्षणको प्रत्यक्षदर्शी ।

०००

जिन्दगीको कुन मोडमा को भेटिन्छ र त्यो भेटले कुन मोड लिन्छ, भन्ने धेरैको कल्पनाभन्दा बाहिर हुन्छ । नगेन्द्रको पनि त्यस्तै कल्पना बाहिरको भेट थियो नारायण गोपाल र गोपाल योन्जनसित । जब उनीहरुले दार्जलिङमा भेटेर केही दिन बिताए, लाग्न थाल्यो कि ‘हामी भर्खर भेटेका साथी हुँदै होइनौँ, हाम्रो सम्बन्ध त सदिऔँदेखिको हो ।’ त्यसपछि उनीहरुको सम्बन्धको डोरी कहिल्यै चुँडिएन ।

नारायणगोपाल भारतको बयोधामा शास्त्रीय संगीत अध्ययन गर्दै थिए । बयोधाबाट उनी दार्जिलिङ पुगेका थिए । नेपाली साहित्यका धरोहर ईश्वर बल्लभ र वैरागी काँईला पनि दार्जिलिङमै । उनीहरुमार्फत नारायणगोपाल र गोपाल योञ्जनसित भेट भयो नगेन्द्रको ।

त्यतिबेला उनीहरुको उमेर अल्लारे थियो, २०–२२ को । नारायण गोपालले पनि दुई चार वटा अल्लारे गीत नै गाएका थिए, हे कान्छा ठट्टैमा… टाइपका । दार्जलिङमै बसेर गोपालले संगीतको महासागरमा डुवुल्की मारिसकेका थिए । नगेन्द्रले गीत, कविता लेख्थे ।

अर्को दिन ईश्वर बल्लभले नगेन्द्रलाई प्रस्ताव राखे, ‘यी दुई नेपाली संगीतको भोलिका कर्णधार हुन्, मीत लगाइदिऔँ ।’ नगेन्द्र पनि सहमत भए । उनले दुबैलाई मनाए । ७४ वर्षिय नगेन्द्र सुनाउँन्, ‘त्यतिबेला ईश्वर बल्लभ, कर्म योन्जन र म महाँकाल डाँडाको मन्दिरमा गयौँ । त्यहाँ दौरा–सुरुवाल र टोपीमा ठाँटिएर नेपाली पुजारी बस्थे । पहिला मक्कल बाल्न लगायौँ । अनि आगोलाई साक्षी राखि दुई जनाको मीत लगाइदियौँ ।’

०००

सन् १९६३ तिर नगेन्द्र र गोपाल योन्जन दार्जिलिङको नर्थपोइन्ट कलेजमा पढ्थे । सामान्य साथी थिए । एक दिन जाडो मौसममा यत्तिकै झ्यालमा घाम तापेर बसिरहेका थिए । बाहिर कसैले एकतारे बाजा रेटिरहेको थियो । गोपालले भने, ‘जाउँ न हामी पनि ।’

‘उ गएर दाम सोध्यो । चार आना बुझायो र बजाउन थाल्यो,’ त्यो दृष्य अहिले पनि नगेन्द्रको आँखामा झल्झली आउँछ, ‘यस्तो बजायो, यस्तो बजायो, यस्तो बजायो कि म उप्रति मोहित नै भएँ ।’

कविता मात्र लेख्ने नगेन्द्रले त्यसपछि गीत लेख्न थाले । दैनिक कला मन्दिर गएर दुई तीन घण्टा गीत गाउन पनि थाले । मित्रताको डोरी झन्–झन् कसिलो बन्दै गयो । र, त्यही डोरी भित्र कसिन आइपुगे नारायण गोपाल ।

मीत लगाएको केही समयपछि फेरि नारायणगोपाल टुप्लुक्क दार्जिलिङ आइपुगे । र, उनले भने, ‘रेडियो नेपालले आठवटा गीत गाउने कन्ट्र्याक्ट दिएको छ, गीत चाहियो ।’

त्यसपछि गोपाल योञ्जनले थुप्रै तयारी गीत गाएर सुनाए । त्यहाँबाट नारायण गोपालले आठवटा गीत छनौट गरे । जसमा नगेन्द्रका पनि थिए । अनि नारायण गोपाल कलकत्तामा गएर रेकर्ड गरे ।

‘ती गीतले नेपाली सुगम संगीतमा बेग्लै प्रभाव छोड्यो । सबैभन्दा बढी बजिने गीत बने’, नगेन्द्र दावी गर्दै भन्छन्, ‘जुन दिन ती गीत बज्न थाले, त्यही दिनदेखि नेपाली सुगम ंसंगीतको स्वर्णिम काल शुरु भयो ।’

ती गीतहरुमा तिम्रो जस्तो मुटु मेरो पनि, बिर्सेर फेरि मलाई नहेर, संगाल घुम्टोहरु सजाउ केशहरुलगायत थिए । त्यसपछि त नेपाली संगीत आकाशमा नारायण गोपालको जबरजस्त उदय भइहाल्यो ।

०००

१९६७ मा ब्याचलरको पढाई सकेपछि नगेन्द्र नेपाल फर्किए । र, नेपालमै अंग्रेजी साहित्य पढ्न थाले । तर, उनी फेरि गोपालविना नेपालमा टिक्नै सकेनन् ।

यादहरुमा हराउँछन् नगेन्द्र, ‘म तीन महिने जाडो बिदामा पनि कहिल्यै घर आइनँ । हामी हिमालय कला मन्दिरवाहिर रातभर कोइला बालेर चिसो छिँडीमा बस्थ्यौँ । गोपालले संगीत गथ्र्यो, गाउँथ्यो, म सुनेर बस्थेँ । दशैँ तिहारमा उसकै बा–आमाबाट टीका लगाउँथेँ ।’

नगेन्द्रका दाई सूर्यबहादुर थापा नेपालका प्रधानमन्त्री थिए । आफन्त यतै थिए । सबै पुग्दो थियो । तर पनि गोपालविनाको काठमाडौं नगेन्द्रलाई साहै्र न्यास्रो लाग्यो । आफुलाई थाम्नै सकेनन् । दार्जिलिङ गए र गोपाललाई काठमाडौं ल्याउन उनकी आमालाई सम्झाउन थाले । पढाईदेखि करिअरदेखिको कुरा गरेर अन्तमा मनाइछाडे ।

उनीहरु के काठमाडौं आउनु, नारायण गोपाल पनि टुप्लुक्क आइपुगे । आत्तिएर नगेन्द्र र गोपालले सोधे, ‘तिम्रो पढाई सक्किन त अझै डेढ वर्ष छ किन आएको ?’

नारायण गोपालको जवाफ थियो, ‘यो कोर्स पुरा गरेपछि म सुगम संगीत गाउन सक्दिनँ । म शास्त्रीय गायक भएर निस्कन्छु । त्यसैले म भागेर आइपुगेँ ।’ त्यसपछि यी तीनको काठमाडौंमा दोस्ती मज्जाले जम्यो ।

०००

नारायणगोपालको ज्यान निकै गठिलो थियो । नगेन्द्रको भनाईमा उनले खान मिल्ने चीज कुनै छोडेनन्, चुरोटदेखि गाँजासम्म, सुर्तीदेखि अफिमसम्म । रक्सी त उनले जातले नै पाएका थिए ।

नगेन्द्र भन्छन्, ‘यो टेबुल खान मिल्थेन उसले खाएन । धुवाँ, धुलो, ठोस र तरल पदार्थ सबै खायो ।’

स्वर बिग्रेला भनेर नारायण गोपालले कुनै चीज खान छोडेनन् । तर, उनको स्वर कहिल्यै तलमाथि भएन । नगेन्द्र भन्छन्, ‘रातभर बसेर लोकल ठर्रादेखि मंहगा रक्सी खान्थ्यो । उसलाई खसीको मासु मन पथ्र्यो, त्यसमा पनि ह्याकुला । चिल्लो, पिरो, गुलियो, अमिलो केही बारेन । त्यसका बाबजुद उसको स्वर, अनुपम हो, अद्वितीय हो ।’

ती दिनमा बडो बिन्दास थिए यी तीन युवा । दैनिकजसो भेट हुन्थ्यो । जक्सन हन्थ्यो नयाँ सडक र पीपलबोट । साँझ प¥यो भने डवली र भजन मण्डलीहरुमा घुम्थे । त्यहाँ बुढाहरुले भजन गाइरहेका हुन्थे । ‘हामी नि गाउँ न’ भन्दै दुई मित कस्सिन्थे ।

‘गोपाल योञ्जनले हार्मोनियम समाएर नारायण गोपालले गाउन थालेपछि कस्तो होला ? बुढाहरु ट्वा परेर हेर्थे । अनि उनीहरुले नचिन्दै हिँडेर अर्को डवलीमा पुगिसक्थे’, सम्झँदा नगेन्द्रबाट खित्का छुट्छ ।

प्राय बेलुकी बेलुकी नगेन्द्र र नारायणगोपाल पशुपति घुम्न निस्कन्थे । त्यहाँ नारायणगोपालका परिचित जोगी थिए । देख्नेवित्तिकै जोगीले नारायणगोपाललाई बोलाइहाल्थे । अनि चिलिम भरेर नारायणगोपाललाई थमाउँथे । नारायण गोपालले दुई सट हान्थे । ती जोगीले पनि उसरी नै हान्थे । अनि भन्थे, ‘ल एउटा गीत गाउँ ।’

नारायण गोपालको किलागलको घरमा पनि पुगिरहन्थे, नगेन्द्र । घरमा उनी प्राय गन्जी र लुंगीमा हुन्थे । सिरानीमा तानपुरा, तवला हार्मोनियम लहरै हुन्थ्यो ।

‘म गएपछि उ जोस्सिहाल्थ्यो । अनि भन्थ्यो, सोम आज तिमीलाई हनुमान नाच देखाउँछु । अनि तानपुरा समाएर बुरुक्बुरुक उफ्रिन्थ्यो । माटोले लिपेको घर उ अफ्रदा थरथरथर हुन्थ्यो’, झन् गहिरो गरी हाँस्छन् नगेन्द्र, ‘उसको हातका बुढी औँला त मेरो खुट्टाका जत्रा थिए । एक मुक्का हानेपछि जसलाई पनि ढाल्ने खालको शरिर थियो । केहीलाई ढाल्यो पनि । हामी उसलाई ‘असनको साँढे’ भनेर जिस्क्याउँथ्यौं ।’

नारायण गोपाल बिन्दास थिए । मनमा लागेको कुरा गरिहाल्थे । जहाँ मन लाग्यो त्यहीँ पुग्थे । चुरोटको पनि जहाँ मन लाग्यो त्यहीँ पिइदिन्थे । मदिराले मात्नको लागि पनि उनलाई कुनै विशेष ठाउँ चाहिन्नथ्यो । हरेक दिनजसो पिउँथे । नगेन्द्रकै भाषामा भन्ने हो भने, नारायण मुडी, हठी र आक्रामक थिए ।

एकपटक भूपि शेरचन, गोपाल योञ्जन, नगेन्द्रलगायतको एउटा समुह सँगै बसेर पिउदै थिए । बाटोमा फर्कने बेला कसैले निकै रफ बोल्यो । नारायणले मुक्का उज्याइहाले । तर, उसले छल्यो । मुक्का बर्सियो, भूपि शेरचनको टाउकोमा । उनी थचक्कै भए । अर्को विहान हेर्दा भूपिको निधारमा ‘अम्बा’ फलेको थियो ।

‘उसले गाउँदा गाउँदै पनि कसैले केही भन्यो भने सिधै जुध्न आइज भन्ने हो । छेउमा कन्ट्रोल गर्ने मान्छे छैन भने उसले बिताइहाल्थ्यो’, मसिना मसिना कुराहरु पनि खोल्न थाल्छन् नगेन्द्र ।

बिस्तारै नारायणगोपाल चुरोट र रक्सीको यस्तो अम्मली बने कि पिएर नै गाइरहेका हुन्थे । तर, नपिइकन गाउँदै नगाउने चाहीँ होइन ।

०००

नगेन्द्रहरु ज्ञानेश्वरमा आफ्नै डेरा नजिक चिया पिउँदै थिए । घाम उदाउन क्षितिज रातो भएको थियो । त्यहीँ देखा परे, नारायण गोपाल । हातमा कपडाको ट्यांकर झुण्डाएका थिए । अनुहार झरिपर्ने बादलजस्तो थियो । धेरै बेरसम्म खुलेनन् नारायण । लामो समयपछि बास्तविकता सुनाए, ‘हेर न विहे गर्न हिँडेको एक पैसा पनि छैन ।’

नगेन्द्रले भने, ‘किन चिन्ता लिएको ? १८ हजार त शोबाट बचेको तिम्रै पैसा छ मसँग ।’

नारायणले भने, ‘त्यतिले त कहाँ पुग्ला र ?’

२५ हजार हातमा थमाएर दार्जिलिङकी पेमला लामालाई विहे गर्नको लागि पठाए नगेन्द्र र गोपालले । नारायण र पेमलाको सम्बन्ध पत्रमित्रताले जोडेको थियो । त्यतिबेला हुलाकबाट चिठी आदानप्रदान हुन्थ्यो । उनीहरुबीच पहिलो भेटको साइत पनि गोपाल र नगेन्द्रले नै जुराएका थिए ।

नारायणगोपाल नेवारमा निकै माथिल्लो जात भनिने कुलिन खानदानमा जन्मेका । तर, उनको र परिवारसित त्यति न्यानो सम्वन्ध थिएन । अझ पेमलासँग अन्तरजातीय विहे गरेपछि त पानी बाराबारकै अवस्था भयो । नारायणगोपाल घरमा टिक्नै सकेनन् । ६–८ महिना भूपि शेरचनले पोखराको आफ्नो घरमा उनलाई आश्रय दिए ।

त्यसपछि काठमाडौं फर्किएर नाचघर नजिकै डेरा लिएर बस्न थाले । साँघुरो कोठा, केही थान पकाउने र खाने भाँडा अनि एउटा खाट र ओढ्ने ओच्छाउने । अरु त्यस्तो केही थिएन । निकै कष्टकर दैनिकी थियो नारायण दम्पत्तीको ।

नारायणको बाबुको हेटौडामा पनि घर थियो । यो काठमाडौंका उकुसमुकुस झेल्नभन्दा हेटौडा गएर बस्ने निर्णयमा पुगे उनी । यसमा बाबु पनि सहमत भए । तर, नगेन्द्र र गोपालले जानै दिएनन् ।

त्यतिबेला नाचघरको जागिरे थिए नारायण । पेमलाले पनि जागिर थालिन् । त्यही बेला नगेन्द्रको नाममा नाचघरको जिएम बन्ने चिठ्ठी आयो । तर, उनले आफूलाई आएको अवसर नारायण गोपालतिर सारे । नारायणगापाल जीएम बने । अनि उनको जीवनयापन सहज बन्दै गयो । नगेन्द्र भन्छन्, ‘श्रीमतीलाई निकै माया गथ्र्यो । बिहेपछि धेरे सुध्रियो पनि । उनीहरु पर्फेक्ट हस्बेन्ड एण्ड वाइफ थिए ।’

०००
नेपाली संगीतलाई कैयन् हिट गीत र संगीत दिने नारायणगोपाल र गोपाल योञ्जनले पछि सांगीतिक सहकार्य किन गरेनन् ? अहिले पनि आश्चर्यमिश्रित चासो व्यक्त गर्छन् संगीतकर्मी पनि । कतिले त सम्बन्ध बिग्रिएको कुरा पनि गर्छन् ।

के त्यस्तै हो त ? नगेन्द्र आफैं यसमा प्रष्ट छैनन् । भन्छन्, ‘नारायणले घोषणा गरेको पनि होइन । तर, खै किन हो गोपालको गीत गाएन ।’

नगेन्द्रलाई लाग्थ्यो, यी दुईलाई जति जोडेर राख्न सकिन्छ त्यति नेपाली सुगम संगीतको कद उँचो हुन्छ ।’ सगीतमा सहकार्य नगरे पनि भेट्दा उनीहरु उस्तैगरी ठट्टा गर्थे । ठट्टामा प्रायः केटीका कुरा हुन्थे ।

नगेन्द्रले अनुमान के लगाउँछन् भने गोपालसँग भेटेपछि नारायण विशुद्ध गायक बने । त्यसभन्दा पहिले संगीत पनि गर्थे । त्यसैले नारायणलाई फेरि संगीत गर्नु थियो । त्यसैले पो सांगीतिक सहकार्य टुंगियो की ! तर, नगेन्द्रले पनि अनुभव गरेको कुरा के भने पछि पहिलेको जस्तो अत्मीयता देखिएन उनहिरुबीच । यसभन्दा बढी रहस्य उनीहरुले आर्यघाटमा आफुसँगै जलाए ।

०००

नारायण गोपालको खानपिनमा अनुशासन पटक्कै थिएन । त्यसैले उनी रोगले थलिदै थिए । खासगरी उनलाई मधुमेहको समस्या थियो । तर, खानामा निकै सौखिन भएकाले केही बार्दैनथे । परिणाम २०४७ मा उनको मिर्गौला फेल भयो र पुगे बीर अस्पतालको शैयामा ।

नारायण गोपालको अस्पतालमा डाइलोसिस हुँदै थियो । बसन्त चौधरीले मिर्गौला प्रत्यारोपणको लागि भारतको मद्रासमा व्यवस्था मिलाईसकेका थिए । त्यही बेला नारायण गोपाललाई हृदयघातले हान्यो ।

त्यतिबेला नगेन्द्र २४ सै घण्टा हस्पिटलमै हुन्थे । खान मात्र घर पुग्थे । त्यतिबेला पालो दिन उनको पत्नी हस्पिटल पुग्थिन् । नगेन्द्रसँग मात्र नभएर परिवारसँग पनि उत्तिकै आत्मीय सम्बन्ध थियो नारायण गोपालको ।

बोल्न त मज्जैले सक्थे नारायण गोपाल । उनको जिद्दीले मासु दुई टुक्रा, सानो टुक्रा जेरी, आधा सवारी र एक टुक्रा ससेज मात्र खाने सल्लाह थियो डाक्टरको । नारायणले नगेन्द्रसँग भन्थे, ‘हेर न सोम डाक्टरले नखा भन्छ, तर, दियो भने त एक पाउ जेरी र एक पाउ स्वारी चाहीँ अहिले पनि बसेर खान सक्छु ।’ नारायणले बढी नै जिद्दी गरेपछि चाहीँ पछि दुई तीन–चार टुक्रा नै ससेज पाउन थाले ।

०००

अस्पतालमै एक दिन अचानक नारायणले नगेन्द्रलाई दुई जना वकिल ल्याउन भने ।

नगेन्द्र झोक्कए, ‘तिमीलाई अहिले किन चाहियो वकिल ?

नारायणले जवाफ दिए, ‘मेरो महाराजगञ्जमा भएको प्रोपोर्टी ट्रस्ट बनाएर राख्नुपर्‍यो र त्यहाँ बच्चाबच्चीलाई अर्केस्ट्रा सिकाएर अर्केस्ट्राबादकहरु उत्पादन गर्नुपर्यो । नेपालमा भ्वाइलिन नै भएन ।’

हस्पीटलमा नारायणले आफ्नो स्वास्थ्यको भन्दा भविष्यको संगीतको चिन्ता गर्थे । अस्पतालमा बस्दा–बस्दा उनी बटुराउन पनि थालिसकेका थिए । त्यतिबेला नेपाली मिडियाका मुख्य समाचार नै नारायण गोपालको स्वास्थ्यबारे हुन्थ्यो । कांग्रेस नेताहरु कृष्णप्रसाद भट्राई, गणेशमान सिंह भेट्न आइरहन्थे ।

हृदयघात भएको एक हप्तापछि फेरि मस्तिष्कघात भयो उनलाई । त्यसपछि उनी पूर्णतया अचेत भए । सास मात्र फेर्न सक्थे । नगेन्द्र मलिन हुँदै भन्छन्, ‘चिकित्सकका अनुसार बाँच्ने कुनै सम्भावना नै थिएन । अवस्था यस्तो आयो की उसको त्यो हालत देखेर मैले नै सिघ्र मृत्यूको कामना गर्नुपर्यो ।’

०००

र, १९ मंसीर, ०४७ मा नारायण गोपालले अन्तिम सास फेरे । जतिबेला उनको उमेर मात्र ५१ वर्षको थियो ।

नगेन्द्रको अनुहार अँध्यारो बन्दै जान्छ, ‘चौरमा शव निकाल्नुपर्ने थियो । म टुलुटुलु हेरेर बसिरहेको थिएँ । बाहिर सडकमा मान्छेको भीड लागिसकेको थियो । कोलाहल उत्पन्न भएको थियो । डेढ दुई घण्टापछि गोपाल योन्जन आयो । गोपाललाई देखेपछि हामी अंगालो मारेर धेरैबेर रोयौँ ।’

शबयात्रा र आर्यघाटमा यति मानिस थिए कि, बीपीपछिको दोस्रो ठूलो जनसागर मानिएको थियो त्यो । नारायण गोपालको आगोको मुस्लोबाट निस्केको राप र धुँवाले यही गीत गाएजस्तो लाग्थ्यो ः

जीवनदेखि धेरै धेरै नै थाकेर
म मुर्दा भएको तिमी आज हेर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment