Comments Add Comment

माउरिन्होको बर्खास्तीमा पोग्बाको मजाक

३ पुस, काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाईटेडका प्रशिक्षक जोसे माउरिन्हो बर्खास्त भएपछि युनाइटेड समर्थकहरु विभिन्न खाले प्रतिक्रियामा लागेका छन् ।

त्यसमध्ये पनि सबैभन्दा विवादास्पद प्रतिक्रिया म्यानचेस्टर युनाइटेडका खेलाडी पोउल पोग्वाकै रह्यो । उनले आँखा बंग्याएको तस्बिर राखेर ट्वीट गरेका थिए, ‘क्याप्सन दिस ।’ उनले केहीबेरमा ट्वीट हटाएको भए पनि त्यसको स्क्रीन सट भाइरल बनिरहेको छ ।

उनको तस्बिरमा देखिएको भङ्गिमा हेर्दा बुझ्न सकिन्थ्यो, त्यसमा उनी खुशी छन् र भनिरहेका छन् ‘मलाई थाहा थियो यस्तै हुन्छ’ ।

उनको ट्वीटमा युनाइटेडका पूर्वकप्तान गेरी नेभिल बेखुशी देखिएका छन् । तिमी आफै विचार गर भन्दै उनले त्यसमा कमेन्ट गरेका छन् ।

१७ डिसेम्बर २०१५ मा चेल्सीबाट बर्खास्तमा परेका माउरिन्हो अहिले १८ डिसेम्बरमा युनाइटेडबाट बर्खास्तमा परे । क्रिसमसको बिदा आउनै लागेका बेला माउरिन्होलाई जहिल्यै दुःखी हुने खबर सुन्नुपरेको भन्दै केहीले भने सान्त्वना दिएका छन् ।

संयोग कतिसम्म छ भने उनी १० वर्षको हुँदा रियो एभ क्लबका म्यानेजर रहेका उनका बुबा क्रिसमसकै समय बर्खास्तमा परेका थिए ।

उनले एउटा अन्तर्वार्तामा भनेका छन्, ‘त्यो बेला म यस्तै ९–१० वर्षको थिएँ । रियो एभका म्यानेजर रहेका मेरा बुबा क्रिसमसकै दिन बर्खास्तमा परेका थिए । डिसेम्बर २२ हो २३ मा हो उहाँले खेल हारेपछि बर्खास्त गरिएको थियो । क्रिसमसकै दिन हामी घरमा खाना खाइरहेका बेला उहाँलाई बर्खास्त गरेको फोन आएको थियो । यसैले फुटबलमा हुने उतारचढाव मलाई थाहा छ । म पनि एकदिन बर्खास्त हुन्छु भन्ने मलाई थाहा छ ।’

झण्डै साढे २ वर्ष युनाइटेडमा रहेका प्रशिक्षक माउरिन्होलाई क्लवले खराब नतिजाका कारण बर्खास्त गरेको हो । ५५ वर्षका पोर्चुगाली प्रशिक्षक माउरिन्हो आफ्नो टिमको पछिल्लो समयको नतिजाबाट दबावमा थिए ।

इंग्लिस प्रिमियर लिगको पछिल्लो खेलमा आइतबार युनाइटेड लिभरपुलसँग ३–१ गोलअन्तरले पराजित भएको थियो ।

युनाइटेडमा हुँदा उनले लिग कप र युरोपा लिगको उपाधि जिताएका थिए ।

कार्यवाहक जिम्मेवारीको तयारी

माउरिन्हो बर्खास्त गरेपछि जारी सिजनका लागि युनाइटेडले कार्यबहाक प्रशिक्षक नियुक्त गरेर काम चलाउने बुझिएको छ ।

‘सिजनको अन्त्यसम्मको लागि कार्यबहाक रुपमा कसैलाई जिम्मेवारी दिइने छ । नयाँ प्रशिक्षक ल्याउनका लागि आवश्यक काम पनि गरिँदै जाने छ’ युनाइटेडको विज्ञप्तीमा उल्लेख छ ।

कार्यवहाक जिम्मेवारी पनि असिस्टेन्ट म्यानेजर माइकल क्यारिक र एकेडेमीका प्रमुख निकि बट नहुने बताइएको छ ।

आर्सनलका पूर्व प्रशिक्षक आर्सेन वेंगरलाई जिम्मेवारी दिइने हल्ला चले पनि त्यसमा सत्यता नरहेको युनाइटेडले जनाएको छ ।

रियल मड्रिडका पूर्वप्रशिक्षक जिनेदिने जिदान, एथ्लेटिको मड्रिडका प्रशिक्षक डिएगो सिमोन र टोटनह्यामका प्रशिक्षक माउरिसियो पोचेटिनोको पनि युनाइटेड आउने चर्चा चलिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment