३० बैशाख, काठमाडौं । साफ यु–१९ च्याम्पियनसिप अन्तर्गत समूह बी को अन्तिम खेलमा नेपाल घरेलु टोली भारतसँग ४-० ले पराजित भएको छ ।
गोल्डेन जुब्ली स्टेडियम, युपियामा मंगलबार भएको खेलमा भारतले नेपाल विरुद्ध फराकिलो जित निकाल्दै समूह विजेता बन्दा नेपाल समूह उपविजेता बनेको हो ।
यसअघि नै दुवै टोलीले श्रीलंकालाई हराएर सेमिफाइनलमा स्थान पक्का गरिसकेका थिए । समूह विजेता बन्दाका लागि भएको प्रतिस्पर्धामा भारतले बाजी मारेको हो ।
भारतले खेलको दुवै हाफमा दुई-दुई गोल गरेको थियो ।
भारतका लागि रोहिन सिंहले दुई तथा ओमङ डोडुम र डानी मिथेईले एक-एक गोल गरे । रोहिनले २७औं मिनेटमा गोल गर्दै भारतलाई अग्रता दिलाएका थिए । लगत्तै अर्को मिनेटमा डोडुमले गोल गर्दै भारतको अग्रता दोब्बर पारे ।
रोहितले ७६औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे । डानीले ८४औं मिनेटमा गोल गरेपछि भारतले सहज जित हात पारेको हो ।
जितपछि समूह बी मा दुई खेलबाट ६ अंक जोडेर भारत अपराजित रह्यो । नेपाल एक जित र एक हारबाट दोस्रो हुँदै सेमिफाइनल पुगेको छ ।
नेपालले अब सेमिफाइनलमा समूह ए को विजेता बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ । बंगलादेश साविक विजेता समेत हो ।
भारतले भने समूह ए को उपविजेता माल्दिभ्ससँग खेल्नेछ । मंगलबारै भएको खेलमा भुटानसँग २-२ को बराबरी खेलेपछि माल्दिभ्सले समूह को उपविजेताको रुपमा सेमिफाइनलमा स्थान बनाएको हो । भुटान र श्रीलंका भने समूह चरणबाट बाहिरिएको छ ।
प्रतिक्रिया 4