Comments Add Comment

ओलीलाई बामदेवको चुनौती–दुई तिहाई छँदैछ, संविधान संशोधन गरेर दुवैजना प्रधानमन्त्री बन्नुस्

२ पुस, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता बामदेव गौतम स्थायी कमिटी बैठकमा फरक मतसँगै थप आक्रामक बनेका छन् । सोमबार आफ्नो फरक मतको औचित्य पुष्टि गर्दै गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति तीव्र आक्रोश व्यक्त गरेका हुन् ।

बैठकको शुरुमै बोल्ने समय पाएका गौतमले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीले आफ्नो फरक मतलाई मजाक बनाएको र हल्का टिप्पणी गरेको भन्दै माफी माग्न चेतावनी दिएको स्रोतले जनाएको छ ।
ओलीले आइतबार आयोजित पार्टी निकट वकिलहरुको कार्यक्रममा बामदेवलाई सांकेतिक जवाफ दिएका थिए ।

बामदेवले फरक मत राख्ने क्रममा ओलीले अध्यक्षको भूमिका निर्वाह गर्न नसकेको भन्दै प्रचण्डलाई जिम्मा दिनुपर्ने बताएका थिए । त्यसको जवाफमा ओलीले ‘संविधानले मिल्दैन, नत्र दुईटा प्रधानमन्त्री बनाउन हुन्थ्यो’ भन्दै व्यंग्यात्मक जवाफ दिएका थिए ।

नेता गौतमले भने पार्टी बैठकमा उठेको कुरालाई सार्वजनिक रुपमा मजाकको विषय बनाएकोमा आपत्ति जनाएका छन् । उनले पार्टी र सरकार स्वेच्छाचारी ढंगले चलाएको र हावादारी कुरा गरेको भन्दै ओलीमाथि कडा प्रहार गरेको एक नेताले बताए ।

सचिवालय सदस्यसमेत रहेका गौतमले भने ‘प्रधानमन्त्री र पार्टी अध्यक्षजस्तो व्यक्तिले मजाक गर्न सुहाउँछ ? मिल्ने भए प्रधानमन्त्री पनि दुबै जना हुने थियौं भनेर मजाक गर्ने ? दुई तिहाई छँदैछ तपाईसँग, संविधान संशोधन गर्नुस न । बनाउनुस् दुवैजना प्रधानमन्त्री ।’

गौतमले शनिबारकै बैठकमा लिखित धारणा स्थायी कमिटी सदस्यहरुलाई बाँडेका थिए । सोमबार त्यसबारे प्रष्ट्याउने क्रममा ओलीको चर्को आलोचना गरेका हुन् ।

आफूलाई चुनावदेखि पेलेको र विभिन्न नाममा बदनाम गर्दा पनि आफू मौन बसेको भन्दै गौतमले बैठकमा भने, ‘अब आत्मरक्षाका लागि बोल्न बाध्य भएँ ।’

यो पनि पढ्नुहोस नेकपामा प्रतिपक्षको खोजी : वामदेवले मार्लान् बाजी ? यो पनि पढ्नुहोस वामदेवको ‘फरक मत’ मा माधव नेपालको असहमति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment