Comments Add Comment

प्रमोद खरेल: डाक्टर बन्ने सपना बिसाउँदै संगीतमा रमाएँ

३ पुस, काठमाडौं । ‘मबिना कसैकसैलाई मुस्किल छ पोखरामा’ धून अलाप्दै गर्दा चिसो सिरेटोको एक झोंकाले झ्यालको पर्दा हल्लाउँछ । उनको औंलाहरु यन्त्रवत् हारमोनियममा चल्मलाइरहेका छन् । ती औंलाहरुका चालबाट उत्पन्न ध्वनीमा उनले आफ्नो आवाज मिसाइदिन्छन् । मध्यान्हको चिसो बतास, अविछिन्न माधूर्य धुन र प्रमोद खरेल आपसमा एकाकार भएझैं लाग्छ ।

हामी छौं, उनको साधना-कक्षमा । आफ्नै बलबुँताले ठड्याएको तीनतले घरको एक कक्षलाई उनले आफ्नो साधनाको थलो बनाएका छन् । एउटा भुइँ पलङ छ । त्यहीँ छ उनको हारमोनियम । र, हारमोनियम अघिल्तिर छन्, प्रमोद  ।

उनी सुनाउँछन्, ‘मैले आफ्नो परिवारसँग भन्दा बढी यो कोठामा समय बिताउँछु ।’

उनी जहाँ पद्मासन शैलीमा बसेका छन् । त्यसको ठीक दायाँ-बायाँ अवार्ड, प्रशंसापत्र, सम्मानपत्र टाँगिएका छन् । ति अवार्डहरु, सम्मानपत्रहरुको चाङ देख्दा लाग्छ, कोठा साँघुरो भो ।

‘अँ, अब अलि व्यवस्थित गर्नुपर्ने भएको छ’ उनी काव्यिक पारामा सुनाउँछन्, ‘यी मेरा ऊर्जा र उत्साहका स्रोत हुन् ।’

यी सर्जकलाई एउटा रेडिमेड प्रश्न ‘तपाईंले सांगीतिक क्षेत्रमा लागेर हासिल गरेका उपलब्धी के हुन्’ भनेर सोध्ने हो भने, सम्भवत उनले गर्वले छाती चौडा बनाउँदै भन्नेछन्, ‘यिनै हुन् मेरा उपलब्धी ।’ र, त्यतिबेला उनका औंला अवार्डको चाङतर्फ सोझिएका हुनेछन् ।

हामीसँग केही स्वभाविक प्रश्न छन्, ‘यी अवार्डहरु उनले कसरी हासिल गरे ? यसका पछाडि उनको संघर्ष र साधनाको कथा कस्तो छ ?’

अक्सर दोहोरिरहने प्रश्नले सम्भवत उनलाई मुडमा ल्याउँदैन । उनले आफ्ना संघर्ष, सफलताका कैयौं कथा, कैयौं जनालाई, कैयौं पटक सुनाइसके होलान् । हाम्रो प्रश्नमा प्रमोदले खास जाँगर देखाएनन् ।

हारमोनियमबाट हात हटाए । अघिल्तिर झरेको लामो कर्ली कपाल पन्छाए । अनि ‘अँ’ गर्दै स्वर खोले र अलि मसिनो स्वरमा भने, ‘मेरो भएजति कुरा त बाहिर आइसकेको छ । अरु के भन्ने खै ?’

यद्यपि हामी उनलाई उम्कन दिने पक्षमा थिएनौं । अन्ततः उनी आफ्नो बिगतमा यसरी बगे :

गाउन नसक्ने म

म घरमा जोड-जोडले गाउँथे । आफ्नै धुनमा । कसैको परवाह नगरी । गीतको भावमा डुबल्की मार्दै ।

त्रिचन्द्र क्याम्पस भर्ना हुने भनेर काठमाडौं आएको थिएँ, तर क्याम्पसमा भर्ना हुने पैसा लगेर डोरेमी संगीत पाठशालामा बुझाइदिएँ । मेडिकल साइन्स घोक्न आएको छोरो, सारेगम अलाप्न थालें

तर, घर बाहिर भने मेरो वाक्य नै नफुट्ने । स्कुल पढ्दाका ती दिनहरु सम्झन्छु, कति कार्यक्रम हुन्थ्यो । कति नाचगान हुन्थ्यो । तर, मैले कहिल्यै गाइनँ । मलाई लाग्दैनथ्यो, कुनै दिन गायक हुन्छु । गायक हुन्छु भन्ने नलागेरै मैले यसमा जोड-जबरजस्ती गरिनँ ।

जहाँ म जन्मे, हुर्कें, त्यो झापाको पिछडिएको ठाउँ हो । त्यहाँबाट काठमाडौं आएर, रेडियो नेपाल छिरेर गायक बन्छु भन्ने धेरै टाढाको कुरा थियो । दशैं-तिहारको बेला आयोजना हुने स्थानीय कार्यक्रममा गाउनु, नाच्नु नै ठूलो कुरो थियो मेरा लागि ।

त्यो परिवेशमा, त्यो पृष्ठभूमीमा, त्यो धरातलमा हुर्केको मैले ‘गायक हुन्छु’ भनेर सोच्नु मात्र पनि हाँस्यास्पद हुन्थ्यो होला । अर्को कुरा, गाना-बजानामा भन्दा पनि मेरो ध्यान पढाइमा थियो । आमा र बुवा दुवै शिक्षक-शिक्षिका भएका नाताले पनि ममाथि स्वभाविक दवाव थियो, पढाइको ।

पढाइमा म राम्रै थिएँ । अब्बल भन्दा पनि हुन्छ । एकातिर पढाइमा मेरो लगाव र नतिजा, अर्कोतिर बुवाआमाको अपेक्षा । दुवै कुराले मलाई दायाँबायाँ नलागी पढाईमा केन्दि्रत गराइरहेको थियो । मेरो समाजको पुरातन धारणा थियो, पढ्ने मान्छे, फर्स्ट हुने मान्छे डाक्टर बन्नुपर्छ । इन्जिनियर बन्नुपर्छ । पाइलट बन्नुपर्छ । समाजले तय गरिदिएको यो धारणाबाट म अलग थिइनँ । मलाई पनि लाग्थ्यो, पढ्न जान्ने मान्छे डाक्टर वा इन्जिनियर बन्नुपर्छ ।

यावत् कारणले म संगीतमा आउने वा कुनै दिन गायक हुने कुरा कल्पनाबाहिर थियो ।

जब बाटो मोडियो

एसएसलसी सकेपछि म काठमाडौं आएँ । जुन दिन मैले काठमाडौंलाई ताकेर घरबाट खुट्टा उचालेँ, त्यसबखत मेरो दिमागमा एउटै कुरा थियो, ‘फर्किंदा डाक्टर बनेको हुन्छु ।’

काठमाडौं आउनुको एउटै लक्ष्य, पढाई । भविष्यको एउटै लक्ष्य, डाक्टर ।

तर, मेरो लक्ष्यमा ठेस लाग्यो । म जुन वेगले हुत्तिदै डाक्टर बन्ने लक्ष्यमा अग्रसर भइरहेको थिएँ, त्यसमा म ठोक्किन पुगें । जहाँ ठोक्किए, त्यहाँबाट मोडिएको गन्तव्य थियो संगीत ।

मेडिकल पढ्न नसक्नु वा डाक्टर बन्ने बाटोमा अप्ठ्यारा आउनुले संकेत गर्थ्यो , ‘तेरो यात्रा अर्कैतर्फ मोड्नुपर्छ ।’ अन्ततः म संगीततर्फ मोडिएँ । सोच्दै नसोचेको विन्दुमा पुगें म ।

पढाईलाई विट मारेको थिइनँ । यद्यपि मेरो दिनचर्यामा संगीत हावी हुन थाल्यो । संगीतभन्दा अर्को दुनियाँ मेरो लागि बिरानो हुँदै गयो ।

म घर फर्किएँ । र, भित्र दबिएको आकांक्षालाई पोख्न थालें । गाउँमा आफै कन्सर्ट आयोजना गर्थें, आफै गाउँथें । यसरी थाहै नपाई म स्टेजतर्फ लहसिएँ । यसको मोहले मलाई कसरी तान्यो भने, आफैं नाटक लेख्ने, निर्देशन गर्ने, खेल्ने गर्न थालें । र, यसरी बन्ने रमाइलो माहौलमा आफूलाई गायकको रुपमा उतार्न थालें ।

म क्रमशः रमझममा मिसिदै थिएँ । मेरो सपना-विपना यही थियो । गाना-बजाना । त्यो भन्दा पनि अर्को रहर थियो, मभित्र दबिएको । बालकलाकार बन्ने । ‘बाल कलाकार बन्न पाए कति राम्रो हुन्थ्यो होला’ अक्सर यो सोचाइले घेरिएको हुन्थें म । आखिरमा मैले आफूलाई थाम्न सकिनँ ।

‘महोदय, बाल कलाकार बन्न पाऊँ’

पत्र लेखें, चलचित्र विकास बोर्डलाई । यादव खरेललाई सम्बोधन गरेर । पत्रको व्यहोरा थियो, ‘बाल कलाकार बन्न पाऊँ’ । एसएलसी पास भए पनि आफूलाई सानै छु जस्तो लाग्थ्यो ।

मलाई लागेको थियो, पत्र यादव खरेलले पाउनेछन् । पढ्नेछन् । मलाई बोलाउने छन् । म बालकलाकार हुनेछु । यस्तै सोच्दै टिकट टाँस गरेर मैले उक्त पत्र हुलाकको डिब्बामा खसाइदिएँ ।

त्यसपछि सुरु भयो, पत्रको जवाफ आउने दिनगन्ती । म मनमनै मख्ख थिएँ । कुनैबेला बाल कलाकार बन्न पाउँछु भन्ने कोरा कल्पनाले मलाई माथि माथिसम्म उडाइरहन्थ्यो ।

हप्ता वित्यो । पत्रको जवाफ आएन । अर्को हप्ता वित्यो । अब त आश पनि मर्न थालिसक्यो । महिना दिनपछि हुलाकी आइपुगे, पत्र बोकेर । फुटबल खेल्दै थिएँ । पत्र आएको सुनेर म वेगले दौडदै घर आएँ । खुसीले उफ्रिँदै पत्र लिन पुगें ।

पत्रमा के जवाफ होला ? कस्तो प्रतिक्रिया होला ? यस्तै जिज्ञासाले उथलपुथल बनाएको थियो । तर, पत्र देखेपछि नराम्ररी खुम्चिएँ । किनभने त्यो मैले नै पठाएको पत्र थियो, ठेगाना नमिलेर फर्किएको रहेछ । म हिस्स ! बालकलाकार हुने सपना यत्तिकै तुहियो ।

कलेज पढ्ने पैसा गीत सिक्न खर्च

एल्बम निकालेर हिट हुन्छु, कन्सर्ट पाउँछु, सबैतिर नाम फैलाउँछु भन्ने केही पनि थिएन । केवल यो आफैंमाथिको प्रयोग थियो

बालकलाकार बन्न नपाएको वा नसकेको झोंकले मलाई गायक नै बन्नेतर्फ धकेल्यो । अब अलि ठूलो लेभलको कन्सर्ट आयोजना गर्न थालें । गाउन थालेँ । साथीभाइले हौसाए, ‘अरे, तेरो आवाज गायककै जस्तो छ ।’

म मख्ख थिएँ ।

दोस्रो पटक काठमाडौंलाई ताकेर घरबाट खुट्टा उचाल्दै गर्दा सोच्दै थिएँ, ‘फर्कंदा गायक बन्छु ।’

त्रिचन्द्र क्याम्पस भर्ना हुने भनेर काठमाडौं आएको थिएँ, तर क्याम्पसमा भर्ना हुने पैसा लगेर डोरेमी संगीत पाठशालामा बुझाइदिएँ । मेडिकल साइन्स घोक्न आएको छोरो, सारेगम अलाप्न थालें ।

हुन त क्याम्पसको पढाई छाडेको थिइनँ । कहिले यता क्लास, कहिले उता । यसरी सराबरी विज्ञान पढ्ने र संगीत सिक्ने काम भइरह्यो ।

विज्ञानको कक्षामा पुग्दा सहपाठीहरु भन्थे, ‘यो त राम्रो गाउँछ । गायनमै यसको बढी रुचि छ ।’ उता संगीत पाठशालाका सहपाठीहरु भन्थे, ‘यो त साइन्सको स्टुडेन्ट । यहाँ टाइम पास गर्न मात्र आएको ।’

मलाई साथीहरुले दुईवटा डाइमेन्सनबाट हेर्थे । म भने संगीतमा एकोहोरिएको थिएँ ।

यता पढाइमा स्नातकोत्तर सकाएँ । उता संगीत सिक्ने काम पनि जारी राखें ।

मेरो पहिलो एल्बम

संगीत सिकिरहँदा लागेथ्यो, एउटा एल्बम निकाल्नुपर्छ । संगीत पाठशाला धाउन थालेको एक वर्ष बितेको थिएन ।

एल्बम निकालें । यो एल्बम निकालेर हिट हुन्छु, कन्सर्ट पाउँछु, सबैतिर नाम फैलाउँछु भन्ने केही पनि थिएन । केवल यो आफैंमाथिको प्रयोग थियो । कस्तो हुँदो रहेछ भनेर केबल अभ्यास गरेको थिएँ ।

पहिलो एल्बम निकालेपछि लाग्यो, अझै बेला भएको छैन । बरु कलेक्सन एल्बममा गाउनुपर्छ । अतः त्यसै गर्न थालें । कलेक्सन एल्बममा गाएपछि आफुलाई माझ्न पाइन्छ भन्ने लाग्यो । त्यसबेला सिनियर संगीतकर्मी दाइहरुसँग खुब घुलमिल भएँ । खासगरी राजु सिंह, सचिन सिंह दाइसँग । कोही एरेन्जर थिए, कोही गायक थिए, कोही गीतकार थिए । त्यो सांगीतिक माहौलभित्र मिसिदै गएँ ।

त्यसताका मेरो कलेजका साथीहरु, जो साइन्स पढ्थे, उनीहरु पनि मेरो ब्याकफोर्स भएर आए । उनीहरुले निरन्तर ढाडस दिइरहे । क्रेज कतिसम्म थियो भने, कतिबेला क्लास सकिन्छ र मलाई क्यान्टिनमा ल्याउने । मालपुवा ख्वाउने । चिया नास्ता ख्वाउने । र, गीत गाउन लगाउने । म धुमधामसँग गाइदिन्थे ।

घतलाग्दो कुरा त के भने तिनै सहपाठी जसले मलाई गाउन हौसाएनन् मात्र, अटोग्राफ पनि लिए । सधै एकै लहरमा बसेर, एउटै कोठामा बसेर पढ्ने साथीले नै मबाट अटोग्राफ लिँदा म कति फुर्किएँ होला तपाईं अनुमान गर्न सक्नुहुन्छ ।

त्यो दिन पानी परेको थियो । क्लास भएन । सबै हाइ काड्दै थिए । यत्तिकैमा साथीहरुले हौसाए, लु प्रमोदले गाउनुपर्छ । म अगाडि गएँ । गाइदिएँ, ‘गल्ती हजार हुन्छ, यहाँ होस हराएको बेला । एक्लै तिमी नआउँ म मात्तिएको बेला ।’

गीत सुनिसकेपछि एक जना साथी यसरी हाम फालेर आयो कि, मानौ म त्यहाँबाट भाग्न लागेको छु । केटीहरुको लहरलाई नाघेर ऊ म भएको ठाउँमा आयो र अटोग्राफ माग्यो । त्यो साथी कहाँ छ, नाम के हो ? अहिले हेक्का राखिएन । तर, उसलाई म एकदम धेरै सम्झन्छु । यदि उसले पनि सम्झिएको छ भने एक पटक भेट्न चाहन्छु ।

मेरो संघर्ष

यता साइन्समा स्नातकोत्तर सकियो । उता पाँच बर्षको संगीत कोर्स पनि सकियो । यही विन्दुबाट मैले आफ्नो करियर सुरु गर्नुपथ्र्यों । र, यो मेरो संघर्षको सुरुवात थियो ।

संगीतकर्मी अग्रज दाईहरु सचिन सिंह, आलोक श्री, रमण घिमिरे, नवराज लम्सालहरुसँग घुलमिल हुँदै थिएँ । तर, एल्बम निकाल्ने हिम्मत थिएन । त्यतिबेला एल्बम ननिकालेसम्म गायकको ट्याग नै नपाईने । कुन एल्बम, कुन गीत भनेर नचिनाएसम्म आफ्नो चिनारी दिन सकिँदैनथ्यो ।

जबकी एल्बम निकाल्नका लागि खल्तीबाट डेढ-दुई लाख रुपैयाँ निकाल्नुपर्थ्यो । यत्तिका रुपैयाँ कहाँबाट निकाल्ने, कसरी निकाल्ने ? सजिलो थिएन । आजभन्दा करिब पन्ध्र बर्षअघिको कुरा ।

एल्बम निकालेर मात्र पुग्दैनथ्यो । भिडियो बनाउनुपर्थ्यो ।

म पढाउन थालें । कलेजका सहपाठीहरुले पाँच सय, हजार, दुई हजार रुपैयाँ संकलन गरिदिए । ‘तँ अगाडि आउनुपर्छ । तैंले गाउनुपर्छ,’ भनेर हौस्याउने ति सबै साथीहरुलाई आज म स्मरण गर्न चाहन्छु । उनीहरु म जस्तै विद्यार्थी थिए । डेरामा बस्थे । खर्चका लागि आमाबुवालाई गुहार्नुपथ्र्यो । तर, उनीहरुले बचाएको पैसा, जतन गरेको पैसा मलाई दिए । गायक बन्नु भनेर ।

गीत रेकर्ड गराइयो । भिडियो बनाइयो । तर, भिडियो कहाँ लाने । कसलाई देखाउने ? अहिले जस्तो मिडिया थिएन । म्युजिकल कार्यक्रमको काउन डाउनमा आफ्नो गीत बज्नु नै ठूलो उपलब्धी हुन्थ्यो । तर, त्यहाँसम्म कसरी पुग्ने ? कुनै भेउ पाउन सकिदैनथ्यो ।

यहाँसम्म आइपुगेपछि पनि मलाई आफैभित्र केही पुगेको छैन भन्ने लाग्न थाल्यो । मैले अझै धेरै सिक्नुछ, धेरै संघर्ष गर्नुछ भन्ने लाग्यो । त्यसपछि पुन म पछाडि फर्किएर सिक्ने क्रममा लागे । किनभने मलाई थाहा थिएन, मेरो खुबी के हो ? मेरो आवाज कस्तो हो ?

यता क्याम्पसमा पढाउन थालें । उता संगीत सिकाइ जारी रह्यो । यसबीचमा म आर्थिक रुपले केही दरिलो बन्दै गएँ । मलाई बोध भयो, म हाई स्केलमा गाउन सक्नेछु । जबकी पहिलो एल्बम मैले लो लेभलमा गाएको थिएँ ।

दोस्रो एल्बम गरिरहँदा मैले आफूलाई नब्बे डिग्रीमा बदले । हिजो जे गाउँथे, आज ठिक विपरीत थियो । यो एल्बम आइसकेपछि मलाई संगीतकार महेश खड्का दाइले बोलाउनुभयो । उहाँले एउटा फिल्मको गीत तयार गर्नुभएको रहेछ । उक्त गीत रेकर्ड गरिरहँदा पनि छायांकन भएको थियो । गीत रेकर्डिङको दृश्य नै हिट भइदियो ।

यसको फाइदा के भयो भने, त्यो गीत रिलिज नहुँदै मैले अरु गीत गाउने अवसर पाएँ । अन्ततः मैले अविछिन्न रुपमा एकपछि अर्को गीत गाएँ । पाश्र्व गायनमा मेरो बेग्लै चिनारी बन्यो । हाइ रेन्जको गीत, ब्याकग्राउन्ड गीत, स्याड भर्सनको गीत आयो कि संगीतकारले मलाई सम्झन थाले ।

अब म पूर्णतः फिल्मको गीत गाउन थालें । यससँगै मेरो दैनिकी चलयामान भयो । म दिनदिनै व्यस्त हुन थालें । कहिले रेकर्डिङले, कहिले कन्सर्टले मलाई व्यस्त बनाउँदै लग्यो ।

… मुश्किल छ पोखरामा

मलाई खास चिनाउने, मेरो नामको अघिल्तिर गायक विशेषण थपिदिने गीत हो यो । यो गीत मैलें संयोगले गाएको थिएँ ।

तेस्रो एल्बम रेकर्ड गराउनुअघि हामी पोखरा गएका थियौं । चलचित्र महोत्सवका लागि । त्यहाँ महेश खड्का दाइले एउटा शब्द कम्पोज गर्नुभएको रहेछ, शीतल गिरीसँग बसेर । त्यो गीत त्यतिकै थन्किएको थियो ।

यस्तैमा हामी कृष्णहरि दाइकी छोरीको बिहेका लागि गयौं । त्यहाँ उक्त गीतको चर्चा भयो । त्यो सुनेर म रातभर जागा रहें । निद्रा लागेन । गीतको बारेमा सोच्न थालें ।

अन्ततः उक्त गीत मैले गाएँ । रेकर्डिङ भयो र देशव्यापीरुपमा सार्वजनिक गरियो । सोचिएको थिएन, गीतले यत्तिको हंगामा मच्चाउँछ । तर, गीत सार्वजनिक भएलगत्तै व्यापक भाइरल भइदियो ।

यो गीतले मेरो जीवनको लय नै फेरिदियो । गीत रेकर्डिङ, कन्सर्ट आदिले मलाई भ्याई-नभ्याई बनायो । अहिले पनि जहाँसुकै गाउँदा यो गीतको माग आइहाल्छ । अर्को शब्दमा भन्दा यो गीतको ब्याज अझै खाँदैछु । यद्यपि, यो पछाडि पनि मेरा कैयन् गीत हिट भइसकेका छन् ।

मेरा भित्री कुरा

–      मलाई पर्याप्त सुत्नुपर्छ । सामान्यत सातदेखि आठ घण्टा सुतेकै हुन्छु । निद्रा पुगेन भने मेरो घाँटीले काम गर्दैन ।

–      सात बजेको हाराहारीमा म उठ्छु । उठ्नसाथ तातोपानी पिउँछु । ‘ब्ल्याक टि’ लिन्छु ।

–      ब्रेकफास्ट खाएपछि रियाज गर्छु । रियाजमा दुई-तीन घण्टा बित्छ । त्यसपछिको समय रेकर्डिङमा निस्कन्छु । घर फर्कंदा राती आठ बजेको हुन्छ ।

–      गायकको रुपमा संघर्ष गरिरहँदा म कलेजमा विज्ञानका विद्यार्थीहरुलाई पढाइरहेको हुन्थें । मैले केही कलेजमा पढाएँ । जब कन्सर्ट र गीत रेकर्डिङको व्यस्तता बढ्यो, शिक्षण पेशालाई बिट मार्न बाध्य भएँ ।

–      गायन, शिक्षणबाहेक म पेन्टिङमा पोख्त छु । मलाई पेन्टिङ गर्न त्यति नै रहर लाग्छ, जति गाउन ।

–      म खानाको खास सौखिन छैन । एकदम थोरै खान्छु । मलाई सुप एवं नुडल्स टाइपको खाना मनपर्छ । खाजा पनि त्यस्तै मनपर्छ ।

–      मलाई खाना बनाउन आउँदैन । कलेज टाइममा पनि मैले बाहिर नै खाएँ । घरमा ममीले बनाउनुभयो । यहाँ श्रीमतीले । खासमा मलाई खानेकुरा बनाउन आउँदैन । अन्डा उसिन्न र चिया बनाउन बाहेक ।

–      मैलें भागी होइन, मागी विवाह गरेको हो । लभ नगरी मागेर परम्परागत रुपमा विवाह गरेको हुँ।

–      म पहिरनको शौखिन छु । सकेसम्म आफूलाई सुहाउने लुगा लगाउँछु । लुगा आफै डिजाइन गर्छु ।

–      मसँग कति लुगाफाटो छ भन्ने आफैलाई थाहा हुन्न । किनमेल गरिरहेको हुन्छु, लगाइरहेको हुन्छु । तर, भण्डारण गरेर राखिँदैन । आफूसँग भएको लुगा अरुलाई बाँडिदिन्छु । कति लुगा दोहोर्‍याएर लगाउँछु ।

–      म कन्सर्टमा जाँदा ब्ल्याक ड्रेस लगाउँछु । मलाई ब्ल्याक नै सुहाएको जस्तो लाग्छ ।

–      म पुस्तक पढ्न सौखिन छु । तर, सेलेक्ट गरेर मात्र । बजारमा चर्चा आएको, राम्रो समीक्षा पाएको पुस्तक पढ्छु । खासगरी सोसाइटी, कल्चरसँग जोडिएको पुस्तकले मलाई तान्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment