+
+
Shares

नेकपा बैठकमा ओली आलोचित, प्रचण्डलाई फाइदा

अनलाइनखबर अनलाइनखबर
२०७५ पुष ४ गते ३:००

३ पुस, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक चलिरहँदा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सबैभन्दा बढी आलोचना खेपिरहेका छन् ।

पार्टी सञ्चालनका सन्दर्भमा ओली र प्रचण्ड दुबैले बराबर आलोचना खेप्नुपर्ने हो । तर, किन धेरैजसो नेताको प्रहारको निशानामा ओली परे त ?

प्रधानमन्त्री भएका कारण सरकारको आलोचना हुँदा ओलीमाथि प्रहार हुनु स्वाभाविक हो । तर, स्थायी कमिटी बैठकमा पार्टी सञ्चालनका सन्दर्भमा समेत प्रचण्डभन्दा ओलीकै आलोचना बढी भएको छ । यो पनि पूर्वएमाले शिराबाटै ओलीलाई अप्ठेरोमा पारिएको छ । बरु पूर्वमाओवादी शिराका नेताहरु ओलीका सन्दर्भमा अपेक्षाकृत नरम देखिएका छन् ।

नेकपा स्रोतका अनुसार प्रचण्डभन्दा ओलीको धेरै आलोचना हुनुमा उनको व्यवहार र बोली नै प्रमुख कारण हो । पछिल्लो समय नेकपाभित्र ओली गाँठो पार्ने र प्रचण्ड त्यही गाँठो फुकाउने भूमिकामा देखिन थालेको टिप्पणी नेताहरुले गरेका छन् । हरेक विषयलाई गाँठो पार्ने स्वाभावकै कारण ओलीको धेरै आलोचना भएको हो ।

माधव नेपालनिकटका एक स्थायी कमिटी सदस्यले भने– ‘ओलीले बुझ पचाएर हो वा नबुझेर हो, हामीले उठाएका आधारभूत विषयहरुलाई पनि पन्छाउने, छलफल नै हुन नदिने र पूर्वाग्रही ढंगले लिने गरेका छन् । त्यही विषयलाई प्रचण्डले सहजीकरण गरेपछि मात्रै छलफल गर्न ओली तयार हुनुले प्रचण्डको भूमिका गाँठो फुकाउने खालको देखिएको छ ।’

ओली आफ्नै स्वाभाव र दम्भका कारण पार्टीमा कमजोर र अलोकप्रिय बन्दै गएको विश्लेषण नेकपा नेताहरुको छ । माधव नेपालले भन्दा त्यही कुरा अश्वीकार गर्ने तर, प्रचण्डले लौ न त गरौं भनेपछि मान्ने ओलीको स्वाभावले प्रचण्डको स्वीकार्यता बढ्न थालेको नेताहरुको ठम्याइ छ ।

केपी ओलीले नचाहेको तर प्रचण्डले गर्दा सम्भव भएको अवस्था सिर्जना हुँदै जाँदा कालान्तरमा प्रचण्ड बलियो र ओली कमजोर हुने नेताहरुको विश्लेषण छ ।

नेकपाको स्थायी कमिटी बैठक चलिरहदा ओलीले गाँठो पारेका विषयमा प्रचण्डले फुकाएका केही उदाहरण नेकपामा अहिले छलफलमा छन् ।

गाँठो नम्बर १ : नेकपाको विधानले केन्द्रीय कमिटीभन्दा माथि पोलिटव्यूरो गठन गर्ने भनेको छ । अहिलेसम्म केन्द्रीय सचिवालय र स्थायी कमिटीपछि केन्द्रीय कमिटी छ, पोलिटब्यूरो गठन भएको छैन । यसबीचमा माधव नेपाल लगायतका नेताहरुले विधान अनुसार पोलिटब्यूरो गठनको कार्यसूची बनाउन आग्रह गर्दा ओलीले रुची देखाएनन् ।

कति तह बनाउने, बैठकमात्रै गरिरहने ? भन्दै ओलीले यति महिनाभित्र पोलिटब्यूरो गठन गरिसक्ने भनेर बिधानले भनेको छैन भन्दै माधव नेपालको आग्रह पन्छाए । तर, शनिबार स्थायी कमिटी बैठक बस्नुअघिको सचिवालय बैठकमा प्रचण्डले पोलिटब्यूरो पनि गठन गरौं, ठिकै छ भनेपछि ओली बोलेनन् ।

माधव नेपाल लगायतका नेताले आग्रह गर्दा पोलिटब्यूरो गठन नगर्ने भनेर ओलीले पारेको गाँठो प्रचण्डले फुकाइदिए ।

गाँठो नम्बर २ : स्थायी कमिटी बैठकको उपस्थितिमा हस्ताक्षर गर्ने क्रममा अमृत बोहोरा र अमिक शेरचनको नाम आमन्त्रित सदस्यमा राखिएपछि उनीहरुले हस्ताक्षर गर्न मानेनन् । बोहोराले आफ्नो हैसियत आमन्त्रित नभएको भन्दै चर्को आपत्ति जनाए । माधव नेपालले पनि उहाँहरुलाई आमन्त्रितमा होइन, सिधैं हस्ताक्षर गराउँ भने ।

तर, बैठकको अध्यक्षता गरिरहेका ओलीले उहाँहरुको हैसियत आमन्त्रित नै हो, हस्ताक्षर गर्ने नगर्ने उहाँहरुको कुरा हो भनेर जवाफ दिए । त्यसपछि बैठकमा केहीबेर भनाभन नै चल्यो । ओलीले पारेको गाँठो फुकाउन फेरि प्रचण्ड अग्रसर भए । उनले आमन्त्रित भन्ने काटेर हस्ताक्षर गराउनुस् भनेपछि समस्या समाधान भयो ।

गाँठो नम्बर ३ : नेकपाको विधान विवादमै छ । स्थायी कमिटीले असार ३ गते दिएको म्याण्डेट विपरीत सचिवालयले विधान छाप्दा आफूखुसी गरेको भन्दै अष्टलक्ष्मी शाक्य, भीम रावल लगायतका नेताहरुले विधानमाथि छलफल हुनुपर्छ भन्ने माग गरे ।

अध्यक्ष ओलीले विधानमाथि त्रुटी रहेछ भने महाधिवेशनमा छलफल गरौंला भन्ने जवाफ दिए । तर, नेताहरुले विधानका त्रुटीपूर्ण प्राबधान सच्याउनुपर्ने र विधानमाथि छलफल हुनुपर्ने भन्दै हल्ला गरेपछि प्रचण्डले ठीकै छ, विधानमाथि पनि छलफल हुन्छ भनिदिए । यसमा पनि ओली रोक्ने र प्रचण्ड फुकाउने भूमिकामै देखिए ।

गाँठो नम्बर ४ः वामदेव गौतमले अध्यक्षको प्रतिवेदनमाथि आफ्नो फरक मत लिखित रुपमा छलफलमा लैजानुपर्ने माग गरे । अध्यक्ष ओलीले बैठकमा अध्यक्षको प्रतिवेदनमात्र पेश हुने र त्यसमै छलफल हुने बताए ।

वामदेवले आफ्नो मत लिखितरुपमै बैठकमा राख्न पाउनुपर्ने अडान लिएपछि प्रचण्डले ठिकै छ, उहाँको मत पनि छलफलमा जान दिनुपर्छ भने । ओली यस प्रकरणमा पनि बोलेनन् । यहाँ पनि ओली गाँठो पार्ने र प्रचण्ड फुकाउने भूमिकामा देखिए ।

यी चारवटा गाँठो फुकाउने भूमिकाले स्थायी कमिटी बैठक प्रचण्डका लागि जति सहज भयो, ओलीका लागि त्यतिनै असहज बनेको छ । ओलीले आफ्नै शैलीका कारण पार्टीभित्रमा दायरामा साँघुरिदै जाँदा प्रचण्डले त्यसको फाइदा लिन खोजेको नेकपा नेताहरुले बताएका छन् ।

माधव नेपाल निकट ती नेताले भने– ‘ओलीजी माधव नेपाल र वामदेवप्रति असाध्यै पूर्वाग्रही हुनुभयो, त्यसको फाइदा चाहिँ प्रचण्डले लिदैछन् । आफ्नैसँग लडेर ओलीले के गर्न खोजेको हो, हामीले बुझेनौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?