Comments Add Comment

सीएमसी संकटमा फस्दा अरु दुई आयोजना पनि समस्यामा

४  पुस, काठमाडौं । मेलम्चीको ठेकेदार सीएमसी वित्तीय संकटमा फसेपछि दुई निर्माणाधीन जलविद्युत आयोजनाहरु पनि समस्यामा फसेका छन् । सीएमसीको वित्तीय संकटले तनहुँ जलविद्युत आयोजना र सोलु-दूधकोशी जलविद्युत आयोजना पनि समस्यामा परेका हुन् ।

सरकारले मेलम्चीसहित यी दुई आयोजनासँग सम्बन्धित सीएमसीका प्रतिनिधि भाग्न खोसेपछि पासपोर्ट जफत गरेको छ । तनहुँ र सोलु-दूधकोसी आयोजना निर्माणको काम पनि सीएमसीले लिएको थियो ।

१४० मेगावाटको तनहुँ जलविद्युत आयोजना आयोजनाको नदी फर्काउने, बाँध लगायतका पहिलो प्याकेजका संरचना (हेड वक्र्स) निर्माणका लागि सीएमसी ठेकेदारका रुपमा छानिएको थियो ।

एशियाली विकास बैंक (एडीबी)कै लगानीमा बनिरहेको मेलम्चीमा गतिलो काम नगर्दौ नगर्दै एडीबीले सीएमसीलाई तनहुँमा प्राविधिक रुपमा योग्य ठहराएको थियो । सीएमसीले ठेक्का पाएको काममा एडीबीकै प्रमुख लगानी छ । एडीबीको अदूरदर्शी निर्णयको शिकार अहिले तनहुँ हाइड्रो भएको छ ।

प्राविधिक रुपमा योग्य भएपछि सबैभन्दा कम बोलकबोल गर्दै सीएमसी आर्थिक प्रस्तावमा पनि योग्य ठहरिएको थियो । तनहुँमा २० अर्ब ६४ करोड ५२ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।

यो आयोजनाको सम्पूर्ण निर्माण कार्य डिसेम्बर २०२३ भित्र सक्ने लक्ष्य लिइए पनि अब आयोजनामा समस्यामा फसेको छ । आयोजनाको कुल लागत ५० करोड ५० लाख अमेरिकी डलर रहेको छ ।

तनहुँ आयोजनाका लागि यसअघि गरिएको टेण्डरमा कम रकम बोल-कबोल गर्ने भारतीय कम्पनी जेपी इन्जिनियरिङ पनि सीएमसी जस्तै वित्तीय संकटमा फसेको पाइएको थियो । त्यसैका कारण नयाँ टेण्डर गरेर सीएसीसँग ठेक्का सम्झौता गरिएको थियो ।

यस्तै ६८ मेगावाटको सोलु-दूधकोसी जलविद्युत आयोजनामा सीएमसीले इन्जिनियरिङ, खरिद र निर्माणको जिम्मा लिएको थियो । यो निजी क्षत्रेबाट निर्माण गर्न लागिएको आयोजना हो ।

सहास ऊर्जा लिमिटेडले बनाइरहेको यो आयोजना अन्तरगत सोलु खोलाको पानी तिङ्लाबाट सुरुङमा हालेर मेकुबेँसीमा बन्ने विद्युतगृहमा खसालिँदैछ ।

अबको ३ वर्षभत्र निर्माण सक्ने लक्ष्य रहे पनि अब आयोजनामा अन्योल आएको छ । सुरुङ खन्ने काम हुँदा हुँदै ठेकेदार कम्पनी भाग्न खाजेको छ ।

यो आयोजनामा सीएमसीले ८ अर्बको ठेक्का पाएको थियो । ११ अर्ब ८६ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा ३ अर्ब २१ करोड रुपैयाँको सेयर लगानी हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment