Comments Add Comment

ओलीसँग पूर्वएमाले गरम, पूर्वमाओवादी नरम !

२ पुस, काठमाडौं । पार्टी एकीकरणपछि पहिलोपटक खुलेर छलफल गर्न पाएका नेकपाका स्थायी कमिटी सदस्यहरुले सरकार र पार्टी सञ्चालनको शैलीप्रति नेतृत्वको खुलेर आलोचना गरेका छन् ।

सोमबारबाट अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको प्रतिवेदनमाथि छलफल शुरु भएको छ ।  पहिलो दिन बोल्ने प्रायः सबै नेताले सरकार र पार्टी नेतृत्वप्रति निराशा र आक्रोश व्यक्त गरे । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकमा सोमबार वामदेव गौतम लगायत १० जना स्थायी कमिटी सदस्यले बोलेका थिए ।

बैठकको रुझानः सरकार र पार्टी नेतृत्वप्रति निराशा

सोमबारको बैठकमा बोल्ने १० जनामध्ये प्रायः कसैले पनि सरकार र नेतृत्वको बचाउ गर्न नसकेको स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले अनलाइनखबरलाई बताए । यद्यपि पूर्वएमालेका नेताहरु जति ओलीप्रति आक्रामक थिए, पूर्वमाओवादी नेताहरु त्यति आक्रामक नदेखिएको रायमाझीले सुनाए ।

‘पूर्वएमाले वृत्तका साथीहरुमा अलि बढी नै असन्तुष्टि र आक्रोश देखियो । हामी सकेसम्म मिलाएरै जानुपर्छ भन्नेमा छौं’ उनले भने, ‘पूर्वमाओवादी पृष्ठभूमिका साथीहरुको आजको प्रस्तुति मझधारमै थियो तर, पूर्वएमालेभित्र निकै ठूलो असन्तुष्टि देखियो ।’

सोमबारको बैठकमा अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली लगायतले पनि पार्टी नेतृत्वको कार्यशैलीको आलोचना गरेका थिए ।

संस्थापन इत्तर पक्षका नेता घनश्याम भुसालले सैद्धान्तिक र बैचारिक कुरा मात्रै राखेका छन् । उनले बुँदागतरुपमा आफ्नो सुझाव राख्दै अध्यक्षद्वय ओली र प्रचण्डका तर्फबाट पेश भएको राजनीतिक प्रतिवेदनमा केही पनि उल्लेख्य कुराहरु नभएको टिप्पणी गरेका थिए ।

भुसालको भनाइ थियो, ‘अध्यक्षको प्रतिवेदनमा केही पनि छैन । मूलतः यो राजनीतिक दस्तावेज नै होइन । आजका हाम्रा चुनौति र भोलिको हाम्रो बाटो के हुने भन्ने कुनै कुरा छैन । त्यसैले यसलाई समृद्ध बनाएर पुनर्लेखन गर्नुपर्छ ।’

बामदेवको प्रतिवेदनमा पनि नकारात्मक कुरा मात्रै रहेको र यसले पनि कुनै समाधान नदिने उनले बताए ।

अर्का स्थायी कमिटी सदस्य बेदुराम भुसालले विधान अनुसार पार्टी सञ्चालन नभएको कुरालाई तथ्यसहित पेश गरेका थिए । विधानअनुसार तीन महिनामा स्थायी कमिटी बैठक बस्नुपर्नेमा ६ महिनामा बसेको भन्दै उनले नेतृत्वबाटै पटक-पटक विधान विपरीत काम भएको आरोप लगाएका छन् ।

प्रदेश इञ्चार्ज र अध्यक्ष चयन गर्दा विधानको धारा ४६ विपरीत मुख्यमन्त्री र इञ्चार्ज एकै व्यक्तिलाई दिएकाले सो निर्णय अवैधानिक भएको बेदुरामको भनाइ थियो । त्यस्तै प्रदेश कमिटी सदस्यहरु चयन गर्दा पार्टी सदस्य नै नभएका व्यक्तिहरुलाई विभिन्न पार्टीबाट प्रवेश गरेको भन्दै चयन गरिनु विधानविपरीत भएकाले बदर हुनुपर्ने उनले बैठकमा बताए ।

नेकपाको अन्तरिम विधान मस्यौदाकार मध्येका एक भुसालले सचिवालयले पटक-पटक विधानमा आफूखुसी थपघट गरेर बिगारेको भन्दै स्थायी कमिटीले विधान टुंगो लगाउनुपर्ने बताएका थिए ।

पूर्वमाओवादीहरु ओलीप्रति नरम

सोमबारको बैठकमा पूर्वमाओवादी पृष्ठभूमिका नेताहरु भने केही लचिलो रुपमा प्रस्तुत भएका थिए । वनमन्त्री समेत रहेका शक्ति बस्नेतले सरकारको बचाउ प्रयास गर्दै जनस्तरमा भएका आलोचनाको पार्टीले समीक्षा गर्नुपर्ने बताएका थिए ।

अर्का नेता अग्नि सापकोटाले शुरुमा पार्टी अध्यक्षको प्रतिवेदनको समर्थन गर्दै सरकारको आलोचना गरेका थिए । अर्का नेता हरिबोल गजुरेलले आफ्नो मत लिखितरुपमै राखेका थिए । गजुरेलले तत्कालीन एमाले र माओवादी दुबै पार्टी संकटमा थिए भन्दै संकटमोचनका लागि एकता गरेको दाबी गरे ।

अर्का नेता गणेश साहले आफू सानो पार्टी चलाएर आएको भन्दै ठूलो पार्टीभित्र विभिन्नखाले प्रवृत्ति देखिएको भन्दै व्यंग्य गरे । विधि विधानको मात्रै कुरा गर्ने एकथरी नेता र बिचारको कुरा गर्ने अर्काथरि नेता देखिएको भन्दै उनले आफूले विकास र विज्ञान प्रविधिको कुरा गर्न रुचाउने बताएका थिए ।

बामदेव आक्रोशित

सोमबारको बैठकमा बोल्ने पूर्वएमालेतर्फका नेताहरुमध्ये बामदेव गौतमले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीलाई औंला ठड्याएरै चेतावनी दिएको बैठकका सहभागीले बताए ।

बैठकमा लिखित रुपमै फरक मत पेश गरेका गौतमको सोमबारको प्रस्तुति आक्रोशले भरिएको थियो । तर, उनले प्रचण्डको भने खासै आलोचना गरेनन् । नेता गौतमले संविधानले दिने भए दुईवटा प्रधानमन्त्री बनाउनु हुन्थ्यो भन्ने केपी ओलीको भनाइप्रति आक्रोश व्यक्त गरे । उनले प्रधानमन्त्री र अध्यक्षजस्तो जिम्मेवारीमा बसेको व्यक्तिले मजाक गर्न नमिल्ने बताए ।

स्थायी कमिटीको अर्को बैठक मंगलबार बिहान ८ बजे बस्ने छ । बैठकमा बोल्न बाँकी रहेका नेताहरुले आफ्ना कुरा राख्नेछन् । नेकपाको स्थायी कमिटीमा ४५ सदस्य छन् । सोमबारको बैठकमा १० जनाले मात्रै आफ्नो धारणा राखेका छन् । यही क्रममा सबै नेताले बोलिसक्न अझै केही दिन लाग्ने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment